१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

दस दिनलाई पुग्ने पेट्रोल स्टक

काठमाडौं- पेट्रोलियम पदार्थ आयातमा सामान्य अवरोध हुनासाथ पेट्रोल भर्न घन्टौं लाइन बस्नुपर्ने काठमाडौं उपत्यकाका उपभोक्ताले अब राहत पाउने भएका छन्।

नेपाल बन्द, बाटो बन्द, १–२ दिन बिदा हुनासाथ बजारमा पेट्रोल अभाव हुने र लामो लाइन लाग्ने अहिलेको समस्या हटाउन नेपाल आयल निगमले भण्डारण क्षमता बढाएपछि उपभोक्ताले राहत पाउने भएका हुन्। निगमले काठमाडौंको थानकोट डिपोमा पेट्रोल भण्डारण क्षमता करिब पाँच गुणा बढाएपछि यस्तो अवस्था आएको हो।

थानकोट डिपोमा अहिलेको ११ लाख लिटर पेट्रोल भण्डारण क्षमतालाई बढाएर ५३ लाख लिटर पुर्‍याएको छ। मट्टीतेलको खपत घटेपछि निगमले यसका दुई ट्यांकमा पेट्रोल भर्न सुरु गरेको हो। नयाँ ट्यांकमा आइतबारबाट पेट्रोल भर्न सुरु गरेको निगमले जनाएको छ।

'अहिले बजार माग अनुसार दुई दिनमात्र थेग्ने गरी स्टक राख्ने क्षमता थियो,' निगम थानकोट डिपो प्रमुख नेत्र काफ्लेले भने, 'अब १० दिनलाई पुग्ने गरी पेट्रोल स्टक राख्न सक्छौं।' आयात बढाएर ट्यांक फुल गर्ने निगमको योजना छ।

क्षमता बढाएपछि उपभोक्तालाई धेरै राहत मिल्ने उनले बताए। 'धेरै स्टक राख्न नसकेकाले बिदाको दिनमा पेट्रोल दिन सक्ने क्षमता थिएन,' काफ्लेले भने, 'अब ट्यांक फूल गरेर राखी बजारमा अभाव हुन दिँदैनौं।'

निगमसँग पेट्रोल स्टक राख्ने ठाउँ नहुँदा आयातमा सामान्य अवरोध हुनासाथ काठमाडौं उपत्यकामा पेट्रोल अभाव हुँदै आएको छ। ट्यांकमा भरेर राखेपछि पेट्रोल आयातमा अवरोध भए पनि थानकोट डिपोबाटै करिब १० दिनसम्म निगमले पेट्रोल बिक्री गर्न सक्छ।

उपत्यकामा दैनिक करिब पाँच लाख लिटर पेट्रोल खपत हुन्छ। निगमसँग पेट्रोल राख्ने ठाउँ (ट्यांक) नहुँदा बिदाको दिन र सामान्य बन्द हुँदा पेट्रोल पम्प सञ्चालको माग अनुसार दिन नसकेपछि बजारमा पेट्रोल हाहाकार हुन्थ्यो। इण्डियन आयल कर्पोरेसन (आइओसी) ले मागेजति  पेट्रोल दिए पनि राख्ने ठाउँ नहुँदा सहज आपूर्ति गर्न सकेको थिएन।

मट्टीतेलको प्रयोग घटेपछि मट्टीतेल राख्दै आएका २१ लाख लिटरका दुई ठूला ट्यांकलाई कन्भर्जिङ गरेर पेट्रोल राख्ने बनाएको निगमका प्रवक्ता सीताराम पोख्रेलले बताए। 'मट्टीतेल राख्ने ४२ लाख लिटरका ट्यांकलाई पेट्रोल भण्डारण गर्ने बनायौं,' पोख्रेलले भने, 'अब थानकोट डिपोमा ५३ लाख लिटर पेट्रोल स्टक राख्न सकिन्छ।' विगतमा खाना पकाउन, बत्ती बाल्नको लागि मट्टीतेलको प्रयोग हुन्थ्यो। पछिल्ला वर्षमा बढ्दो विद्युतीकरण र खाना पकाउन ग्यासको प्रयोग बढेपछि मट्टीतेल खपत घटेको छ।

मट्टीतेल राख्ने ट्यांकमा पेट्रोल भर्न नमिल्ने भएकाले करिब दुई करोड रुपैयाँभन्दा बढी खर्च गरेर कन्भर्जिङ गरेको हो।  भारतको चेन्नईस्थित ट्यांक टेक एसिया प्रालिले करिब तीन महिना लगाएर मट्टीतेल ट्यांकलाई पेट्रोलमा परिणत गरेको हो।

बजारमा मट्टीतेलको खपत घटेपछि मट्टीतेल ट्यांकलाई पेट्रोल भण्डारण गर्ने बनाएको हो। बजारमा मट्टीतेलको माग घट्दै गएपछि २१ लाख लिटरका दुई ट्यांक प्रयोगविहीन थिए। थानकोटमा डिजेल भण्डारण क्षमता ८४ लाख लिटर, मट्टीतेलको सात लाख ६० हजार लिटर रहेको छ।  राजधानीमा डिजेल दैनिक सात लाख लिटर खपत हुन्छ।

भारतको नाकाबन्दीको बेला भण्डारण क्षमता निकै कम हुँदा पेट्रोलियम पदार्थ भण्डारण क्षमता बढाउन सरकारले निगमलाई निर्देशन दिएको थियो। संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले पनि निगमको ध्यानाकर्षण गराउँदै आएको छ।

निगमले विस्तृत अध्ययन गरेपछि तत्काल अन्य स्थानमा डिपोको पूर्वाधार तयार गर्न समय लाग्ने देखेर मट्टीतेलका ट्यांकलाई पेट्रोल राख्न मिल्ने बनाएको छ।

सन् २००५ मा एसियाली विकास बैंकको सहयोगमा भण्डारण क्षमता बढाएयता डिपोको भण्डारण क्षमता बढाएको थिएन। प्रधानमन्त्री केपी ओलीको बेइजिङ भ्रमणमा चीनले भण्डारण क्षमता बढाउन सहयोग गर्ने आश्वासन दिए पनि कार्यान्वयनमा आएको छैन। चीन भण्डारणस्थल बनाउन तयार रहे पनि जग्गा उपलब्ध गराउन नसकेकाले निर्माण प्रक्रिया अघि बढाउन नसेको आपूर्ति मन्त्रालयका सचिव प्रेमबहार राईले बताए। 'इन्धन भण्डारणस्थल बनाउन चिनियाँ अधिकारीले जग्गाको व्यवस्था गर्न भनेका छन्,' राईले भने, 'हामीले जग्गा उपलब्ध गराउन नसक्दा ढिलाइ भइरहेको छ।'

निगमले आफ्नै लगानीमा इन्धन भण्डारण क्षमता बढाउन एक सय १७ अर्ब रुपैयाँको महŒवाकांक्षी योजना बनाएको छ। तीन महिनासम्म खपत धान्ने डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, खाना पकाउने ग्यास भण्डारणको पूर्वाधार बनाउने तयारी थालेकेा हो। पेट्रोलियम पदार्थको बजार, बढ्दो सवारी चापलाई समेत मध्यनजर गरेर निगमले भण्डारण क्षमता बढाउने जनाएको छ। मुलुक संघीय संरचनामा जाँदा त्यहाँको मागअनुसार सहज रुपमा पेट्रोलियम पदार्थ आपूर्ति व्यवस्थापन गर्न सातै प्रदेशमा भण्डारणस्थल बनाउन जग्गा खरिद प्रक्रिया अघि बढाएको छ। झापा, सर्लाही, चितवनमा डिजेल, पेट्रोलको भण्डारण बनाउन जग्गा खरिद गरिसकेको छ। धादिङ, रुपन्देही, तनहुँ, धनगढीमा जग्गा खरिद प्रक्रियामा छ। तराईका जिल्लामा २० बिघा र पहाडी जिल्लामा करिब दुई सय रोपनीका दरले जग्गा खरिद गर्न लागेको हो।

निगमका देशभरका १० डिपोमा करिब ७१ हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण क्षमता छ। अहिलेका भण्डारण गृहले पेट्रोल पाँच दिन, डिजेल १९ दिन, हवाई इन्धन २० दिनलाई मात्र पुग्छ। पेट्रोल अलिहेको क्षमतामा एक लाख २९ हजार आठ सय १६ किलोलिटर बढाएर एक लाख ३५ हजार किलोलिटर, डिजल ४२ हजार चार सय किलोलिटरमा तीन लाख ६२ हजार ६ सय थपेर चार लाख पाँच हजार किलोलिटर पुर्‍याउने योजना छ।

प्रकाशित: २६ असार २०७४ ०४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App