११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘मानवीय त्रुटि’ भन्दै शंकास्पद कर्मचारी जोगाउने खेल

क्विन्टल सुन तस्करी प्रकरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको तस्करीको एक क्विन्टलभन्दा बढी सुन जाँचपासमा संलग्न कर्मचारीसँग भन्सार विभाग नरम देखिएको छ। भन्सार विभागले बनाएको आन्तरिक छानबिन समितिको प्रतिवेदन जाँचपासमा संलग्न कर्मचारीका सन्दर्भमा नरम रूपमा आउन लागेको स्रोतले बतायो।

साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर सिनामंगल पुगेको एक क्विन्टलभन्दा बढी सुन बरामद गरेको थियो। मोटरसाइकल र स्कुटरको ‘ब्रेक-सु’ र दाह्री काट्ने रेजरमा लुकाएर ल्याइएको अवस्थामा उक्त सुन बरामद भएको थियो।

विमानस्थलका कर्मचारीसमेतको मिलेमतोबिना उक्त सुन भन्सार जाँचपास भएर बाहिरिन नसक्ने जानकारहरूले बताउँदै आएका छन्। भन्सार विभागको छानबिन समितिले भने, ‘मानवीय त्रुटि’ भन्दै जाँचपासमा संलग्न कर्मचारीलाई उन्मुक्ति दिनेगरी प्रतिवेदन तयारी गरेको छ।

‘रेडी ट्रेडर्सले नै २९ पटकसम्म एकै किसिमले सामान ओसारेको देखिन्छ। यही घटनामा एक्स-रे मेसिनले बकाइदा संकेत गरेको कुरा बाहिरिइसकेको छ। भनाइको अर्थ सबैपटक एक्स-रे मेसिनले संकेत गरेको हुने नै भयो,’ जानकार स्रोत भन्छ, ‘एक्स-रे मेसिनले जानकारी दिँदादिँदै पनि भन्सारका कर्मचारीले राम्रोसँग जाँचबुझ नगर्नु भनेको सरासर मिलेमतो हो भन्ने प्रस्ट हुन्छ।’ यसरी कर्मचारीको मिलेमतो भएको विषयलाई गम्भीर तवरबाट छानबिन गरेर कारबाहीको सिफारिस गर्नुपर्ने अवस्था हुँदाहुँदै छानबिन समितिले मानवीय त्रुटि भनेर कर्मचारीलाई जोगाउनेगरी प्रतिवेदन बनाउन लागेको स्रोतको दाबी छ।

‘भन्सार विभागको नेतृत्व नै सुन जाँचपासमा संलग्न कर्मचारीलाई कसरी जोगाउने भन्नेमा केन्द्रित छ। यसरी नै प्रतिवेदन आउने लगभग पक्का भइसक्यो,’ विभाग स्रोतले भन्यो।

कर्मचारीहरूको मिलेमतो भए/नभएको विषयमा प्रस्ट रूपमा कुरा आइसकेको छैन। मानवीय त्रुटि भएको कुरा आएको छ। त्यत्रो काम गर्दा कहिलेकाहीं भूलचुकमा त्रुटि हुन पनि सक्छ। तर छानबिन भइरहेकाले अहिल्यै सबैथोक भन्न सकिन्न।

शोभाकान्त पौडेल,महानिर्देशक, भन्सार विभाग

एक क्विन्टल सुन तस्करी प्रकरणअन्तर्गत हालसम्म त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्स-रे मेसिन अपरेटर सरोज श्रेष्ठ निलम्बनमा परेका छन्। राजस्व अनुसन्धान विभागले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। त्यस्तै त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेललाई जिम्मेवारीबाट हटाएर अर्थ मन्त्रालय तानिएको छ।

तस्करीको सुन भन्सार जाँचपासमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयको नेतृत्वसहित करिब २० कर्मचारीको भूमिका शंकास्पद रहेको राजस्व अनुसन्धान विभाग स्रोतले बतायो। यो कुरा भन्सार विभाग स्रोतले पनि बताउँछ।

१५ जना कर्मचारीको त जाँचपासका विभिन्न प्रक्रिया पुरा गरिएका कागजपत्रमा दस्तखत नै छ। यति हुँदाहुँदै पनि भन्सार विभागको प्रतिवेदन कर्मचारीका विषयमा नरम भएर आउन लागेको स्रोतको दाबी छ।

प्रतिवेदनमा ढिलाइ

विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको तस्करीको सुन राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेपछि भन्सार विभागले साउन ४ गते आन्तरिक छानबिन समिति बनाएको थियो। विभागका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय समितिलाई तस्करीको सुन भन्सार जाँचपास भएर विमानस्थलबाट बाहिरिएको सम्बन्धमा छानबिन गरी प्रतिवेदन बुझाउन सुरुमा पाँच दिन समय दिइएको थियो।

समितिले पाएको पाँच दिनको समय बुधबार सकिएको छ। छानबिन नसकिएकाले थप पाँच दिन दिइएको विभागले जनाएको छ। छानबिन समितिले प्रतिवेदनको मस्यौदा तयार पारिसकेको विभागका सूचना अधिकारी निर्देशक पुण्यविक्रम खड्काले बताए। उनले भने, ‘मस्यौदा लगभग तयार भइसकेको छ। केही थप विषय पनि राख्नुपर्ने भएकाले त्यो काम भइरहेको छ।’

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले पनि मस्यौदा लगभग तयार भएको बताए। ‘समितिले काम अझै पूर्णरूपमा सम्पन्न गरिसकेको छैन। जे जति काम भएको छ समिति र विभागबीच निरन्तरको छलफलअनुसार भइरहेको छ,’ महानिर्देशक पौडेलले भने, ‘प्रतिवेदनमा यो घटनाको सत्यतथ्य कुरा त आउने भयो नै, थप विमानस्थल भन्सार सुधारका लागि पनि सुझाव दिन भनेका छौं। प्रतिवेदन तथ्यमा आधारित भएर आउनैपर्छ। त्यसका लागि हामीले पनि समन्वय गरिरहेका छौं। प्रतिवेदनले दीगो रूपमा समस्या समाधानका लागि कार्यान्वयनयोग्य सुझाव दिनेछ।’

कर्मचारीहरूको मिलेमतो भए/नभएको विषयमा प्रस्ट रूपमा कुरा आइनसकेको महानिर्देशक पौडेलले बताए। उनले भने, ‘मानवीय त्रुटि भएको कुरा आएको छ। त्यत्रो काम गर्दा कहिलेकाहीं भुलचुकमा त्रुटि हुन पनि सक्छ। तर छानबिन भइरहेकाले अहिल्यै सबैथोक भन्न सकिन्न।’

हङकङ भन्सारको सहयोग माग

छानबिन समितिले हङकङस्थित विमानस्थलको भन्सार कार्यालयलाई पनि छानबिनमा सघाउन भन्दै पत्राचार गरेको छ। ‘यति ठुलो मात्रामा उता (हङकङ) बाट कसरी सुन आयो भन्ने विषयमा हामीले हङकङस्थित विमानस्थल भन्सार कार्यालयसँग जवाफ मागेका छौं,’ महानिर्देशक पौडेलले भने, ‘त्यहाँ किन राम्रोसँग जाँच भएन? हङकङ भन्सारको एक्स-रे मेसिनले किन त्यति ठुलो परिमाणको सुनबारे थाहा पाएन? सुन तस्करलाई सहयोग हुनेगरी किन सुन पठाइयो भन्ने सम्बन्धमा हामीले जवाफसहित छानबिनमा सहयोग मागेका छौं।’ उताबाट पनि छानबिनमा सहयोग गर्ने प्रतिबद्धता आएको उनले बताए।

भन्सार विभागका अनुसार हङकङ विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भएर आउँदा रेडी ट्रेडर्सको उक्त सामानलाई ‘लिड विथआउट ब्याट्री’ र ‘ब्रेक सु’ भनेर लेखिएको छ। यसरी अर्कैथोक भनेर लेखिएको सामग्रीमा सुन कसरी आयो? भन्ने विषयमा भन्सार विभागको छानबिन समितिले हङकङ विमानस्थलको भन्सार कार्यालयलाई प्रश्न सोधेको छ।

प्रकाशित: १४ श्रावण २०८० ०३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App