१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

धानको सट्टा भुस फल्यो

धानको सट्टा भुस फलेपछि खेतमै जलाइएको पराल देखाउँदै किसान । तस्बिर : नरहरि सापकोटा

गोरखा – १८ मुरी धान हुने खेतमा दानो नफलेपछि गोरखा नगरपालिका–११ सिर्दिफाँटका किसान धनसिंह थापाले भुस फलेको पराल बिहीबार खेतमै आगो लगाए । वार्षिक १७ हजार पाँच सय तिरेर ठेक्कामा लिई खेती गरेको हर्दिनाथ धानमा भुस फलेपछि उनलाई झन्डै एक लाख रुपैयाँ घाटा लाग्यो । भुस फलेको परालमा आगो लगाएर अहिले उनी असारे रोप्ने तयारीमा छन् ।

थापाको सँधियार पूर्णबहादुर गुरुङको हविगत पनि उस्तै छ । अघिल्लो वर्ष हर्दिनाथ राम्रै फलेपछि त्यहाँका किसानले यस वर्ष पनि त्यही रोपे, तर दानै फलेन । किसान गुरुङ भन्छन्, ‘बालाभरी भुस मात्रै छ, काट्न, पराल लैजान ज्यालामा मान्छे लगाउनुपर्छ, खर्च पनि नओत्ने भएपछि हामीले खेतमै जलायौं ।’ 

सयौं रोपनी जग्गामा भुस फलेपछि किसानले खेतमै जलाए 
 

रोगको कारण धानमा बाला नलागेको हुन सक्ने र पराल लगेर गाई वस्तुलाई खुवाउँदा बिरामी पर्न सक्ने डरले किसानले पराल खेतमै जलाएको बताउँछन् । बाँझो जोत्दादेखि धान लगाउँदा, गोडमेल गर्दा, रासायनिक मल राख्नसम्मको परिश्रम र दुःख खेर गएपछि किसान निराश छन् । 

१–२ जना मात्रै होइन, सिर्दिफाँटका ५० भन्दा बढी किसानको सय रोपनी जमिनमा लगाएको हर्दिनाथ धान यस वर्ष फलेन । झन्डै पाँच सय २५ मुरी धान उत्पादन नभएको गुनासो किसानको छ । हर्दिनाथ धान प्रतिमुरी एक हजार पाँच सयदेखि एक हजार आठ सय रुपैयाँसम्म पर्छ । अघिल्ला वर्ष त्यहाँका खेतमा किसानले मनग्य धान भित्र्याएका थिए ।  ‘१०–१२ जनाले त खेतमै आगो लगाइदिए, केहीले भने पराल लैजाने कोही भए सित्तैमा काटेर लैजान भनेका छन्,’ अर्का किसान केशव न्यौपानेले भने, ‘यस्तो दानै नफल्ने त अहिलेसम्म भएको थिएन ।’ अन्य किसानले पनि काटेर लैजान मान्छे नपाएपछि अहिले बारीमै भुस सहितको नल पोलेर असारे धान रोप्ने तयारी गरिरहेका छन् । सिर्दिफाँट गोरखा नगरपालिकाभित्र पर्ने धान उत्पादनको पकेट क्षेत्र हो । यहाँ अधिकांश किसानले ठेक्कामा खेत लिएर खेती लगाएका छन् । कञ्चन, साबित्री लगायत अन्य जातका धान भने फलेको छ । 

कृषि सेवा केन्द्रमार्फत किसानले क्षतिपूर्ति मागेका छन् । स्थानीय एग्रोभेटबाट किनेर लगाएको धान नफलेपछि किसानले जिल्ला कृषि विकास कार्यालयसँग क्षतिपूर्ति मागेका हुन् । लगाउनयोग्य भनिएकै धान किसानले खेतमा रोपेका थिए । कृषि कार्यालयले भने धानमा एक्कासि रोग लागेपछि उत्पादन हुने बेलामा समस्या देखिएको बताएको छ । बाली संरक्षण अधिकृत बिनोद लामिछानेले उष्ण मौसमको असर र रोगको कारण बाला नलागेको बताए । उनले भने, ‘यही कारण भनेर ठोकुवा गर्न सक्ने अवस्था छैन, यसको परीक्षण गर्नुपर्छ । बीउमा समस्या भन्दा पनि रोगको कारण हुनुपर्छ ।’ किसानलाई क्षतिपूर्ति दिने विषयमा भने कार्यालयले माथिल्लो निकायमा जानकारी गराएको उनले बताए । 


 

प्रकाशित: ५ असार २०७४ ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App