१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

एकैपटक दुई जलविद्युत् आयोजना बन्दै

पोखरा- साना आकारका आयोजना बनाइरहेको यहाँको औद्योगिक घराना केसी समूहले केही ठूला क्षमताका जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ। समूहले केही समयभित्र दुईवटा ठूला क्षमताका जलविद्युत् आयोजना निर्माण सुरु गर्दैछ। समूहको एउटा आयोजना हाल निर्माण भइरहेको छ।

समूहका अध्यक्ष सूर्यबहादुर केसीका अनुसार ३६ र २७ मेगावाट क्षमताका दुुईवटा आयोजना निर्माण तयारी सुरु भएको छ। समूहले अहिले कास्कीको सिक्लेसमा १३ मेगावाट क्षमताको सिक्लेस आयोजना बनाइरहेको छ। सिक्लेस आयोजनाको ९० प्रतिशत काम सकिएको केसीले बताए। 'अबको केही महिनाभित्र सिक्लेस हाइड्रोपावर सम्पन्न हुनेछ,' उनले भने, 'निर्माणको काम तीव्ररुपमा भइरहेको छ। प्रसारण लाइन बनाएर राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउनेछौं।'

उनका अनुसार सेती नदीबाट करुवा जलविद्युत् आयोजनामार्फत ३६ मेगावाट विद्युत् निकाल्नका लागि निर्माण तयारी सुरु भएको छ। ६ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा करुवा जलविद्युत् आयोजना बनाइने उनले बताए। 'प्रतिमेगावाट १७ करोड रुपैयाँका दरले करुवा जलविद्युत् आयोजनामा लागत पर्दैछ। साझेदार कम्पनीसँग मिलेर हामीले विद्युत् निकाल्नेछौ। ऊर्जा विकास सम्झौता (पिडिए) हुँदैछ,' उनले भने, 'सकेसम्म छिटो हुनेगरी निर्माणको काम अघि बढाउँदैछौं।'

त्यस्तै समूहले नै सेतीमै २७ मेगावाट क्षमताको विद्युत् आयोजना बनाउने तयारी पनि थालेको छ। यो आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पार्ने काम भइरहेको उनले बताए। 'सेतीमा बन्ने दुवै आयोजना अबको तीन वर्षभित्र पूरा गर्ने लक्ष्य छ। त्यसमा कुनै अवरोध आएन भने हामी निर्धारित समयमै काम सक्नेछौं,' केसीले भने, 'दुवै आयोजना रन अफ दी रिभरमा आधारित हुनेछन्।'

त्यस्तै सात मेगावाटको युनाइटेड इदीमर्दी आयोजना समूहले नै बनाउन थालेको छ। यो आयोजनाको काम सुरु भइसकेको छ। दुई वर्षभित्र पूरा गर्ने लक्ष्यसहित सुरु भएको आयोजना सम्पन्न गर्न करिब डेढ अर्ब रुपैयाँ लागत पर्ने अध्यक्ष केसीले बताए। उनका अनुसार यो आयोजनामा प्रतिमेगावाट करिब २२ करोड रुपैयाँ लागत पर्दैछ। कास्कीको ल्वाङघलेलस्थित सिदिङमा यो आयोजना बन्नेछ। आयोजनालाई इदीमर्दी आरबी हाइड्रोपावर कम्पनीले प्रवर्द्धन गर्ने केसीले जानकारी दिए।

त्यस्तै बिजयपुर–२' जलविद्युत् आयोजना निर्माणको काम पनि सुरु भएको छ। ४ दशमलव ५ मेगावाट क्षमताको उक्त आयोजनामा करिब एक अर्ब रुपैयाँ लागत पर्ने केसीले जानकारी दिए। 'सरकारले लगानीको वातावरण बनाउने हो भने जलविद्युत्मा ठूलो आकारको लगानी भित्रिन्छ। स्वदेशी मात्र नभई विदेशी लगानीकर्ता पनि नेपालको जलविद्युत्मा लगानी गर्न इच्छुक छन्,' उनले भने, 'त्यसका लागि सरकारले उचित वातावरण बनाउनुपर्छ। लगानी भित्रयाउने वातावरण भयो भने नेपालको ऊर्जामा ठूलो वैदेशिक लगानी भित्रिने सम्भावना छ।'

केसीकै अगुवाइमा यसअअघि ४.५ मेगावाटको विजयपुर–१, एकमेगावाटको सेती–१ र ४ दशमलव ८ मेगावाट क्षमताको गण्डकी आयोजना बनिसकेका छन्। नेपालको विकासका लागि जलविद्युत् क्षेत्रमा लगानी गरिरहेको उनले बताए। 'जलविद्युत्मा लगानी गर्छु भन्दा पनि लगानीमैत्री वातावरण देशमा बनिरहेको छैन,' उनले भने, 'लगानी गर्न खोज्दा एउटा–एउटा झन्झट आउँछ।' विद्युत् उत्पादन गरिसकेपछि राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पूर्वाधार अभाव हुनु दुःखद् भएको उनले बताए।

'हामीले बनाउन चाहेका सबै आयोजनालाई सहजता दिलाउने हो भने हाम्रै उत्पादनले पोखरालाई विद्युत् पुग्नेछ,' उनले भने, 'हालको पोखरा मात्र नभई यहाँ ठूलै आकारको औद्योगिक क्षेत्र स्थापना भए पनि त्यसलाई विद्युत् समस्या हुने छैन। त्यसमा सरकारले लगानीको वातावरण बनाउनुपर्छ।' सरकारले उचित वातावरण बनाएको खण्डमा केही वर्षभित्र चार सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए।

प्रकाशित: १३ चैत्र २०७३ ०४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App