५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

एमसीसीको प्रसारण लाइन निर्माणमा ६ कम्पनीको प्रतिस्पर्धा

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टअन्तर्गत निर्माण गरिने प्रसारण लाइनको बोलपत्रमा ६ वटा कम्पनीले प्रतिस्पर्धा गरेका छन्। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) सोमबार प्रसारण लाइन निर्माणमा परेको बोलपत्र खोलेको हो। कम्पनीले सोमबार एक कार्यक्रमबीच निर्धारित समयसीमाभित्र ६ वटा बोलपत्र कम्पनीको आवेदन परेको सार्वजनिक गरेको छ।  

सोमबार बोलपत्रमा सहभागी भएका कम्पनीको उपस्थितिमा नै बोलपत्र खोलिएको थियो। एमसीसीको प्रसारण लाइन निर्माणको लागि मेघा इञ्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर लिमिटेड - पावर मेक प्रोजेक्ट्स लिमिटेडको संयुक्त उपक्रम कम्पनीले प्रतिस्पर्धा गरेको छ। त्यसैगरी कल्पतरु पावर ट्रान्समिसन लिमिटेड, केईसी इन्टरनेशनल लिमिटेड, ट्रान्सरेल लाइटिङ लिमिटेड, टाटा प्रोजेक्ट्स लिमिटेड र लार्सन एण्ड टर्बो लिमिटेडबाट बोलपत्रहरू प्राप्त भएको एमसिएन नेपालले जनाएको छ।  

एमसिए नेपालले उक्त कार्यक्रमको निर्णय पुस्तिका एमसिए नेपालको वेवसाइटमा प्रकाशित गर्ने जनाएको छ। एमसिए नेपालले गत मंसिर १२ गते प्रसारणलाइन निर्माणका लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र सार्वजनिक गरेको थियो। एमसिसी परियोजना अन्तर्गत निर्माण हुने ३१५ किलोमिटर प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरिएको थियो।

एमसिए नेपालले ११९ दिनको म्याद राखेर टेण्डर आह्वान गरेको थियो। पहिलो लटमा ४०० केभी क्षमताको प्रसारणलाइन लप्सेफेदी–रातमाटे–न्यु हेटौडामा ११७ किलोमिटरको निर्माण गर्न टेण्डर आह्वान गरिएको थियो। त्यसैगरी दोस्रो लटमा पनि ४०० केभी क्षमताकै ९० किलोमिटर प्रसारणलाइन रातमाटे–न्यु दमौलीसम्म निर्माण गर्नका लागि आह्वान गरिएको थियो। तेस्रो लटमा पनि ४०० केभी क्षमताकै १०८ किलोमिटर प्रसारणलाइन न्यु दमौली–न्यु बुटवल भारतीय सीमासम्म निर्माण गर्न टेण्डर आह्वान गरिएको थियो। एमसिए नेपालले बोलपत्रमा सहभागी हुन चाहने निर्माण कम्पनी वा फर्मलाई चैत १३ अर्थात् मार्च २७ सम्म म्याद राखेको थियो।

एमसिए नेपालले डिजाइन, सप्लाइ, डेलिभरी, इन्स्टलेसन, टेस्टिङ, कमिसनिङ मोडलमा निर्माण गर्ने गरी टेण्डर आह्वान गरेको हो। टेण्डर प्रक्रियामा छनोट हुने कम्पनीले आफैंले डिजाइन तयार पारेर प्रसारण लाइन निर्माणको काम गर्नुपर्नेछ। निर्माणाधीन ३१५ डब्बल सर्किटको प्रसारण लाइनले ३ हजार मेगावाटभन्दा धेरै बिजुली आदान प्रदान गर्न सक्छ। एमसीसी परियोजना अन्तर्गत ६३० मिलियन अमेरिकी डलरमध्ये आयोजनाको प्रशासनिक खर्चतर्फ भने ७.४६ प्रतिशत अर्थात् ४६.९९ मिलियन अमेरिकी डलर खर्च लाग्नेछ। त्यसैगरी परियोजनाको पूर्वतयारीको लागि १२.७८ प्रतिशत रकम खर्च हुनेछ। एमसिए नेपालका अनुसार यो आयोजना कार्यान्वयनका लागि ८२.४० प्रतिशत रकम खर्च गरिनेछ। यो प्रसारण लाइन काठमाडौंको लप्सेफेदी र नुवाकोटको रातमाटे सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म पुग्नेछ। ३१५ किलोमिटर प्रसारण लाइनमध्ये दायाँबायाँ २३-२३ मिटर छाडेर प्रसारण लाइन निर्माण गरिनेछ। एमसिए नेपालले यो परियोजना निर्माणको काम भने २०८० देखि निर्माण हुने जनाएको छ। यो आयोजना इन्ट्री टु फोर्स सन् २०२३ को अगष्ट महिनादेखि गर्ने कार्यतालिका बनाइएको छ । 

प्रकाशित: ९ जेष्ठ २०८० ०२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App