१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

ग्यासको भाउ बढ्यो

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमाभाउ बढेपछि नेपाली बजारमा खाना पकाउने ग्यासको मूल्य बढेको छ। नेपाल आयल निगमले एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ भाउ बढाएको हो।

ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार तीन सय ५० पुगेको निगमका प्रवक्ता भानुभक्त खनालले बताए। 'आइओसीबाट मूल्य वृद्धिभएर आएपछि ग्यासको मूल्य बढाउनुपरेको हो,' प्रवक्ता खनालले भने, '२५ रुपैयाँ बढाउँदा पनि निगमलाई सिलिन्डरमा अझै एक सय ६२ रुपैयाँ घाटा छ।'

यसअघि ग्यास सिलिन्डर एक हजार तीन सय २५ रुपैयाँमा बिक्री हुँदै आएको थियो। वृद्धि भएको मूल्य बुधबार राति १२ बजेबाट कार्यान्वयनमा आएको छ। अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको निगमले जनाएको छ। निगमले गत पुस पहिलो साता पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ ५० पैसाको दरले मूल्य बढाएको थियो। अहिले पेट्रोल प्रतिलिटर एक सय एक रुपैयाँ ५० पैसा, डिजेल ७७ रुपैयाँ ५० पैसा, मट्टीतेल ७७ रुपैयाँ ५० पैसा, हवाई इन्धन आन्तरिकतर्फ ८६ रुपैयाँ पर्छ। गत कात्तिकमा चाडबाडलाई लक्षित गरेर निगमले ग्यास एक हजार तीन सय ७५ बाट ५० रुपैयाँ मूल्य घटाएर एक हजार तीन सय २५ रुपैयाँमा झारेको थियो।

निगमले अबग्यासमा स्वचालित मूल्य प्रणालीमा जाने जनाएको छ। निगमले ग्यासमा 'स्वचालित मूल्य प्रणाली' लागू गर्ने जनाएको छ। ग्यासमा निगमले विगतलामो समयदेखि घाटा बेहोरेर बिक्री गर्दै आएको छ। ग्यासमा आपूर्ति र वितरण प्रणाली व्यवस्थित गर्न संसदीय अध्ययन तथा सुझाव समितिले स्वचालित मूल्य प्रणाली कायम गर्न यसअघि नै सुझाव दिएको थियो। ग्यासमा धेरै घाटा रहेकोले स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्ने प्रवक्ता खनालले जनाए। '२५ रुपैयाँ वृद्धि गरे पनि प्रतिसिलिन्डर एक सय ६२ रुपैयाँ ५१ पैसा घाटा छ, उनले भने, 'ग्यासमामात्रै पाक्षिक घाटा १५ करोड ३ लाख रुपैयाँघाटा छ।'

पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मट्टीतेल)मा स्वचालित मूल्य प्रणालीमा जाने घोषणा गरेको निगमले आफू अनुकूल मूल्य समायोजन गर्दै आएको थियो। भारतले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी सोही अनुरुपको मूल्य सूची नेपालमा पठाउँछ। त्यसका आधारमा मूल्य निर्धारण हुन्छ। निगमले स्वचालित मूल्य प्रणालीमा जाने बताउँदै आए पनि कार्यान्वयनमा आएको छैन।

फेब्रअरी १ मा पठाएको मूल्य सूचीअनुसार निगमले अन्य पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्दा निगमलाई अहिले १५ दिनमा (पाक्षिक) २३ करोड ९३ लाख रुपैयाँ घाटा छ। निगमको प्रक्षेपण अनुसार मूल्य विश्लेषण गर्दा मासिक आधा अर्ब रुपैयाँ घाटा हुने भएको छ। निगमका अनुसार पेट्रोल १५ दिनमा नाफा ९२ लाख रुपैयाँ, मट्टितेलमा एक करोड १७ लाख, हवाई इन्धन आन्तरिकतर्फ १ करोड २४ लाख, अन्तर्राष्ट्रियतर्फ ६ करोड ७३ लाख रुपैयाँ नाफा छ भने ग्यासमा १५ करोड ३ लाखर डिजेलमा १८ करोड ९६ लाख रुपैयाँ घाटा रहेको निगमले जनाएको छ। डिजेलमा प्रतिलिटर ३ रुपैयाँ १७ पैसा घाटा रहेको प्रवक्ता खनालले बताए। 'पेट्रोलियम पदार्थ भारतमा भन्दा नेपालमा सस्तो मूल्यमा बिक्री भइरहेको छ,' खनालले भने, 'पेट्रोल प्रतिलिटर १७ रुपैयाँ ७४ पैसा र डिजेल २४ रुपैयाँ ३३ पैसा सस्तोमा बेचेका छौं।'

निगमले दुई वर्षमा सरकारलगायत विभिन्न वित्तीय संस्थाबाट लिएको ३६ अर्ब रुपैयाँ ऋण तिरेको भए पनि अहिले घाटामा जान लागेको भन्दै निगमका अधिकारीले चिन्ता व्यक्त गर्न थालेका छन्। 'निगमले स्वचालित मूल्य प्रणालीलाई कार्यान्वयन नगरे अब पूरानै अवस्थामा फर्किन्छ,' एक निर्देशकले भने, 'जनतासँग प्रत्यक्ष जोडिएको विषय भएकाले सरकारको अनुमति बिना मूल्य बढाउन सकिँदैन।' सरकारले अनावश्यक रुपमा विभिन्न कर लगाएकाले जनताले चर्को मूल्य तिर्नुपरेको र निगमले पनि घाटा व्यहोर्नु परेको बताउँदै आएका छन्। सडक मर्मत संहार कर, बुढीगण्डकी जलविद्युत आयोजनालाई कर, प्रदुषण शुल्क, मूल्य स्थिरीकरण कोष, निगमको पूर्वाधार विकासका नाममा करोडौं रुपैयाँ संकलन गर्दै आएको छ।

प्रकाशित: २० माघ २०७३ ०४:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App