१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

विदेशबाट अर्बाैंको बोसो

काठमाडौं- नेपालमा छ महिनायता मात्र करिब एक अर्ब रुपैयाँको बोसो आयात भएको छ। साबुन, कस्मेटिक, दानाउत्पादक उद्योगले कच्चा पदार्थका रुपमा पशुको बोसो विदेशबाट ल्याउने गरेका छन्। यस तथ्यांकले हरेक वस्तुमा विदेशी उत्पादनको भर परिरहेको अवस्था झल्काउँछ।

तथ्यांकअनुसार पछिल्ला तीन वर्षमा बोसोको आयात ४ गुणाभन्दा बढीले वृद्धि भएको छ  भने ४ वर्षको तथ्यांक आँकलन गर्दा ३० गुणाभन्दा माथि आयात हुने देखिन्छ। सन् २०१६ को जुनसम्म (छ महिनामा) ८१ करोड ८२ लाख रुपैयाँको बोसो आयात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको हो । तीन वर्षको तथ्यांक हेर्दा वर्षैपिच्छे दोब्बरभन्दा बढी आयात भइरहेको देखिन्छ।

 सन् २०१३ मा ३ करोड ६८ लाखको बोसो आयात भएकोमा सन् २०१४मा ८ गुना बढेर २४ करोड ९६ लाख रुपैयाँको आयात भएको थियो। त्यसको अर्कोवर्ष झन् दोब्बरबढि वृद्धि भएर सन् २०१५मा ६७ करोड ३५ लाख रुपैयाँको बोसो आयात भएको केन्द्रले जनाएको छ। सन् २०१५मा आयात भएको बोसोको परिमाणभन्दा २०१६ को छ महिनामै धेरै आयात भएको देखिन्छ।

पशुको बोसो साबुन, कस्मेटिकसहित दाना उद्योगले प्रयोग गर्ने गरेको पशुपक्षी मन्त्रालयले जनाएको छ। आयातको तथ्यांक हेर्दा तीमध्ये धेरै साबुन उद्योगले आयात गरेका छन्।

यहाँ उत्पादन नभएपछि उद्योगीले विदेशबाट आयात गरेका हुन्। दानामा यसलाई इनर्जी भ्यालुका रुपमा प्रयोग गर्ने गरेका छन्। स्वदेशमा व्यवस्थित बधशाला नहुँदा जनावरको बोसो विदेशबाट आयात भइरहेको पशुपक्षी मन्त्रालयको नीति तथा पशु स्वास्थ्य नियमन महाशाखा सहसचिव डा. केशवप्रसाद प्रेमीले बताए।

उपभोक्ताले हरेक किलो मासु खरिद गर्दा दुई/तीन सय ग्राम बोसो किन्नुपर्ने बाध्यता रहेको उनले बताए। बोसो स्वास्थ्यका लागि हारिकारक भएकाले फाल्नुपर्ने अवस्था छ।  'यहाँ ठूला बधशाला नहुँदा मासु काट्दा बोसो छुट्ट्याइँदैन,' प्रेमीले भने, 'बोसोलाई छुट्ट्याउन सके बाइप्रोडक्टका रुपमा प्रयोग गर्न सकिन्छ।'

'पशु बधशाला तथा मासु जाँच ऐन– २०५५' बने पनि यसको कार्यान्वयन नहुँदा व्यवस्थित हुन नसकेको उनले बताए। 'बोसो छुट्टै निकाल्न सके उद्योगले कच्चा पदार्थको रुपमा प्रयोग गर्न सक्छन्,' उनले भने, 'स्वदेशमै उत्पादन गर्न सके विदेशबाट आयात गर्नुपर्दैन।'

नेपालमा भारत ,अस्ट्रेलिया, न्युजिल्यान्ड, थाइल्यान्डलगायत मुलुकबाट बोसो आयात भइरहेको छ। साबुन उद्योगका लागि बोसो अनिवार्य वस्तु भएको नेपाल नापतौल तथा गुणस्तर विभागले जनाएको छ। 'साबुनमा बोसो प्रयोग नगरी सुखै छैन,' विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, 'बोसोसहित विभिन्न केमिकल प्रयोग गरेर साबुन बनाइन्छ।' जनावरको बोसो स्वदेशमै उत्पादन गर्न सके मोटो रकम बिदेसिनबाट जोगिने पुडासैनीको तर्क छ।

'साबुन प्रयोग हुने बोसो जनावरबाटनै तयार गर्ने हो,' पुडासैनीले भने, 'स्वदेशमा यसको उत्पादन प्लान्ट नभएकाले विदेशबाट आयात भइरहेको छ।'

केही समयअघि प्रज्ञापनपत्रमा 'प्याटी एसिड आयल' बनाएर बाराको एक साबुन कम्पनीले वीरगन्ज भन्सार कार्यालयबाट पशुको बोसो ल्याएपछि  प्रहरीले भन्सार पास गरिएको ट्रक नियन्त्रणमा लिएको थियो।

पूजा सोप एन्ड हाउसहोल्ड कम्पनी, बाराले पशुको बोसो ल्याएको भेटिएपछि  नारायणी अञ्चल प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो। उक्त बोसो भन्सारबाट 'एसिड आयल' शीर्षकमा आयात गरिएको भेटेपछि प्रहरीले  ट्रक नियन्त्रणमा लिएर वस्तुको नमुना केन्›ीय विधिबिज्ञान प्रयोगशाला, काठमाडौंमा परीक्षण गराएकोमा बोसो पुष्टि भएको थियो।

मुलुकमा स्वदेशी उत्पादनमा वृद्धि नभई विदेशी वस्तुको आयात र उपभोग बढेपछि मुलुकको व्यापार घाटा निकै बढेको छ। चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकको व्यापार घाटा साढे ३ सय अर्ब रुपैयाँ पुगेको छ। आयातको तुलनामा निर्यात वृद्धि हुन नसकेपछि मुलुकको व्यापार घाटा अकासिएको हो।

गत आर्थिक वर्षको तुलनामा वस्तु व्यापार घाटा ८६ दशमलब ६ प्रतिशतले वृद्धि भई ३ सय ५२ अर्ब १ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। नेपालबाट निर्यात हुने वस्तुको तुलनामा धेरै गूणा वस्तु आयात भएपछि घाटाको खाडल फराकिलो भएको हो। यस अवधिमा गत वर्षको तुलनामा वस्तु आयातको वृद्धिदर ७८ दशमलब ९ प्रतिशतले बढेर ३ सय ८२ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।

बोसो प्रयोगको असर

जनावरबाट निस्किने चिल्लो पदार्थ (एनिमल फ्याट) हो। मानव स्वास्थ्यमा बोसोको प्रयोग अत्यन्तै हानिकारक हुने चिकित्सक बताउँछन्। बोसो खाद्यान्नमा प्रयोग गरिए मान स्वास्थ्यमा चिल्लो पदार्थमध्ये सबैभन्दा बढी जोखिमयुक्त भनेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलका अनुसार त्यसमा पनि लामो समयसम्म जोगाउन (प्रिजरभेटिभ) को प्रयोग गरिएको बोसो कयौं गुणा हानिकारक बन्छ।

'यसै एनिमल फ्याट हानिकारक हुन्छ, त्यसमा पनि त्यसलाई लामो समयसम्म प्रयोगका लागि विभिन्न केमिकल हालेर राख्दा त कल्पनाभन्दा बाहिरको हानिकारक हुन्छ।' जानकारका अनुसार यस्ता बोसो विभिन्न खालका घ्यु र रेस्टुरेन्टमा श्वास र चिल्लो एवं अन्य प्रायोजनका लागि ल्याइएका हुन सक्छन्।

डा. अनिलका अनुसार एनिमल फ्याटको सिधा असर रगतमा चिल्लोको मात्रा वृद्धि भएर रक्तनली साँघुरिने हुन्छ जसका कारण कोलेस्टोरल वृद्धि हुनाले रक्तचाप, मस्तिष्कघात र हृदयघातको जोखिम बढाउँछ।

चिल्लो पदार्थलाई खासगरी सैचुरेटेड र अन स्याचुरेटेड गरी थुई वर्गमा राखिन्छ। अन स्याचुरेटेडले राम्रो कोलेस्टोरल बढाउँछ। स्याचुरेटेड फ्याटले रगतमा नराम्रो कोलेस्टोरल बढाउँछ। जनावरको बोसोमा यो बढी हुन्छ। स्याचुरेटेड फ्याटले रगतमा नराम्रो कोलेस्टोरल (चिल्लो पदार्थ) बढाउँछ। बोसोको पुनः प्रयोग गर्दा ट्रान्सफ्याटमा परिणत हुन्छ जुन मुटुका लागि निकै हानिकारक मानिन्छ। 

प्रकाशित: १३ माघ २०७३ ०२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App