१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

काठमाडौं–वीरगन्ज विद्युतीय रेलको सम्भाव्यता अध्ययन गर्न ग्लोबल टेन्डर

रेल विभागकाे कार्यालय भवन। तस्बिरः प्रबिन काेइराला

काठमाडौं– रेल विभागले काठमाडौं–वीरगन्ज विद्युतीय रेल मार्गको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) प्रक्रिया अघि बढाएको छ। नेपालको कुल आयात निर्यात व्यापारको करिब ७० प्रतिशत हिस्सा वीरगन्ज नाकाबाट हुने र तराईलाई छोटो दूरीमा राजधानीसँग जोड्ने भएकोले यो रेल मार्ग महत्वपूर्ण हुने भन्दै विभागले अध्ययन अघि बढाएको हो।

वीरगन्जदेखि काठमाडौंसम्म विद्युतीय रेल सञ्चालन गर्न सके सडक यातायातमाथिको निर्भरता कम भएर जाने, सडक यातायातको तुलनामा यात्रु तथा मालबाहक रेल सस्तो, सुरक्षित, वातावरणमैत्री र समय कम लाग्ने हुँदा प्रभावकारी हुने विभागको विश्वास छ।  

नेपालको आयात–निर्यात व्यापारका लागि महत्वपूर्ण रहँदै आएको दक्षिणी सीमा नाका वीरगन्ज र उत्तरी सीमा नाका रसुवागढीलाई रेल सञ्जालले जोड्नका लागि पनि वीरगन्ज–काठमाडौं रेलमार्ग निर्माण गर्नु अनिवार्य रहेको विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले बताए।

‘मेची–महाकाली (पूर्व–पश्चिम)विद्युतीय रेल मार्ग डिपिआर तयार पार्ने र सिभिल निर्माणको खण्डगत रुपमा अघि बढिसकेको अवस्थामा उत्तर–दक्षिण रेलमार्ग विकासलाई पनि सँगै अघि बढाउन लागिएको हो,’ उनले भने।

यस मार्गको सम्भाव्यता अध्ययनका लागि ३१ दिनको समय दिएर विभागले मंसिर १४ गते पहिलो पटक अन्तराष्ट्रिय बोलपत्र आह्वानको सूचना प्रकाशित गरको छ।  

उपाध्यायका अनुसार छनोटमा परी नियुक्त हुने कम्पनीले काम शुरु गरेको ६ महिनाभित्र अध्ययन कार्य पूरा गर्ने गरी सम्भाव्यता अध्ययनका लागि बोलपत्र आह्वान गरिएको हो। नियुक्त हुने कम्पनीले प्राविधिक, वित्तीय लागत, आर्थिक लाभ, वातावरणीय तथा सामाजिक प्रभावका हिसाबले समेत उक्त रेलमार्ग कत्तीको उपयोगी छ भन्ने अध्ययन गरी सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाउनु पर्ने छ। कम्पनीले उक्त मार्गको प्रारम्भिक लागत अनुमान प्रतिवेदनसमेत तयार गरी बुझाउनु पर्ने छ। 

त्यस्तै, सम्भाव्यता अध्ययन गर्ने जिम्मेवारी पाउने कन्सल्ट्यान्ट कम्पनीले वीरगन्जदेखि काठमाडौंसम्म रेलमार्ग जोड्न सम्भावित ३ ओटा विकल्प सुझाई सबैभन्दा उपयुक्त एक विकल्प सिफारिस गर्नुपर्ने विभागले जनाएको छ।

काठमाडौंदेखि वीरगन्जसम्म उच्च गतिको विद्युतीय रेलमार्ग विस्तारका लागि पहाडी इलाकामा सुरुङमार्ग तथा पुलसमेत निर्माण गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै विभागले सम्भाव्यता अध्ययनका लागि अनुभवी र सक्षम कम्पनी छनोटमा जोड दिएको छ।

इन्छुक कम्पनीले बोलपत्रमा सहभागी हुन वार्षीक कारोबार विवरण, सम्भाव्यता अध्ययन अनुभव, विस्तृत परियोजना अधययन अनुभव, पुल तथा सुरुङमार्ग निर्माणको अनुभव, काठमाडौं–वीरगन्जकै जस्तो भौगोलिक क्षेत्रमा रेलमार्ग निर्माणका लागि अध्ययन गरेको अनुभवसहितका विवरणसमेत पेश गर्नुपर्ने मापदण्ड विभागले तोकेको छ।

याे पनि

'सिंगापुरको रेल नेपाल हुँदै युरोप जान सक्छ' (भिडियो)

'नेपाललार्इ युरोप–अफ्रिकाको रेल सञ्जालसँग जाेड्ने गरी गुरुयोजना बनाऊ'

 

प्रकाशित: ९ पुस २०७३ ०९:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App