१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

दर्जन नयाँ तारे होटल थपिए

पछिल्लो एक वर्षको अवधिमा एक दर्जन नयाँ तारे होटल थपिएका छन्। मुलुकमा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा राखेर लगानीकर्ताले धमाधम होटल व्यवसायमा लगानी गरिरहेका हुन्।

पर्यटन विभागका अनुसार पछिल्लो ११ महिनामा १२ वटा नयाँ तारे होटल र ३ वटा नयाँ रिसोर्ट सञ्चालनमा आएका छन्। २०७९ बैशाखदेखि फागुनसम्मका १५ वटा सुविधा सम्पन्न होटल दर्ता भएको पर्यटन विभाग होटल शाखाका अधिकृत राधिका गिरीले जानकारी दिइन्।

सञ्चालनमा नयाँ आएका होटलमध्ये ५ वटा चार तारे होटल रहेका छन्। जसमा विरगञ्ज पर्सास्थित होटल दियालो, विराटनगरस्थित रत्ना होटल, ठमेलस्थित ठमेल प्लाजा होटल एण्ड स्वीट्स, सुनवल नवलपरासीस्थित होटल आरियन र रूपन्देहीमा एसियन होटल रहेका छन्।

यसमध्ये होटल रत्ना थ्री स्टारबाट फोर स्टारमा अपग्रेड भएको हो भने बाँकी रहेका होटलहरू सबै नयाँ हुन्। होटल शाखाको तथ्याङ्क अनुसार २०७८ सालसम्म पाँच तारे होटलहरू १७ र चार तारे होटलहरू २७ वटा दर्ता भएर सञ्चालनमा आइसकेको छ। यससँगै चार तारे होटलको संख्या ३२ वटा पुगेको छ।

यस वर्षको फागुनसम्ममा सुन्दर हरैंचामा नेपालीरिका होटल र रूपन्देहीमा गौतमबुद्ध एयरर्पोट होटल गरी जम्मा दुई वटा तीन तारे नयाँ होटलहरू यस शाखामा दर्ता भएका छन्। यससँगै तीन तारे होटलको संख्या ३७ पुगेको छ। शाखाका अनुसार २०७८ सालसम्म तीन तारे होटेलहरू ३५ वटा मात्र थिए तर फागुन १५ सम्ममा दुई वटा थपिएर ३७ वटा पुगेको छ।

यसैगरी २०७९ फागुनसम्ममा होटल शाखामा चार वटा दुई तारे होटलहरू दर्ता भएका छन्। जसअन्तर्गत धनुषास्थित होटल सितशरण, पाल्पास्थित होटल श्री नगर, रूपन्देहीस्थित ड्रिम इन्टरनेसनल होटल र लाजिम्पाटस्थित नोमाद होटल रहेका छन्। यसअघिसम्म ४३ को संख्यामा दुई तारे होटलहरू रहिसकेकोमा थप दुई गरी जम्मा ४५ को संख्यामा दुई तारे होटलहरू दर्ता भई सञ्चालनमा आइरहेका छन्।

यस्तै ठमेलको आगन्तुक होटल यस वर्ष दर्ता भएको एक तारे होटल हो। अब एक तारे होटलको कुल संख्या ३८ पुगेको छ।  यस्तै साधारण, डिलक्स र लक्जरी रिसोर्ट अन्तर्गत बैशाखदेखि फागुन महिनासम्ममा ३ वटा नयाँ साधारण रिसोर्टहरू होटल शाखाले दर्ता गरेको छ। जसअन्तर्गत गोदावारीस्थित प्याराडाइज हिल्स रिसोर्ट, काभ्रेस्थित हिमालय दृश्य रिसोर्ट र मकवानपुस्थित ओम अध्याय रिट्रिट रहेका छन्। योसँगै साधारण रिसोर्टहरूको कुल संख्या १ सय १० पुगेका छन्। लक्जरी र डिलक्स रिसोर्ट अन्तर्गत कुनै पनि नयाँ रिसोर्टहरू खुलेका छैनन्।

ठूलो लगानी गरेर सुविधा सम्पन्न तारे होटल तथा रिसोर्टहरू खुल्दै गर्दा कोभिडले वर्षौंसम्म सेवा बन्द गर्नुपर्ने अवस्था आएको थियो। यसले गर्दा ठूलो रकम लगानी गरेर व्यवसाय गरिरहेका व्यवसायीहरू प्रत्यक्ष मारमा परे भने कतिपय होटल र रिसोर्टहरू त बन्द नै भएका छन्।

यसै क्रममा कोभिडपछि होटल गर्छु भनेर लगानी गरिसकेका व्यवसायीहरू होटल तथा रिसोर्ट दर्ताका लागि आएको बताउँदै होटल शाखाका शाखा अधिकृत राधिका गिरीले भनिन् ‘२०७८ यता होटल तथा रिसोर्ट दर्ता गर्ने धेरैजसो व्यवसायीहरूले कोरोना अघि नै यस व्यवसायमा हात हालिसकेकाहरू छन्। दर्ता मात्र नयाँ संख्यामा भएका हुन् तर उनीहरूको काम कोरोना अघिदेखिनै सुरु भएको थियो।’

अहिलेको अवस्थामा नयाँ व्यवसायीहरू ठूलो लगानी गरेर होटल तथा रिसार्ट खोल्छु भन्ने अवस्था नभएका कारण पनि अहिले होटल तथा रिसोर्टहरू दर्ता गर्न व्यवसायीहरू नआएको अधिकृत गिरीले बताइन्। उनले कोरोना महामारीका कारण कारण ठप्प भएका होटल तथा रिर्सोटहरू विस्तारै लयमा फर्कंदै गर्दा राजनीतिक अस्थिरता, लगानीको सुनिश्चितता र व्यवसायको सुरक्षा नहुनु, जलवायु परिवर्तनलगायतका प्रतिकूलताले गर्दा पनि व्यवसायीहरू ठूलो रकम लगानी गरेर नयाँ होटल तथा रिसोर्ट खोल्न उत्सुक नभएको बताइन्।

करोडौं रकम लगानी गरेका तारे होटल तथा रिसोर्टका ग्राहक धेरैजसो विदेशी पर्यटक हुने उल्लेख गर्दै उनले भनिन्, ‘यस क्षेत्रमा आन्तरिक पर्यटकहरूको योगदानलाई नजरअन्दाज गर्न कसैगरी मिल्दैन् तर ठूलो रकम लगानी गरेर खोलिएका सुविधा सम्पन्न होटल तथा रिर्सोटहरूले प्रायः विदेशी पाहुनाहरू लक्षित गरेर योजना बनाएका हुन्छन्। कोरोना महामारी तथा राज्यको विविध कारणले केही वर्ष यता हेर्ने हो भने होटल दर्ता करिब ५० प्रतिशतसम्म कम भएको छ।’  

प्रकाशित: १९ फाल्गुन २०७९ ०२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App