६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल ट्रेड समिटको दोस्रो संस्करण सुरु

नेपालमा सिमेन्ट, स्टिल र कोइला व्यवसायको चुनौती र सम्भावनाबारे बृहत् छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले आयोजना गरेको दुई दिने नेपाल ट्रेड समिट बुधबार सुरु भएको छ।

सम्मेलन उद्घाटन सत्रका वक्ताहरूले नेपाललाई लगानीको ‘भर्जिन ल्यान्ड’का रूपमा चित्रण गर्दै उक्त अवसरबाट लाभ लिन स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गरेका छन्। उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रधान र भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सरकारले समृद्धि र विकासलाई उच्च प्राथमिकता दिएको हुँदा आगामी दिनमा भौतिक पूर्वाधार निर्माण लगायत अन्य विकासका गतिविधिले तीव्रता पाउने बताएका छन्।

यातायातलाई विकासको पूर्वसर्त मानेर सरकारले देशका विभिन्न क्षेत्रमा प्राथमिकताका साथ फराकिला सडक र द्रुतमार्ग निर्माण गरिरहेकाले यस्ता गतिविधिले निर्माण सामग्रीको खपत बढाउने र निर्माण सामग्री उद्योगको थप विकासमा योगदान हुने मन्त्री श्रेष्ठले बताए।

समृद्धिको लक्ष्य हासिल गर्न सरकारले लगानीमैत्री नीति लिएको हुँदा नेपालमा लगानी गर्नु लाभदायी हुने उनको भनाइ छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीले सरकारले निकासी सम्भावनाबाट लाभ लिने गरी साबिकको व्यापार नीतिको पुनरावलोकन गर्न लागेको जानकारी दिएका छन्।

कन्फेडेरेसन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले नेपाललाई अवसरको ‘भर्जिन ल्यान्ड’ भन्दै यहाँ स्थानीय र अन्तरराष्ट्रिय दुवै लाभ रहेको बताए। उनले सरकारले निर्माण क्षेत्रलाई जोड दिएकोले यहाँ निर्माण सामग्री उद्योगको सम्भावना राम्रो रहेको उल्लेख गर्दै विदेशीलाई गुणस्तरीय कच्चा पदार्थ आपूर्ति गर्न सल्लाह दिएका छन्।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सार्वजनिक-निजी साझेदारीमा उद्योग स्थापना गर्न स्वदेशी र विदेशी कम्पनीलाई आग्रह गर्दैे प्राकृतिक स्रोतमा आधारित उद्योग स्थापनामा जोड दिएका छन्।२५० भन्दा बढी प्रतिनिधि सहभागी दुई दिने सम्मेलनमा विश्वव्यापी स्टिल बजारको बदलिँदो गतिशीलता, नेपाली स्टिल र सिमेन्ट उद्योगको परिदृश्य, नेपाली स्टिल र सिमेन्ट उद्योगको लागि कच्चा पदार्थ स्रोतको विकल्प, स्टिल उत्पादनका लागि आवश्यक पर्ने प्रमुख कच्चा पदार्थको मूल्य परिदृश्यबारे पनि छलफल हुने आयोजकले जनाएको छ।

प्रकाशित: १८ फाल्गुन २०७९ ०२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App