९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

डलर सञ्चितिले १० महिनाको आयात धान्ने

विदेशी मुद्रामा चाप परेपछि सरकारले आयातमा कडाई गर्दा डलर सञ्चिति वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले मुलुकमा भएको डलर सञ्चितिले १० महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखाएको छ।  

चालु आर्थिक वर्षको पाँच महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आवको पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.० महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखाएको छ। राष्ट्र बैंकका अनुसार अहिले नेपालमा ९ अर्ब ८२ करोड डलर सञ्चिति पुगेको छ। गत असार मसान्तसम्मको अवधिमा नेपालमा डलर सञ्चिति ९ अर्ब ५४ करोड अमेरिकी डलर रहेको थियो। मंसिर मसान्तसम्मको अवधिमा ३ प्रतिशतले डलर सञ्चिति बढेर ९ अर्ब ८२ करोड पुगेको छ। आयातमा कडाई, रेमिट्यान्स आगमन वृद्धिले सञ्चिति बढेको हो।

रेमिट्यान्समा २३ प्रतिशतले वृद्धि

राष्ट्र बैंकले चालु आर्थिक वर्षको ५० करोड रूपैयाँ नेपाल भित्रिएको जनाएको छ। गत आर्थिक वर्षको पाँच महिनाको अवधिमा भने रेमिट्यान्स ६.३ प्रतिशतले घटेको थियो तर अहिले रेमिट्यान्स रकम भित्रिने क्रम भने बढेको छ। चालु आवको पाँच महिनाको अवधिमा अमेरिकी डलरमा पनि रेमिट्यान्स भित्रिने क्रममा वृद्धि भएको देखाएको छ । अमेरिकी डलरमा रेमिट्यान्स १३.१ प्रतिशतले वृद्धि भएर तीन अर्ब ७१ करोड डलर पुगेको छ। गत आवको सोही समयमा भने ६.८ प्रतिशतले घटेको थियो।  

आयात २०.७ प्रतिशतले घट्यो

चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा नेपालले ६ खर्ब ६४ अर्ब ७५ करोड रूपैयाँको वस्तु आयात गरेको छ। चालु आवको पाँच महिनाको अवधिमा कुल वस्तु आयातमा भने २०.७ प्रतिशतले कमी आएको छ। गत आर्थिक वर्षको अवधिमा भने ५९.५ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २० प्रतिशत, २२.६ प्रतिशत र २१.४ प्रतिशतले कमी आएको छ।

निर्यातमा ३४.६ प्रतिशतले कमी

चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा वस्तुको निर्यात ३४.६ प्रतिशतले कमी आएर ६७ अर्ब ३० करोड रूपैयाँको वस्तु निर्यात भएको छ। गत आर्थिक वर्षको पाँच महिनाको अवधिमा भने १०५.६ प्रतिशतले वृद्धि भएको थियो। राष्ट्रबैंकले चालु आवको पाँच महिनाको अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ७.३८ प्रतिशत रहेको देखाएको छ। गत आवको सोही अवधिमा भने ७.११ प्रतिशत रहेको थियो। चालु आवको चार महिनाको अवधिमा भने ८.०८ प्रतिशत रहेको देखाएको छ। बैंकले पाँच महिनाको अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.८५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५९ प्रतिशत रहेको जनाएको छ।  

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको मूल्य सूचकाङ्क १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.०७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३९ प्रतिशत र मदिराजन्य पेय पदाथको ८.८४ प्रतिशतले बढेको छ।  

राजस्व संकलनमा कमी

पाँच महिनाको अवधिमा एक अर्ब ८ अर्ब रूपैयाँ कम राजस्व संकलन भएको छ। सरकारले चालु आवको पाँच महिनाको अवधिमा तीन खर्ब २६ अर्ब ८९ करोड रूपैयाँ राजस्व तथा अन्य कर शीर्षकमा आम्दानी गरेको थियो। सरकारले पोहोर सोही अवधीमा भने चार खर्ब ३५ अर्ब २१ करोड रूपैयाँ विभिन्न शीर्षकमा खर्च गरेको छ।  

सरकारले चालु आवको पाँच महिनाको अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः रु.३ ५४ अर्ब २६ करोड, रु.३३ अर्ब ९९ करोड र रु.४६ अर्ब ९६ करोड खर्च गरेको छ। सरकारले चालु आवको पाँच महिनाको अवधिमा कर राजस्वतर्फ तीन खर्ब १ अर्ब ४६ करोड कर संकलन गरेको छ। त्यसैगरी सोही अवधिमा गैर कर राजस्वतर्फ रु.२५ अर्ब ४३ करोड संकलन गरेको छ। राष्ट्रबैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको प्रतिवेदनले मुलुकको शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड रूपैयाँले बचत भएको देखाएको छ।

प्रकाशित: १ माघ २०७९ ०२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App