मिसु श्रेष्ठ
‘कस्तो जमाना आयो है! सानो खर्चले नजितिने।’
‘त्यही त यी पैसामा बिक्ने नेपाली जनता!’
‘जनताको बानी बिगार्ने यिनै नेता त हुन् नि!’
नेताले तितो ओकल्यो, ‘बाध्यता छ नि यार। अरूले खर्च गरेपछि आफूले नगर्दा मत प्रभावित भइहाल्ने।’
नेतालाई धाप मार्दै निकटस्थ कार्यकर्ताले आश्वासन दियो,‘लल ढुक्क भएर बस्नु। हाम्रो गाडीले यथेष्ट मतदाता ओसारिसकेको छ। तयारी सबै पूरा भयो। जित पक्का!’
‘चुनाव आइरहोस्। रंगीचंगी मान्छे देख्न पाइने। गाउँमा चहलपहल पनि बढ्ने। यस्तै भइरहे त बाँदर र मृगले बाली क्षति नि गर्दैनथ्यो। जताततै गाडी!’ बूढो स्वर सुनियो।
‘अँ, त्यसमाथि जता जाँदा नि पैसै नलाग्ने।’
बुढाले आशंका व्यक्त गयो, ‘ह्या बूढी त्यस्तो नि सधैं होला त। चुनाव सकेपछि पैसा त लागिहाल्ला नि! गाडी त चल्ला के।’
‘हैन,बुढा तिमीले त पैसा लिन्नौ जस्तो लाग्याथ्यो।’
‘यी पैसा धेर भएकाहरू। हामीले मागेका हौं र! छिँडीसम्म आएको लक्ष्मीलाई अवहेलना त गर्नुभएन नि। फेरि नलिए पनि कसले पत्याउँछ र!’
‘भोट त यिनैलाई हाल्यौ त?’
‘यिनले हात समातेका छन् र! गोप्य मतदान हो। मन परेको ठाउँमा हालिन्छ नि!’ पिँढीबाट कानमा ठोक्किएको आवाजले नेताजीको कदम टक्क अडिए।
प्रकाशित: ४ जेष्ठ २०७९ ०३:२३ बुधबार