३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
कला

‘लाई कल्यै पनि नसकिने प्रीति नौ लाख मेरा’

जगराको भीरमा खेल्दै, कुद्दै आफ्ना पितासँग सुखमय दिन बिताइरहेको एउटा केटो एक दिन उसका नजिकैका नातेदारसँग पुस्तुनबाट आफन्तको विवाहमा सामेल हुन खुदी पुगेछ। यही समारोहमा त्यस वेलाको त्यो केटो (अहिले देशको राष्ट्रकवि माधव घिमिरे, मेरा पिता)को भेट एक समृद्ध परिवारका विद्वान् बुज्रुकसँग भएछ। उनैको सल्लाहमा पिताले बाँकी अध्ययन खुदीको पाठशालाबाट पूरा गर्ने व्यवस्था भएछ। गोरो अनुहार, सर्लक्क जिउडाल, शान्त प्रकृति, सौम्य चालढाल, तीक्ष्ण बुद्धिका धनी पितालाई ती बुज्रुकले एक योग्य शिष्य मात्र होइन, आफ्नी नातिनी गौरीका लागि उपयुक्त सर्वगुण सम्पन्न वर समेत ठहराई मेरा हजुरबासँग कुराकानी मिलाएछन्। हुन त त्यो औपचारिकता अगावै मेरा पिताको हृदयमा मेरी ठूलीआमा, मेरा दिदीहरू शान्ति–कान्तिकी आमा गौरी बसिसकिछन्। यो कुरा मैले केही महिनाअघि मात्र माहिली दिदी कान्तिबाट थाहा पाएँ।

दुई वर्षअघिको एक साँझ, सन्चोबिसन्चो बुझ्न पिताको घर पुगिछन्, कान्ति दिदी। सधैँजसो बरन्डा कोठाको ठुल्ठूला झ्यालबाट घर फर्कंदै गरेका बकुल्लाको झुन्ड हेर्दै रहेछन् पिता। धेरै दिनपछि अचानक कान्तिलाई आफ्नो अगाडि देख्दा अत्यन्तै खुसी हुँदै भलाकुसारीमा जुटिहालेछन्। साँझ ढल्दै गर्दा झ्यालबाट छिरेको एक झोँक्का हावाले छरपस्ट पारेको कान्तिको घुम्रिएको कालो कपालले पितालाई आफ्नो सुन्दर अतीतमा पुर्‍याएछ।

खुदीको त्यो बिहान अरूभन्दा विशेष थियो। मन्दमन्द हावामा उन्मत्त उडिरहेको घुम्रिएको कालो कपालका केस्रामा गौरीको ठाडो अनुहार कहिले छोपिने त कहिले अलिकति देखिने पनि- अपूर्व सौन्दर्य घना बादलमा लुकामारी खेल्दै गरेजस्तो लाग्थ्यो रे। फूलबुट्टे छिटको सारी, मिहिनेतका साथ बनाइएका मुजाहरू पातलो शरीरमा औधि सुहाएको। यिनै मुजामा अल्झिएछ पिताको दिल। नजिकैको पूजा कोठाबाट आएको शंखघन्टको आवाज र धुपबत्तीको सुगन्धले पवित्र त्यो एक पलमा पिताको हृदयले गौरीसँग प्रेम गाँसेछ। त्यो गौरीलाई अमर बनाउने ‘गौरी खण्डकाव्य’ रचनार्थ रचिएको काव्यात्मक प्रेम थियो। त्यो संगीत र चित्रकला सिर्जनाको शान्ति-कान्तिमा अंकुरित सिर्जनात्मक प्रेम थियो। त्यो महाकाली आह्वानको करुण प्रेम थियो। एक गिलास पानी राखेर एक पलमा हराइछन् गौरी, सदा पिताको जीवनमा जुट्ने गरी। गौरी पिताको जीवनमा जसरी एक हावाको झोँक्कासरह आइन्, त्यसरी नै विलय भइन्।

गौरीसँग विछोडपछि विच्छिन्न विक्षिप्त अवस्थामा पिताको जीवनमा महाकालीको प्रवेश भयो। महाकाली पिताकी चाहना होइन, आवश्यकता थिइन्। गौरीले सुम्पेकी चार वर्षीया शान्ति र पाँच महिनाकी कान्तिलाई नवआगन्तुक महाकालीलाई सुम्पिए पिताले। एउटा लाग्दै गरेको र अर्को फक्रेला जस्तो कोपिलालाई यी १३ वर्षीया बालिकाले हृदयले स्पर्श गरिन्। पिताको गौरीमय राज्यमा सहज पे्रममय दाम्पत्य जीवन- जसमा उनकै मात्र एकाधिकार- आफ्नो दुस्वप्न हुने चतुर महाकालीले सहजै अड्कल लगाइन्। कहिल्यै नदेखेकी र अब आउँदा दिनमा देखिने सम्भावना नै नभएकी गौरीको सम्भावित उद्देश्य निरन्तरतालाई आफ्नो दाम्पत्य जीवनको सत्य मानी सजिलै स्विकारिन्। महाकाली आफूलाई पिता गुरुकुलको भाग्यमानी शिष्या मान्थिन् र शान्ति-कान्ति उनको परीक्षा।

महाकालीलाई पिताले एक स्वदीक्षित शिष्याको साथसाथै आफ्नो भत्किएको रथ सम्हाल्ने क्षमतावान् कुशल सारथी मान्थे। शान्ति–कान्तिलाई हृदयमा बसाई उनीहरूसँगै हुर्केकी शिष्या महाकाली मञ्जु, उषा, किरण, ज्योति, इन्दीवर र राजीव उनको काखमा आउँदै गर्दा थाहै नपाई स्वयं गुरुआमा बनिसकिछन्। महाकालीले आफूले जानेको वर्णमाला, अंकगणित, पाक्कला र अनुशासन हामीलाई सिकाइन्। तर, उनले नजानेको संगीत, चित्रकला, अध्यापन, चिकित्सा, लेखन र इन्जिनियरिङजस्ता गहन विषयवस्तु पितासँग उधारो मागी, त्यसैलाई हाम्रा लागि उनको आफ्नो सपना बनाइन्। अहोरात्र खटी उनले आफ्नो त्यो सपना साकार बनाउँदा हाम्रो जीवन उज्ज्वल भयो।

महाकाली पिताकी जीवनधारा बनिसकिछन्। पिताकै लयमा उठबस गर्दागर्दै उनी पिताकी काव्य समालोचक, प्रशंसक र प्रेरणा बनिसकिछन्। पिताले गौरीको स्मरणमा लेखेका गौरी खण्डकाव्य घरघरै वाचन हुँदा पिता जति खुसी हुन्थे, महाकाली त्योभन्दा बढी हुन्थिन्। महाकालीकोे सपनामा आधारित प्रेम गीत रच्थे पिता, यद्यपि महाकाली उनकी प्रेमिका थिइनन्। महाकाली पिताकी स्तुति थिइन्- ‘महाकाली आयौँ अब त सब हामी शरणमा, चढायौँ श्रद्धाले अञ्जुलीभरि थुङ्गा चरणमा।’ महाकाली पिताकी मीरा हुन्। प्रेम त पिताले गौरीसँग गरे। प्रेम पिताले काव्यसँग पनि गरे।

पिताको काव्यसँग अनन्य प्रेम थियो। त्यो प्रेम नशा थियो। त्यो प्रेम पागल पनि थियो। काव्य प्रेमको पागलपनमा पिता कहिले टोलाउँथे कहिले हाँस्थे, कहिले रुन्थे र कहिले काव्यसँग लड्थे पनि। काव्य पितालाई प्रायः खेलाइरहन्थिन्, झुलाइरन्थिन्, सताइरहन्थिन्। यद्यपि पिता दिनरात उनै काव्यलाई अँगालिरहन्थे, गुनगुनाइरहन्थे, मनाइरहन्थे, वेद, पुराण र उपनिषदका अन्नत ज्ञानले सजाइरहन्थे।

पिता काव्यको खुसीमा आफ्नो जीवन पाउँथे। गौरी र महाकाली पिताको खुसीमा आफ्नो खुसी। चाहे जुनसुकै कारण होस्, काव्य पितामा गौरी र महाकालीभन्दा आफ्नो विशेष अधिकार जनाउँथिन्। पिता पनि आफूमा काव्यकै अधिपत्य रुचाउँथे। काव्यसँगै एकान्त चाहन्थे।

पिता–काव्यको एकान्तमा गौरी आमा के सोच्थिन्, यकिन भन्न सक्दिनँ तर ‘गौरी खण्डकाव्य’की गौरी पिता–काव्यको अविछिन्न एकान्तमा बाधा नबन्नका लागि नै होला, पिताको जीवनबाट छोटै समयमा बिदा भइन्। गौरीको अतुलनीय त्यागको सम्मानमा पिताले ‘गौरी खण्डकाव्य’ रची उनलाई अमर बनाए। यी दुई पागल प्रेमीको एकान्त बासमा महाकालीको नीरव समर्थन रह्यो। उनी यस अनुकूल वातावरण सिर्जनामा हरसम्भव प्रयास गर्थिन्। महाकालीको निर्देशनमा हामी सासले कुरा गर्थ्यौं। नापतौलको पाइला चाल्थ्यौँ। खाना खाँदा मौन व्रत बस्थ्यौँ। पिताले काँधमा राखेर उफारे उफ्रिदिन्थ्यौँ। आफू घोडा बनी पिँठ्युमा बोकेर पछारे पछारिन्थ्यौँ। पिताले हामीसँग मिलेर खेलेको यस्ता उनको काव्य आह्वानका खेलमा, काव्य सामेल हुनासाथ हामीलाई भगाउने उपक्रममा तर्साउन उँधोमुन्टो घुमाए घुमिदिन्थ्यौँ।

काव्य आह्वानमा कुनै पनि बाधा अड्चन पितालाई सह्य हुन्न, यो कुरा महाकालीले राम्ररी बुझेकी थिइन्। यद्यपि कहिलेकाहीँ हाम्रो बालसुलभ क्रीडाको किलकारी समेत अक्षम्य मात्रै होइन, दण्डनीय नै हुँदा उनी मनमनै पिताको विरोध गर्थिन्। तुरुन्तै क्षमा पनि गरिदिन्थिन्पि-ताको काव्य प्रेमको पागलपन बुझेकी यी महाकली। पिताको एकएक सास, नसानसा, कोठाचोटा, बारीबगैँचा– यत्रतत्र सर्वत्र काव्यमय। पहाडको गरिमा, हिमालको सुन्दरता, जंगलको सुस्ताई, फूलको कोमलता, खोलानालाका गहिराई, चराचुरुंगीका संगीत सबै काव्यका अन्नय मित्र। पिता यिनका उपासक। गौरी र महाकाली समर्थक। गौरी र महाकाली दुई अलग चरित्र, पिताको जीवनको बेग्लाबेग्लै कालखण्डका अपरिहार्य सत्य। गौरी र महाकालीकी समिश्रण काव्य, पिताको जीवनको अविच्छिन्न शाश्वत सत्य।

पिता हामीबाट टाढा गइसक्नुभयो। पिताकी प्रथम सखी गौरी स्वर्गमा पिताको स्वागत सत्कारमा व्यस्त होलिन्। महाकाली ८६ वर्ष लागिसकिन्। पिताको विरासत धानेर बसेकी छन्। अनुहारमा कान्ति र जीवनमा शान्ति छ। गौरीले सुम्पेकी नासो बालिका शान्ति–कान्तिलाई स्वयं अबोध बालिका महाकालीले हुर्काई संगीतमा एक सरगम र चित्रकलामा अर्को चहकिलो रङ थपिन्। पिता–काव्यले सुम्पेका नासो वयस्क ‘ऋतम्भरा’ महाकाव्य महाकालीको अर्को परीक्षा हो। परिस्थिति बदलिसक्यो। आज महाकाली हरहिसाबले समर्थ छन्। उनीसँग आठ जोडी सक्षम हातहरूको शक्ति छ। उनलाई सम्पूर्ण साहित्यप्रेमीको समर्थन छ। उनको अठोट चट्टानसरह बलियो छ। ‘ऋतम्भरा’ महाकाव्यको बाँकी केही सर्गका सानातिना व्यवस्थापनलाई महाकालीले कुशलताका साथ पूरा गर्ने नै छिन्।  

अर्की सखी काव्य पिताको पछि नलागी पिताको सन्देश बोकेर सम्पूर्ण नेपालीको हृदयमा बस्दैछिन्। पिताका राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका गीत गाउन सबैलाई प्रेरित गर्दैछिन्।

मैले गौरीलाई गौरी खण्डकाव्यबाट, महाकालीलाई गर्भैबाट, काव्यलाई बोल्न र पढ्न जान्ने भएबाट र पितालाई पहिलो जीवनको पहिलो सास लिँदाबाट चिनेँ। सत्य, प्रेम, विवाह, कर्म, जीवन र मृत्यु सबैमा सर्वश्रेष्ठ पिता मेरा। ‘मेटी कैल्यै पनि नमेटिने कृति अमर उनका’।

प्रकाशित: ३० श्रावण २०७८ ०१:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App