४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

इन्द्राख्यानको आयाम

आख्यानको आयु जीवनको लम्बाइमा निर्भर हुन्न रहेछ। चिन्तन र सिर्जनमा गतिशील केही विशिष्ट आख्यानकारले आधुनिक नेपाली जीवनका कथालाई महाख्यानमा पुर्‍याएका छन्। आधुनिक नेपाली साहित्यका दीर्घसेवीको गुणात्मक योगदानको गहन र सूक्ष्म अध्ययन, विश्लेषण र निरूपण हुन बाँकी नै छ, तापनि लेखनको यस सन्दर्भका नायक इन्द्रबहादुर राई यतिबेला नेपाली महाआख्यानका महानायक भएको पुष्टि ९० वर्षको आयु बाँचेर गएका उनका असंख्य पाठक, अनुसन्धाता समालोचक, समीक्षक र लेखकीय प्रवृत्तिका अनुयायीले गरिरहेकै छन्। उनी नरहेर पनि रहेको यस विस्तारित लेखकीय धरातलभित्र हालै देशपद राईद्वारा ८८८ पृष्ठको बृहत् स्मृतिग्रन्थ ‘इन्द्राख्यान स्मृतिविम्ब’ प्रकाशित भएको छ।  

सात खण्डमा विभाजित ग्रन्थमा आयामेली लेखन यात्राका एक सहयात्री चिन्तक/कवि वैरागी काइँलाले राईसँग गरेको ऐतिहासिक वार्ता र लेखक तथा सञ्चारकर्मी सेवा भट्टराईले लिएको राईको जीवनकालकै अन्तिम अन्तर्वार्ता पहिलो खण्डमा समाविष्ट महत्वपूर्ण सामग्री हुन्। यसरी नै दोस्रो खण्डमा राईकालका विशिष्ट चिन्तनका रूपमा रहेका तेस्रो आयाम र लीलालेखनजस्ता दुई दर्शनमा आधारित भई लेखिएका १६ वटा रचना प्रकाशित छन्। यसमा डा. अशोक थापाको ‘आयामेली राई र मेरो क्लासनोट’ शीर्षकको लेखले राईको मृत्युको खबरपश्चात् लेखक थापाका मनमा उठेका शोक तरङ्ग, आयामेली र लीला चिन्तनका विशिष्ट पक्ष र उनका आख्यानमा प्रयुक्त स्थानीयतामै ब्युँझाइएको विश्वदृष्टिलाई संस्मरणात्मक निबन्धका ढाँचामा प्रस्तुत गरिएको छ।  

५१ जना विद्वान् सहृदयीले लेखेका संस्मरणमा उनीप्रतिको यस्तै सम्मोहन छ, उनको सामीप्यको अतृप्तिसँगै उनी रहनुका बीच नरहनुले नेपाली साहित्य र साहित्य चिन्तनमा अनुभूत भएको शून्यताको अभिव्यक्ति यी संस्मरणमा छन्। यी सब खालीपनले उनको स्थान र स्थिति निर्धारण गरेको छ। नेपाली भाषा साहित्यको सघनतामा राईको मौलिक आयाम यस ग्रन्थमा प्रतिविम्बित भएको छ।

प्रा. कृष्ण गौतमले ‘लीलालेखनका इन्द्रबहादुर राई : नेपाली समीक्षाका रोलाँ बार्थ’ मा राईको लेखकीय दर्शनका तीन चरण पूर्वआयामेली, आयामेली र उत्तरआयामेली भनी उल्लेख गरी रोलाँ बार्थका आधुनिक, संरचनावादी र उत्तरसंरचनावादी चरणका आधारमा दुवैका गतिशीलताको साम्य देखाएका छन्। उनले आधुनिकता, स्वतन्त्रता र वस्तुताका सन्दर्भमा विश्लेषण गरी राई आधुनिकबाट उत्तरआधुनिकतिर र बार्थ संरचनाबाट उत्तरसंरचनातिर लागेको बताएका छन्। यो तुलनात्मक आलेख गौतमको उत्तरआधुनिक जिज्ञासाबाट साभार गरी प्रकाशित गरिएको हो। अधिकांश विद्वान्ले राईका साहित्य चिन्तनसम्बन्धी अवधारणाका केन्द्रमा रहेर मूलतः आयामेली र लीलाबोधका सन्दर्भमा उठेका जिज्ञासामाथि उनका जीवनकालमै लेखी कतिपय प्रकाशित भइसकेका आलेख छन्।  

स्मृति–ग्रन्थमा खण्ड तीन अन्तर्गत राईका सिर्जना र समालोचनाका विषयमा गरिएका अनुसन्धानपरक र सामान्य दुवैखाले समालोचना समेटिएका छन्। यस खण्डमा १८ वटा समालोचना सङ्ग्रहित छन्। राईको ‘आज रमिता छ’ उपन्यासमाथि गरिएका समालोचनाको सङ्ख्या धेरै भएका आधारमा हेर्दा उनका कथाको अध्ययन कम भएको पाइन्छ। राईमा समय र भोगाइसापेक्ष विकसित चिन्तनका पृष्ठभूमिमा सिर्जित तीन कथा सङ्ग्रह ‘विपना कतिपय’, ‘कथास्था’ र ‘कठपुतलीको मन’ भित्रका कथाको गहन अध्ययन र विश्लेषण हुनै बाँकी भएको तथ्य यो ग्रन्थमा संकलित समालोचनाका आधारमा पनि बोध हुन्छ। राईका आख्यानले समेटेका विषयगत सूक्ष्मताले नेपाली समाजका निम्न वर्गीय पात्रका विविध समस्यालाई विविध नवीन समालोचना पद्धतिका आधारमा अध्ययन र विश्लेषण गर्न सकिन्छ, पूर्वीय दर्शन सापेक्ष विश्लेषण गर्न सकिने परिवेश सापेक्ष विषयवस्तुको प्रस्तुतिले पनि उनका आख्यानको मूल्यवत्ता उच्च रहेको मान्न सकिने आधार यथेष्ट छन्।  

चौथो खण्डअन्तर्गत संस्मरण प्रस्तुत गरिएका छन्। उनलाई सम्झिने कारण यहाँ मृत्युपछिको अभिव्यञ्जना जस्तो भए पनि वास्तवमा इन्द्रबहादुर राईसँगका स्मृतिहरू जीवनका उज्याला विम्ब हुन् भन्ने प्रत्येक संस्मरणकर्ताको निष्कर्ष रहेको छ। उनको सानो काँटीको छरितो शरीर र निधारको उँधो रेखाको दुई कुनामा जडिएका स–साना आकर्षक आँखाभित्रको विस्तृत चेतनाको लहरले नेपाली साहित्यका पाठकलाई चहक र महक दुवै दिएको कथा महाआख्यानकै एक परिच्छेद भएर रहेको छ।  

लेखक अभि सुवेदीले ‘इन्द्र दाजुका बहुआयाम’मा उनका अन्तिम समयका बारेमा लेख्नुभएको छ, ‘इन्द्र दाजुको अवस्था एक ठूलो लेखकका अन्तिम दिनमा जस्तो हुन्छ, त्यस्तै थियो।’ इन्द्रबहादुर राई थिए पनि त्यस्तै र सोच्थे पनि त्यस्तै। जीवनको सम्पूर्ण उमेर बाँचिसक्दा जीवन उनलाई जम्मा एक दिन बाँचेको जस्तो लागेको प्रतिक्रिया दिएका थिए। उनको जीवन बचाइ र त्यस बचाइप्रतिको प्रतिक्रिया दिने चिन्तन र शैली वास्तवमै आश्चर्यपूर्ण थियो। सायद यही नै उनले लेख्न नभ्याएको एक लीला थियो ! ५१ जना विद्वान् सहृदयीले लेखेका संस्मरणमा उनीप्रतिको यस्तै सम्मोहन छ, उनको सामीप्यको अतृप्तिसँगै उनी रहनुका बीच नरहनुले नेपाली साहित्य र साहित्य चिन्तनमा अनुभूत भएको शून्यताको अभिव्यक्ति यी संस्मरणमा छन्। यी सब खालीपनले उनको स्थान र स्थिति निर्धारण गरेको छ। नेपाली भाषा साहित्यको सघनतामा राईको मौलिक आयाम यस ग्रन्थमा प्रतिविम्बित भएको छ।

पाँचौँ खण्डमा अंग्रेजी भाषामा लेखिएका चारवटा संस्मरण र समालोचनालाई संकलन गरिएको छ। छैटौँ खण्डमा आइबी राईका प्रतिनिधि सिर्जना शीर्षकमा उनका एक दर्जन रचना प्रस्तुत गरिएको छ। यहाँ जुन जुन आलेख र सिर्जना प्रस्तुत गरिएका छन्, ती आफैँमा महत्वपूर्ण आलेख हुँदै हुन्, तापनि तिनलाई मात्र राईका प्रतिनिधि सिर्जना भनेर सम्बोधन गर्दा राईका अन्य महत्वपूर्ण रचना र आलेख ओझेलमा परेको अनुभव हुन्छ। सातौँ खण्डलाई तस्वीराख्यान शीर्षक दिइएको छ। यसमा राईको दार्जिलिङमा अवस्थित घरदेखि परिवार हुँदै विभिन्न साहित्य र प्राज्ञिक सभा–समारोहका गरी ५४ वटा तस्बिर संकलन गरिएका छन्। यी तस्बिरमा इन्द्रबहादुर राईले लेख्न नभ्याएका धेरै कथा समाहित छन् भने सङ्गठित गर्न नभ्याएको उनकै जीवन उपन्यास अनुभूत हुन सक्छन्। 

वास्तवमा आख्यानमा जीवन खोज्नु र जीवनमा आख्यान खोज्नुका बीचको एउटा अन्तरालमा महाआख्यान बाँचेका राईको यो स्मृतिविम्ब समस्त उनका प्रिय सम्झनालाई बारबार जीवन्त बनाउने माध्यम हो। अन्यथा राई नेपाली जातिका गौरवमय इतिहास रहेर सदैव वर्तमानको निरन्तरतामा प्रवाहित भइरहनेछन्। १९८४ माघ १७ गते जन्मेर २०७४ फागुन २१ गते महाप्रस्थानमा निस्केका राईको स्मृति माघकै घामजस्तो न्यानो र फागुनकै आकाशजस्तो निर्मल रहनेछन्, किनकि उनको सम्पूर्णताको आयाम प्रकृतितिरै अभिप्रेरित भएको पाइन्छ।

प्रकाशित: २९ जेष्ठ २०७८ ०३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App