१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

सक्दिन म

कविता

सूर्यप्रसाद लाकोजू

 

उडिरहन सक्दिन म  

चराजस्तै आकाशमा  

म त धर्तीमा रमाउने मान्छे  

धरणी नै मेरो स्वर्ग।

 

असारसाउन  

आकाशबाट पृथिवीमा

झरी बनेर झरेजस्तै  

वर्षामा रूपान्तरित हुन म कहाँ सक्छु?

म आफू उभिएको  

जमिनलाई पुज्ने मान्छे  

म यस्को आराधना मात्र गर्न समर्थ छु  

वर्षाले जस्तै  

भिजाउने ल्याकत मसँग छैन  

झरीझैँ झर्ने सामथ्र्य पनि भएको होइन ।

 

दौडिरहन सक्दिन म

सूर्यको प्रकाशजस्तै  

म त माटाकै सेरोफेरो रहेर

सुस्तरी बहन सक्छु  

तर सक्दिन  

यो धरा छोडेर  

माथिमाथि आकाशमा  

उडिरहन कुनै चराजस्तै।

म त मान्छे हुँ  

पखेटाबिनाको मान्छे  

म  

भूगोलभरि छर्न सक्छु  

मेरा पाइलाहरू  

अनि  

स्नेहको बिउ सिंचन गर्दै

प्रीतिको फूलसम्म फुलाउनसक्छु ।

प्रकाशित: १५ चैत्र २०७७ ०८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App