१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

म उसलाई चिन्दिनँ !

लघुकथा

लक्ष्मीप्रसाद पौडेल  

 

हाम्रो उमेर सँगसँगै बढेको थियो । ऊ दुई कक्षामा पुग्दा पनि कखरा नजानेर मैले नै उसलाई दाहिने हातले समात्ने देब्रे हातले चिमोट्ने गरेर कक्षा उकालेको थिएँ। गरेको कुरा भन्न केको धक । एकपटक उसको बाबुले मार भकुर्दा परालको कुन्यूमा लगेर लुकाएको पनि हुँ ।

उसकी आमा  ठूलो बिरामी परिन् ।  

आमा सारो बिमारी भइन , लौ न सहयोग गर् । मेरो बा, दाइ पछिको तँ त होस्, आफ्नो भन्ने मान्छे । एउटो भएको दाइ शहर भासिएर आमा नचिन्ने भयो भन्दै आँखाभरिका आँसुले गुहार्दा मैले एक महिनाको तलब थपक्क उसका हातमा राखिदेको थिएँ । उसले त्यो फिर्ता गर्यो गरेन मैले सम्झिने कोसिस पनि गरिन । आमालाई दबाइमुलो गरेको पैसो न हो ।

ढल निकासको नालीमा मान्छे पल्टिएको थियो । रमिता हेर्ने र युटयुव ताक्नेको रमिता थियो ।  त्यहीँ  साल आमाले धर्ती छोडिन् । उसले चित्त बुझायो  तर अभावमा स्वास्नीले घर छोड्दा नराम्ररी गल्यो । पीर लुकाउन रक्सी खाँदाखाँदै उसलाई रक्सीले खान थालिसकेथ्यो । 

‘को हो चिन्नुहुन्छ ? ’ भीडले मेरो उपस्थितिलाई सोध्यो ।  

मैले भनें, ‘अहँ, चिन्दिन।’तर मैले मेरो अधिकृतको कोट फुकालेर उसलाई लगाईदिएँ । ऊ जाडोले कामिरहेको थियो । प्रहरीको सहयोगमा अस्पताल पुरयाए ।  

ऊ आजकल नालीमा पल्टेको भेटिदैंन । ऊ मदिरापसलमा  पनि देखिदैंन । मसँग पैसा माग्न पनि आउँदैन। उसले मलाई चिन्न छोडिसक्यो । म पनि उसलाई चिन्दिनँ । मान्छे देखिन छोडेपछि बिस्तारै हराउँदो रहेछ ।  

प्रकाशित: १३ आश्विन २०७७ ११:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App