७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

अचम्मलाग्दो पैसाको कथा

खेमराज पोखरेल

नानीबाबुहरू,

म आज तिमीहरूलाई पैसाको कथा सुनाउँछु ।  

कथा नं १.  

पैसाको पहिलो कथा मेरो हो । म करीब ९ वर्षको थिएँ। मैले आमाको काम सघाएको थिएँ । आमाले मलाई ५० पैसा दिनुभएको थियो । त्यो पैसा कमाउन मैले ३ घण्टा बारीमा काम गरेको थिएँ । त्यो पैसा मेरो थियो । म खुसी भएर उफ्रेको थिएँ । किन कित्यो मेरो कमाइ थियो । नत्र त मामाघरमा दिएको दक्षिणा पनि ‘यो फुच्चेलाई पैसाको के काम ?’ भनेर बुवाआमाले नै लिनुहुन्थ्यो । म मन लागेको ठाउँमा खर्च गर्न पाउँदैन थिएँ । आमाले पैसा दिएपछि स्कुल जाँदा खाजा खान पाइने भयो भनी रमाएको थिएँ । त्यो बेला मैले पढ्ने स्कुलको अगाडिपट्टि हलुवाइका दोकान थिए । मुरही, चना, केराउ, कचडी हालेर साँधेको खाजा पाइन्थ्यो । अमिलो, पिरो, नुनिलो स्वादिलो हुन्थ्यो । अहिलेको जस्तो चटपटेको चलन थिएन । त्यो पनि एकप्रकारको चटपटे नै थियो । त्यसको नाम ‘जलखइ’ थियो । अहिले सम्झँदा पनि मुख रसाउँछ ।

तर, मेरो खुसी धेरै बेरसम्म रहेन । मेरो हातमा पैसा देखेर बुवाले खोस्नुभएको थियो अनि बुवाले मलाई गाली गर्नुभएको थियो – अहिलेदेखि पैसाको लतमा लागिस् भने पछि गरिखालास् तोर्मे !

मलाई मात्र होइन आमालाई पनि बुवाले रिसाएर गाली गर्नुभएको थियो – यो चिचिलालाई पैसा दिएर बिगार्ने भइस् ।  

बिचरा आमाके बोल्नु चूपचाप बस्नुभएको थियो । मभने निराश भएको थिएँ । म त रुन थालेँछु । किनकि मेरो आफ्नो पैसा खोसिएको थियो । मलाई अन्याय भएको थियो । तर बुवाले त झन्डै कुट्नुभएको थियो । अनि म रुँदैरुँदै भागेको थिएँ । के गर्ने त्यो बेला केही भन्न पाइँदैनथ्यो ।  

कथा नं २.

पैसाको दोस्रो कथा एक जना अमेरिकी बच्चाको हो । धेरै वर्षपछि म अमेरिका पुगेँ । एउटा ठूलो दोकानमा काम गर्न थालेँ । दोकानमा एकजना हजुर्बाले नातिलाई लिएर आए । नाति पनि त्यस्तै ९÷१० वर्षको थियो । नाति लाइन लागेर उभियो र मैले काम गर्ने दोकानबाट उसलाई मन परेका खाने कुरा आफैँले किन्यो । आफैँले पैसा दियो । मैले सही पैसा लिएँ कि लिइनँ भनेर हिसाब हेर्यो । फिर्ता पैसा ठिक दिएँ  कि दिइनँ भनेर गन्यो । म त्यो बाठो केटो देखेर अचम्म भइरहेँ ।

उसका पछाडि एक जना वयस्क व्यक्ति थिए । उनले पनि आफूलाई चाहिएको सामान किनेका थिए । अनि मैले हजुरबालाई सोधेको थिएँ – यो बच्चो को हो ?

उनले जवाफ दिएका थिए – मेरो नाति ।

फेरि मैले अचम्म मान्दै सोधेको थिएँ – यत्रो बच्चालाई पैसा दिँदा ऊ बिग्रिँदैन ?

उसका हजुरबाले मलाई हाँसेर जवाफ दिएका थिए –उसले मलाई बारीमा काम सघाएकाले मैले उसलाई ज्याला दिएको हो । त्यो उसले कमाएको पैसा हो । आफूले कमाएको पैसा जेसुकै गरोस्, हामी अभिभावकले हस्तक्षेप गर्न हुन्न । उसले आफूले कमाएको पैसामा गर्व गर्न सक्नुपर्छ । सानैदेखि पैसा चिन्ने, पैसाको महत्त्व बुझ्ने र पैसा कमाउन कति गाह्रो हुन्छ भन्ने कुरा बच्चाबच्चीलाई बुझाउनुपर्छ  नि । यसले गर्दा उसमा निर्णय क्षमता पनि बढ्छ । संचित गर्ने क्षमता पनि हुन्छ । अनि पो भोलिपर्सि गरेर खान सक्छ त ।

उनीहरू त गइहाले । मैले भने उनीहरू गएको बाटो परसम्म हेरिरहेँ । किनभने मेरो दिमागमा मेरो बाल्यकालको ५० पैसा खोसिएको घटनाको सम्झना भने आइरहेथ्यो ।  

कथा नं ३.

पैसाको तेस्रो कथा मेरी नातिनीको हो । तिमीहरूलाई थाहा छ, कि म अचेल अमेरिकामा बस्छु । मेरा नातिनी छन् । मेरी जेठी नातिनी ४ वर्षकी एनिजाले आफ्नो बुवासँग बसेर मोबाइलबाट पिजा मगाइन् । त्यो पिजामा टपिङ केके हाल्ने, केके नहाल्ने भन्ने कुरा उनले नै निर्णय गरेकी थिइन् ।

अनलाइन मगाएको पिजा आएको थियो । त्यो पिजा लार्ज साइजको थियो । परिवारले नै त्यो पिजा खानुपर्ने थियो । पिजा आएपछि उनले एउटा स्लाइस पिजा मलाई दिँदै भनिन् –  

हजुरबा, यो पिजाको पैसा दिनुस् । पैसा नभै खानेकुरा खान पाइँदैन । तपाईँलाई थाहा छ ? पैसा कमाउन काम गर्नुपर्छ ।  

अनि मैले हाँसेर ‘पैसा छैन, अब म के गरूँ, म भोकै छु, प्लिज एउटा पिजा देऊन’ भनेँ । अनि उनी जुरुक्क उठेर गइन् र आफ्नो ब्यागबाट एक डलर झिकेर ल्याएर मलाई दिइन् । मैले त्यो एक डलरमा उनीसँग पिजा किनें र हाँसीहाँसी खान थालेँ । अनि उनले फेरि भनिन् – यो पैसा सापट हो, पछि कमाएर तिर्नु नि ।

नानीबाबुहरू,

यी तीनवटा विभिन्न परिवेशका पैसाका कथा हुन् । पढ्यौ होला । तर म त सोचिरहेको छु कि, पैसाको कुरा कुन ठिक होला । कुन बेठिक होला । तिमीहरू पनि विचार गर है पैसाको कथाको कुरा कुन ठिक हो । आफ्ना बाबुआमा तथा शिक्षकलाई यो पैसाको कथा सुनाइदेऊ है ।  

तिमीहरूलाई माया गर्ने  

अमेरिकाको हजुर्बा

प्रकाशित: २ आश्विन २०७७ ०६:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App