१७ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

‘जोकरजस्तो देखिने सेल्फी किङको कथा फरक छ’

काठमाडौं – अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘सेल्फी किङ’ को ट्रेलरमा एउटा संवाद छ, ‘स्टाडम, सेलिब्रेटी र फिल्म भन्ने कुरा मूतको न्यानोजस्तो मात्र हो।’ सेलिब्रेटीको जीवनमा आधारित रहेको मानिएको यो संवादले उनीहरूको तीतो यथार्थ उजागर गरिदिएको छ। फिल्म रिलिजको चटारोमा रहेका अभिनेता विपीन सो संवादमा भनेझैं शैलीको जीवनमा विश्वास भने गर्दैनन्। ‘म काममा विश्वास गर्छु,’ उनी भन्छन्, ‘रंगमञ्चबाट सिकेको अभिनयलाई फिल्ममार्फत उत्कृष्ट शैलीमा प्रस्तुत गर्न केन्द्रित छु।’

हलिउड फिल्म ‘जोकर’मा देखिएका अभिनेता ज्याकिन फिनिक्सको लुक्सलाई कपी गरेको आरोप खेपिरहेको यस फिल्मको कथावस्तु भिन्न भएको उनी दाबी गर्छन्। ‘फिल्मको स्क्रिप्ट पढ्दा मेरो दिमागमा चंखे पात्र आएको थियो। तर संसारभर उस्तै खालको कलाकारको लुक्स र हाउभाउ एउटै हुन सक्छ,’ विपिन भन्छन्, ‘हरेक कलाकारको अनुभव भने फरक हुन्छ।’ सेल्फी किङमा चंखेको भूमिकामा देखिनुपर्दा सोहीअनुसारको मेकअप ‘जोकर’सँग मिल्न गएको उनी स्विकार्छन्। ‘जोकरको मेकअप र कपडा संसारभर उस्तै हुन्छ,’ उनी भन्छन्, ‘दर्शकलाई जबर्जस्ती हँसाउन लागिपरेको पात्रको मेकअप र कपडालाई व्यंग्यात्मक रूपमा फिल्ममा प्रस्तुत गर्दै उनको पीडा देखाइएको छ।’

टेलिभिजनमा ‘सेल्फी किङ’ का नामबाट चर्चा कमाएका हास्य कलाकार गोपाल दाहालको भूमिकामा देखिएका उनी यस फिल्मलाई यात्रा संस्मरण भन्न रुचाउँछन्। ‘हास्य कलाकारको तीनदिने यात्रामाथि फिल्म केन्द्रित छ,’ उनी भन्छन्, ‘टेलिभिजनमा परिचित सेल्फी किङको पारिवारिक र व्यावसायिक सम्बन्धमा आउने द्वन्द्व फिल्ममा समेटिएको छ।’ पछिल्लो समय हास्य विधाका फिल्महरूले चर्चा पाइरहेका बेला निर्मित ‘सेल्फी किङ’ ले बाबु र छोराको भावनात्मक पाटोलाई महत्व दिएको छ। नेपाली फिल्म ‘छड्के’ को बिन्दु, ‘पशुपति प्रसाद’ को भष्मे डनजस्ता पात्रमा देखिइसकेका अभिनेता कार्की सेल्फी किङको भूमिका पनि यादगार रहने बताउँछन्। ‘विभिन्न फिल्ममा फरक खालका भूमिकामा देखिए पनि सन्तुष्ट हुने अवस्था छैन,’ उनी भन्छन्, ‘कलाकारको भूमिकालाई फिल्ममा उतार्ने प्रयास गरेको छु।’

आगामी माघ २४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म सेल्फी किङलाई विशाल सापकोटाले निर्देशन गरेका हुन्। नेपाली फिल्म निर्देशनमा उनी नयाँ भए पनि अभिनेता कार्की उनको काम गर्ने शैलीबाट प्रभावित भएका छन्। ‘डेब्यु निर्देशकसँग काम गरिरहेको महसुस भएन,’ उनी भन्छन्, ‘फेरि पनि उनीसँग काम गर्ने रहर छ।’ अधिकांश निर्देशकले अभिनयका मामिलामा स्वतन्त्र रूपमा काम दिने अनुभव उनले गरेका छन्। ‘फिल्मको स्क्रिप्ट बिगारेर स्वतन्त्र रूपमा काम गर्नुहुन्न। राम्रो फिल्म बनाउन कलाकारको भूमिका उत्तिकै महत्वपूर्ण हुने भएकाले आफ्नो अनुभव सुनाउने गर्छु,’ उनी भन्छन्, ‘फिल्म राम्रो हुन टिम आवश्यक पर्छ। अधिकांश निर्देशकले मेरो कुरा बुझेर स्वतन्त्र रूपमा काम गर्न दिन्छन्।’

हालै ‘के घर के डेरा’ फिल्ममा आबद्ध उनी तत्काल फिल्म निर्देशन गर्ने योजनामा नरहेको बताउँछन्। ‘फिल्म निर्देशक भनेको ठूलो जिम्मेवारी हो। आफ्नो अभिनय तिखार्न लागिपरेको छु। एकपछि अर्को फिल्ममा समय दिन समेत फुर्सद पाइरहेको छैन,’ उनी सुनाउँछन्, ‘फिल्म निर्देशक हुने रहर पलाएको छैन।’ पछिल्लो समय वास्तविकतामा आधारित फिल्महरू बनिरहेको सन्दर्भमा रंगमञ्चबाट आएका कलाकारले फिल्ममा अभिनय गर्ने शैलीलाई परिमार्जित गरिदिएको दाबी उनले गरेका छन्। ‘नेपाली फिल्मको ट्रेन्ड परिवर्तन भएसँगै रंगमञ्चमार्फत फिल्ममा प्रवेश गरेका कलाकारले अभिनय शैलीलाई परिमार्जित गरिरहेका छन्,’ उनले भने।

प्रकाशित: २२ माघ २०७६ ०३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App