१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

साैराहमा प्रेम दिवसमा फुड फेस्टिभल

१३ औं सौराहा फुड फेस्टिभल आयोजनाका लागि पुर्वाधार तयार गरिँदै। तस्विरः सविता/नागरिक

चितवन - चितवनको पर्यटकीय नगरी सौराहामा भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसरमा १३ औं फुड फेस्टिभल हुने भएको छ। विगत १३ वर्षदेखि रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल(रेवान( सौराहा चितवनले आयोजना गर्दै आएको फेस्टिभल यसपटक फागुन २ गतेको भ्यालेन्टाइनको मौका छोप्दै माघ २८ गतेदेखि फागुन ३ गतेसम्म पाँच दिवसिय फेस्टिभल हुन लागेको हो।

फेस्टिभलका संयोजक ध्रुव गिरीले फेस्टिभलको तयारी सुरु भैसकेको बताए। उनका अनुसार सौराहाको सिसुवा चौरमा आयोजना गर्न लागिएको फेष्टिभलका लागि पुर्वाधार निर्माणको काम भइरहेको छ। उनले फेष्टिभलमा यस वर्षदेखि प्लास्टिक कम प्रयोग गर्ने अभियानको थालनीसमेत गरिएको बताए। ‘कार्यक्रममा प्रयोग गरिने ब्यानर लगायतका स्वागत लेखिएका तुल हस्तलेखनकै हुनेछन्। आउने पाँच वर्षमा फेष्टिभलमा प्लास्टिकको प्रयोग शुन्य बनाउने छौं’, उनले भने, ‘प्राकृतिक सौन्दर्यता नै सौराहाको विशेषता भएकाले संरक्षणलाई प्रभावकारी बनाउन र वातावरण स्वच्छ राख्न प्लास्टिक कम प्रयोग अभियानको थालनी गरिएको हो।’

यस पटकको फेस्टिभलमा थारु जातिको परम्परागत घर पनि बनाइँदैछ। यसले थारु जातिको संस्कृतिको बारेमा जानकारी दिने आयोजकको बुझाई छ। फेष्टिभलमा ४० वटा खानाका र ५ वटा प्रदशर्नीको स्टल राखिने संयोजक गिरीले जानकारी दिए। विभिन्न जातजातिको परम्परागत र प्रचलित खानाका परिकारहरू राखिने भएकाले जातीय भेषभुषामा सजिएर परिकारहरू पस्किने शैली यस पटकको फेस्टिभलमा अपनाइँदैछ।

फेस्टिभलमा प्रेमपत्र लेखन, सौराहामा रहेका रेष्टुरेन्टका वेटरबीच दौड, ९ वर्ष मुनिका बालबालिकाबीच बेलुन फुटाउने, उत्कृष्ट खाना, घैला रंगाउने प्रतियोगिता गरिनेछ।

फेस्टिभलमा प्रेमपत्र लेखन, सौराहामा रहेका रेष्टुरेन्टका वेटरबीच दौड, ९ वर्ष मुनिका बालबालिकाबीच बेलुन फुटाउने, उत्कृष्ट खाना, घैला रंगाउने प्रतियोगिता गरिनेछ। रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले नगरस्तरीय भलिबल प्रतियोगिता पनि गरिने बताए। तरकारीहरूलाई आकर्षत तरिकाले प्रस्तुत गर्ने ‘भेजिटेबल कार्भिङ’ प्रतियोगिता पनि फेस्टिभलको आकर्षण हुनेछ।

फेस्टिभलमा प्रणय दिवसबाहेकका दिनमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। प्रणय दिवसको दिनका लागि भने एक सय रुपैयाँको टिकट राखिएको छ। कार्यक्रम अवधिभर सौराहाका रेष्टुरेन्ट र होटलमा अनलाइन बुकिङमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। फेस्टिभलमा करिब २ करोड रुपैयाँको कारोवार हुने अपेक्षा गरिएको गिरीले खुलाए। फेस्टिभलमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको दैनिक प्रस्तुति पनि रहने छ।

कार्यक्रमस्थलबाट राप्तीको ड्याकसम्म हरेक दिन बेलुकी विभिन्न जातजातिको झाँकीसहितको प्रस्तुति हुनेछ। फेष्टिभल बिहान १० बजेबाट बेलुकी १० बजेसम्म चल्नेछ। टिकटबाट उठेको रकम सामाजिक कार्यमा खर्च गरिने अध्यक्ष गिरीले बताए। टिकटबाट हुने आम्दानीको २५ प्रतिशत खेलमैदान व्यवस्थापनका लागि, ५ प्रतिशत सरसफाईका लागि र १० प्रतिशत रकम विपन्न बालबालिकालाई विद्यालय पठाउन सहयोग गर्ने शैक्षिक कोषमा राखिने फेस्टिभलका संयोजक गिरीले जनाए।

प्रकाशित: २० माघ २०७५ ०४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App