१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

‘हरर होइन रामकाहानी’

काठमाडौं – ९ वर्ष अघि निर्देशक सुदर्शन थापाले फिल्म ‘मेरो एउटा साथी छ’मा डेब्यु गर्दा कलाकार विल्सनविक्रम राईले इलाममा सुटिङको जिम्मा लिएका थिए। सुटिङका क्रममा विल्सनलाई सुदर्शनले आफ्नो फिल्ममा अभिनय गराउने आश्वासन पनि दिएका थिए। सुदर्शनको आश्वासन कार्यान्वयन हुन विल्सनले ९ वर्ष नै कुर्नुपर्याे।

सुदर्शन निर्देशित नवौं फिल्म ‘रामकहानी’को ट्रेलर सार्वजनिक कार्यक्रममा बिहीबार विल्सन ‘मेरो एउटा साथी छ’को दिनमा फर्किए। ‘त्यो बेला मैले प्रोडक्सन कोअर्डिनेटरको भूमिका निर्वाह गरेको थिएँ। इलाममा सुटिङ हुँदा मलाई उहाँले अर्को एक जना रुम पार्टनर दिनु भएको थियो जो आजभोलि दयाहाङ राईको रुपमा प्रख्यात हुनुहुन्छ। एक दिन तिमीलाई लिएर फिल्म बनाउँछु भन्नु भएको थियो। त्यो अवसर रामकहानीमा जुर्यो,’उनले भने। 

फिल्मको ट्रेलरमा नायिका पुजा शर्मालाई तर्साउने चरित्रमा देखाइएको छ। निर्देशक सुदर्शनले ट्रेलर हेर्दा भूतको फिल्म जस्तो लागे पनि फिल्म प्रेमकथा नै रहेको बताए। ‘ट्रेलर हेर्दा तर्साउने फिल्म लाग्छ। तर यसलाई हरर फिल्म भनेर नबुझिदिन आग्रह गर्दछु,’उनले भने,‘फिल्ममा कमेडी, सस्पेन्स, प्रेम सबै फर्मुला छन्।’

नायिका पूजाले फिल्मको स्क्रिप्ट लेख्दा खेरी नै आफ्नो चरित्रबारे सचेत रहेको बताइन्। ‘ट्रेलरमा मलाई भूत देखाइएको छ। तर म भूत हो या होइन् भन्ने कुरा थाहा पाउन फिल्म नै हेर्नुपर्छ,’उनले भनिन्,‘ट्रेलरमा देखिए जस्तो भूतको लुक्समा देखिनका लागि स्क्रिप्ट पढ्दैदेखि मानसिक रुपमा तयार थिएँ।’

नायक आकाश श्रेष्ठले एउटा राम्रो टिमसँग काम गर्न पाउँदा खुशी लागेको बताए। ‘मलाई यो फिल्मबाट धेरै आशा छ। दर्शकले मेरो चरित्र रुचाउनु हुनेछ भन्नेमा म विश्वस्त छु।’ उनले भने।

कलाकार केदार घिमिरेले सौहार्दपूर्ण वातावरणमा काम गरेको बताए। ‘मैले फिल्ममा राम्रो काम मात्र गरिन्। सुटिङ सकिएपछि एउटा खसी पनि ढालें ’ केदारले हाँस्दै भने। अर्का कलाकार जितु नेपालले फिल्मको नाम ‘रामकहानी’ भए पनि केदारका लागि ‘दाम कहानी’ भएको भन्दै ठट्टा गरे। यो फिल्मबाट केदारलाई १० लाख पारिश्रमिक लिएका थिए।

कार्यक्रममा कलाकार राजाराम पौडेलले आफूले पछिल्लो दिनमा सुदर्शनले निर्देशन गरेका सबै फिल्ममा अभिनय गरेको जनाउँदै प्रेमकथाका फिल्म बनाउन सुदर्शन उपयुक्त निर्देशक रहेको बताए। कलाकार रविन्द्र झाले फिल्मको सुटिङभन्दा सुटिङ बाहिर बढी रमाइलो गरेको बताए।

सुदर्शन र पुजा निर्माता रहेको फिल्ममा वनिश शाह र मिलन श्रेष्ठको सम्पादन, दिनेश न्यौपाने र महेश दवाडीको पटकथा तथा संवाद, सौरभ लामाको छायांकन, अर्जुन पोखरेलको संगीत छ। फिल्म भदौ २२ गतेबाट रिलिज हुँदैछ।

 

प्रकाशित: २० श्रावण २०७५ ०५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App