१) गीत
म एक्लै बाँच्न चाहने मान्छे, साथ लिएर बाँच्न सिकायौ।
म एक्लै हिंड्न सक्ने मान्छे, सहारा दिएर हिंड्न सिकायौ।
मलाई कस्तो माया दिएको, मुटु छियाछिया पारी छोडयौ।
मलाई कस्तो खुसी दिएको, मन बहिकिने गरी छोडयौ।
२) गीत
म माया गर्न नजान्ने मान्छे, मुटु जोडेर माया गर्न सिकायौ।
म आँखा हेर्न नजान्ने मान्छे, आँखा कर्काएर हेर्न सिकायौ।
मेरो आँखाको आँसुलाई तिमीले, सबैसबै रित्याइदियौ।
मेरो जिन्दगीको लक्ष्यलाई तिमीले, सबैसबै लत्याइसक्यौ।
३) गीत
यो मनको खहरे उर्लेर गयो अर्काको आँगनमा।
परन्तुसम्म बदनामी भयो यो मेरो जीवनमा।।
सम्हाल्न खोज्छु आफ्नो कथा, कोही आई पोख्दछ।
बढाउन खोज्छु आफ्नो पाइला, कोही आई रोक्दछ।।
चाहना सधैं बढी नै रहन्छ, कसैको साथ नपाउँदा।
जिन्दगी सधैं बगी नै रहन्छ, कसैको याद नआउँदा।।
गाह्राे मान्छ्यौ सधैं तिमी, बजार आउनलाई।
तिम्रो घरमा आउँथे म त, गाह्रो लाग्छ धाउनलाई।
४) गीत
मनभित्र फूल फूल्यो माया झल्काएर।
आँखाभित्र तृष्णा फुट्यो आँसु छल्काएर।
फोरिन्छ्न् चाहनाहरू हृदयभित्र, अतीतलाई घचेटेर।
कोरिन्छ्न् विश्वासहरू उनीभित्र, पत्थरलाई चिमोटेर।
देखिसकें दिनरात यहाँ सबै मैले, अधिर भई बसिदिँदा।
भोगिसकेँ मिलनबिछोड सबै मैले,आफ्नो भई बाँचिदिँदा।
५) गीत
कति मिठो दुख्छ मेरो जिन्दगी, औषधिले केही काम गर्दैन।
कति राम्रो लाग्छ तिम्रो नाम, समयले अर्को नाम फेर्दैन।
फूल जस्तै मनपर्छ जोवन तिम्रो, स्पर्शमा कोमल लाग्ने।
रङ्गको तरेलीमा जीवन हाम्रो, संयोगमा आफ्नै लाग्ने ।।
तिम्रोबारे सुनिरहँदा, व्यथा आफ्नै जस्तो लाग्ने।
आफ्नोबारे भनिरहँदा, वसन्त चैं पालुवा फेर्ने।।
६) गीत
एउटा खामभित्रको खाली कागज, तिमीले भरिदेउ।
एउटा कात्रोभित्रको लास हुँ म, तिमीले नै बेरिदेउ।
सबै दोषहरू मलाई देउ बरु, निर्दोषी तिमी बन।
गाउँघरमा विश्वास दिलाई, मलाई नै फटाहा भन।
सम्झिरहन्छु अधर त्यो तिम्रो, म टाढा रहेर पनि।
बदलिएनौ कहिले तिमी, भगवान् भै बाँचे पनि।
उमेर मेरो लिएर बाँच बरु, म त त्यसै मरिहालें।
खुसी मेरो लिएर हाँस न, म त भुइँमा झरिहालें।
- एनबी दाहाल
(म भित्रका गीतहरू गीतसंग्रहमा सङ्गृहीत।)
प्रकाशित: २२ फाल्गुन २०८१ १३:२६ बिहीबार