२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सबीले ल्याइन् अपरिभाषित आभा

चङ्गा थियौ तिमी तिम्रो रहर आकाश थियो,

कोही जाला पहिले मन तिम्रो हतास थियो।

लटाईलाई माया मारी धागो चुँडी गयौ तिमी,

भुल्यौ तिम्रो प्रतिद्वन्दी त्यही बहने बतास थियो।

दुई दशक अघिदेखि मुक्तक साधनामा लागेकी सबी श्रेष्ठले शनिबार काठमाडौंमा अपरिभाषित आभा ल्याएकी छन्। आवरण प्रकाशनले प्रकाशित गरेको यो मुक्तक कृति पकेट साइजको सचित्र पूरै मल्टिकलरमा छापिएको छ। पुस्तकमा १०१ मुक्तक समेटिएका छन्।

बेलायत हुँदै पोर्चुगल पुगेकी मुक्तककार श्रेष्ठले घरदेश आएको मौका छोपी सो कृति प्रकाशन गरेकी हुन्।

लोकार्पण समारोहकी प्रमुख अतिथि वरिष्ठ मुक्तककार उषा शेरचन लगायत मञ्चाशीन अतिथिहरूले कृति लोकार्पण गरेका थिए। प्रमुख अतिथि शेरचनले अहिले साहित्यमा नेपाली नारी स्रष्टाको उत्साहवर्द्धक उपस्थिति रहेको बताउँदै कृतिकारलाई बधाई दिइन्। उक्त अवसरमा शेरचनले कृतिकार श्रेष्ठलाई नेपाली मुक्तकलाई विश्वव्यापीकरण गर्नमा योगदान दिएको भन्दै सम्मानपत्र प्रदान गरिन्।

आवरण प्रकाशनका प्रबन्ध निर्देशक कवि कलाकार रमेश पौडेलले प्रकाशनमा नयाँ आयाम दिंदै प्रकाशनलाई प्राज्ञिक संस्थाको रूपमा विकास गर्दै लैजाने जानकारी दिंदै प्रमुख अतिथिकै मुहार चित्र मायाको चिनो प्रदान गरेका थिए।

समारोहका विशेष अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले नेपाली मुक्तकको लोपप्रियता विश्वव्यापी बन्दै गएको बताए।

मुक्तककार सुनिल अधिकारीले पकेट साइजको लोकार्पित कृति निकै आकर्षक रहेको दाबी गरे।

कृतिका समीक्षकद्वय डा. रमेश शुभेच्छु र भारती न्यौपानेले मुक्तककार श्रेष्ठले भावुक मनका चोटिला अभिव्यक्ति चतुष्पदीय शैलीमा प्रस्तुत गरेको बताए।

कृतिकार सबी श्रेष्ठले आफ्नो २ दशकको मुक्तक साधनाले मूर्त रूप लिएको बताउँदै अतिथि सबैलाई मायाको चिनो प्रदान गरेकी थिइन्।

मुक्तककार सीता रिजालको सूत्रधारीमा सञ्चालित समारोहमा लोकार्पित कृतिबाट मुक्तककारहरू कल्पना काफ्ले, मीना चौलागाईं र सन्तोष अम्गाईंले मुक्तक वाचन गरेका थिए। 

प्रकाशित: १० वैशाख २०८१ ०९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App