“भेडाहरू जस्तो भएर पार्टीका नेताको पछि लाग्नु मूर्खता हो भनेर फेसबुकमा लेख्दा ज्यान मार्ने धम्की दिए। व्यक्तिगत फाइदाका लागि पार्टीको नेताका पाउ मोल्नु भनेको दास हुनु हो भन्दा मुड्की उज्याए। सर्वत्र भ्रष्टाचार भइरहेको छ त्यसलाई नदेखे जस्तो गर्नु अन्धो हुनु हो भन्दा मलाई घोक्रयाए। भोका, गरिब र न्याय नपाएकाहरूले सहयोग मागिरहेका छन्, तिनको गुहार नसुने जस्तो गर्नु भनेको बहिरा हुनु हो भन्दा कानको जाली फुट्ने गरी हिर्काए। प्रदेश र केन्द्रका सांसद्, मन्त्री, सभामुख आदि नामका सेता हात्तीलाई पाल्न हामीले तिरेको करको रकम जान्छ भन्दा मलाई भाटे कारबाही गरे। यसरी मेरो ज्यान खतरामा परेकाले भागेर तपाईकाे देशमा शरण मागेको हुँ। शरण पाऊँ सर।” दुवै हात माथि उठाएर मैले शरण मागेँ।
“ज्यानको सुरक्षा चाहिए आफ्नै देशको प्रहरीसँग माग्नुपर्थ्याे। यहाँ किन आउनुभयो?” शरणार्थी हेर्ने अधिकारीले मलाई सोधे।
“जसले मेरो ज्यान लिन लागेका थिए, प्रहरीहरू तिनैका कुरा सुन्न विवश छन्। त्यहाँ ज्यान सुरक्षा हुँदैन सर।” मैले भनेँ।
“अदालतमा गएर किन उजुरी हाल्नुभएन?” शरणार्थी हेर्ने अधिकारीले अर्को प्रश्न गरे।
“राजनीतिक पार्टीका कार्यकर्ताहरू अदालतमा न्यायाधीशका रूपमा नियुक्त भएका छन्। तिनले पार्टीको आदेश र स्वार्थबमोजिम मुद्दाको छिनोफानो गर्छन्।” मैले भनेँ।
“कुन देशबाट आउनुभएको तपाई?” शरणार्थी अधिकारीले केरकार गरे।
मातृभूमिको कसरी बेइज्जत गरूँ? आफ्नो देशको नाम भनौं कि नभनौं हुँदै थियो मनमा।
“कुन देशबाट आएको हुँ भन्ने कुरा बिर्सेँ, सर।” मैले अकमकिंदै जवाफ दिएँ।
“त्यसो भए केही समय तपाईले मानसिक अस्पतालमा बस्नुपर्ने छ। सन्चो भएर स्मरण हुन थालेपछि तपाईको अर्को अन्तर्वार्ता हुने छ।” शरणार्थी हेर्ने अधिकारीले भने।
देशको हालत देखेर खराब नभएको मेरो मानसिक स्वास्थ्य शरण मागेको दिनदेखि झनै बिग्रन थाल्यो।
मानसिक अस्पतालमै आत्महत्या गरेको व्यक्तिको सिरानीमुनि उल्लिखित विवरण लेखिएको कागज प्रहरीले फेला पारे ।
प्रकाशित: ९ वैशाख २०८१ ०९:५० आइतबार