६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

चुलोको धुवाँबाट छुटकारा

सिन्धुलीकी सुकमाया कुसुवार आफूले बनाएको सुधारिएको चुलो देखाउँदै । सबै तस्बिर : सिआरटिएन

पुसको न्यानो घाम उनको घरमा झुल्किँदै गर्दा सुकमायाले बिहानको दैनिकी हतपत सकिन् । पहिलेजस्तो खाना पकाउन घन्टौँ लाग्दैन । दाउराबाट निस्कने धुवाँले आँखा रसाउँदै काम गर्नुपर्दैन । घामका किरण ढोकाबाट भित्र छिर्नैै लाग्दा सिन्धुलीकी सुकमाया कुसुवार घरबाहिर निस्किन्।

‘पल्लो गाउँमा आज एउटा चुलो बनाउन जान लागेकी,’ उनले भनिन् । उनले दुई वर्षदेखि सुरु गरेको नयाँ पेसा हो, सुधारिएको चुलो निर्माण । घरको काम सकेर गाउँमा नयाँ चुलो निर्माण अभियानमा छन्, उनी। 
सीप र समय धेरै लागे पनि आफ्नै गाउँठाउँको नयाँ अभियान सम्झेर एउटा चुलो बनाएको पाँच सय रुपैयाँ मात्र लिन्छिन् सुकमाया । उनले अहिलेसम्म एक सय ५० भन्दा धेरै चुलो बनाइसकिन् । ‘बालबच्चा साना छन्, यिनको स्याहार पनि गर्नुप-यो,’ सुकमाया भन्छिन्, ‘दिउँसो फुर्सदमा चुलो बनाउन जान्छु ।’ 

‘सेन्टर फर रुलर टेक्नोलोजी नेपाल (सिआरटिएन)’ले आफ्नै गाउँमा सञ्चालन गरेको तालिमबाट उनले सुधाएिको चुलो बनाउन सिकेकी हुन् । उनी जस्तै सिन्धुलीका कैयौँ महिला चुलो बनाउने पेसामा छन्। 

सिन्धुली, धादिङ लगायत जिल्लामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहकार्यमा चुलो निर्माण विज्ञका रूपमा काम गरेका नवराज सञ्जेलका अनुसार दुई वर्षको अवधिमा २५ भन्दा धेरै महिला चुलो निर्माता बनिसकेका छन् । उनीहरूमार्फत झन्डै ३५ हजार सुधारिएका चुलो निर्माण र बिक्री भइसकेका छन्।

यिनै सफल उद्यमीमध्ये कि निरु श्रेष्ठले अमेरिकाबाट प्रदान गरिने अन्तर्राष्ट्रिय स्तरको ‘इनर्जिया वुमेन इन्टरप्रेनरसिप अवार्ड– २०१७’ पनि पाइन् । उनले एक करोड २७ लाख रुपैयाँ बराबरका ६ हजारभन्दा धेरै चुलो बिक्री गरिसकेकी छन् । श्रेष्ठले जिल्लामा एक सय पाँचजना महिलाको सञ्जाल बनाउँदै कैयौँ महिलालाई रोजगारी समेत दिँदै आएकी छन् । 
चुलो बनाउने पेसामार्फत उनीहरूले ग्रामीण महिलाले वर्षौंदेखि भोग्दै आएको स्वास्थ्य र अन्य समस्यालाई केही हदसम्म भए पनि समाधान गरिदिएका छन् । उनीहरू सुधारिएको चुलो प्रयोगबाट हुने फाइदा समेत जानकारी गराउँछन् । ‘आफैँ गएर यसका फाइदाबारे बुझाएपछि मात्र नयाँ चुलो बनाउन तयार हुन्छन्,’ सुकमायाले सुनाइन्, ‘गाउँघरमा पुरानो चलनबाट नयाँमा आउन धेरै बुझाउनुपर्छ ।’ उनीहरूले दिएका जनकारी र छिमेकीको सिको गर्दै एकपछि अर्को परिवारले सुधारिएको चुलो प्रयोग गर्न थालेका छन्।

सुधारिएको चुलो पाएपछि कपिलवस्तुका स्थानीय । 

विकसित मुलुकमा खाना पकाउने अत्याधुनिक विद्युतीय पद्धति प्रयोग भइसक्दा नेपालमा भने अझै पनि दाउरा प्रयोग भइरहेको छ । उज्यालोका लागि टुकीमै निर्भर हुनुपरेको छ । राष्ट्रिय जनगणना ०६८ को तथ्यांकअनुसार ५४ लाख घर–परिवारमध्ये ४० लाख घर–परिवारमा अझै खाना पकाउने इन्धनका रूपमा दाउरा, गुइँठालगायत परम्परागत जैविक ऊर्जाको प्रयोग हुँदै आएको छ । आर्थिक वर्ष २०७३/०७४ को आर्थिक सर्वेक्षणअनुसार ७८.४ प्रतिशतले परम्परागत ऊर्जाको प्रयोग गर्छन्, जसमध्ये दाउराको प्रयोग गर्ने ७१.२ प्रतिशत, कृषि (छ्वाली, पराल जस्ता) ३.५ प्रतिशत र गुइँठा प्रयोग गर्ने ३.७ प्रतिशत छन् । जुन बाल्दा निस्कने धुवाँ मानव स्वास्थ्यका लागि अत्यधिक हानिकारक हुन्छ । 
धादिङको पात्लेस्थित खल्ते गाउँकी ७३ वर्षीया सोना गुरुङले आफ्नो जीवनको झन्डै आधाभन्दा धेरै समय भान्सामा निस्कने धुवाँमा बिताउनुप¥यो । यही कारण लामो समयसम्म दमको रोगी भइन् । ‘हामीलाई त यस्तै भयो,’ गुरुङले भनिन्, ‘हाम्रा छोराछोरीका लागि यस (सुधारिएको चुलो)ले धेरै फाइदा होला।’

विश्वस्वास्थ्य संगठनको तथ्यांकले त नेपालमा दाउरा प्रयोगबाट हुने असरको भयावह स्थिति देखाएको छ । संगठनको तथ्यांकअनुसार प्रत्येक वर्ष नेपालमा घरभित्रको धुवाँका कारण २२ हजार आठ सय ४१ व्यक्तिको मृत्यु हुने गरेको छ। जसमध्ये धेरै महिला र बालबालिका छन् । त्यसैगरी, बर्सेनि सात लाख ४६ हजार तीन सय ८१ जना बिरामी पर्छन्। 
आर्थिक सर्वेक्षण २०७३/०७४ को तथ्यांकले पनि मुलुकभर झन्डै ७४ लाख १० हजार नेपाली उज्यालोका लागि टुकी बत्तीमा निर्भर रहेको देखाउँछ । एक तथ्यांकअनुसार गरिब घर–परिवारले आफ्नो आम्दानीको २० प्रतिशत मट्टीतेल र मैनबत्तीमा खर्च गर्ने गर्छन्। 

धुलिखेल अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ सुमनराज ताम्राकारका अनुसार घरभित्रको धुवाँको असर महिलामा डरलाग्दो अवस्थामा छ । उनका अनुसार अस्पतालमा आउने बिरामीमध्ये ३५ देखि ४० प्रतिशत श्वासप्रश्वासका हुने गर्छन् । त्यसकारण घरभित्रको धुवाँ र धूमपान हो । जाडोमा यस्ता बिरामी अझ बढ्ने उनको अनुभव छ । ‘मध्यपश्चिम र सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली क्षेत्रमा यस्तो समस्या धेरै देखिएको छ,’ ताम्राकारले भने, ‘दोलखा, रामेछाप, सोलुखुम्बु, सिन्धुपाल्चोकको उत्तरी भेगबाट आउने बिरामीमा त्यस्तो समस्या बढी पाइएको छ।’

ताम्राकारका अनुसार लामो समय धुवाँमा बस्दा फोक्सोको शल्यक्रिया गर्नुपर्ने अवस्था आउँछ । यसलाई ‘सिओपिडी’ भनिन्छ । यसमा श्वास नलि साँघुरिँदै जान्छ । यो समस्या लामो समयसम्म रह्यो भने यसले मुटुलाई असर पार्न थाल्छ, जसलाई ‘कोर पुल्मोनरी’ भनिन्छ । यो भनेको फोक्सोका कारण मुटुमा पर्ने असर हो। 

धुवाँ र चिसोले महिलामा लामो समय खोकीले सताउने गर्छ । जीर्णखालको खोकीले कतिपय महिलाको पाठेघर खस्ने समस्या समेत हुने गरेको ताम्राकारको अनुभव छ । ‘दिनहुँ लामो खोकी लाग्दा पेटभित्रको चाप बढेर आङखस्नु एक सहायक तत्त्व हो,’ उनले भने, ‘लामो दूरीको बाटोमा दाउरा वा अन्य भारी बोक्दा पनि पाठेघर खस्ने समस्या आइरहन्छन् ।’ धुवाँ र धुलोका कारण गर्भवती महिलाको बच्चा तुहिने, बच्चा सानो जन्मने, कम तौलको जन्मने, चाँडो व्यथा लाग्ने समस्या पनि हुन सक्छ। 

यस्तै गम्भीर प्रकृतिको समस्याका कारण धुवाँरहित चुलो निर्माण अहिलेको प्रमुख आवश्यकता बनेको हो । यही समस्या समाधान गर्न भनेर सरकार र गैरसरकारी संस्थाको पहलमा मुलुकमा धुवाँरहित चुलो कार्यक्रम विभिन्न ठाउँमा सञ्चालनमा छन् । धुवाँरहित सुधारिएको चुलोको प्रयोगले उल्लेख्य मात्रमा धुवाँ घटाउन सकिने र यसले महिलाको स्वास्थ्यमा पनि नकारात्मक असर हुनबाट बच्न सकिने ताम्राकार बताउँछन्। 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले २०६५ र २०६६ मा गरेको अध्ययनमा सुधारिएको चुलोको प्रयोगले घरभित्रको वायु प्रदूषणको स्तर सरदर ६२ प्रतिशतले घटेको देखाएको थियो । अझ गुणस्तरको (टायर– २) सम्मको हुने हो भने त ८० प्रतिशतदेखि पूर्णरूपमा धुवाँमुक्त बनाउन सकिन्छ, भान्सालाई । साथै, यस्तो चुलोको प्रयोगले दाउरा खपत धेरै कम हुन्छ । सुधारिएको चुलोको प्रयोगले महिलामा हुने गम्भीर प्रकृतिका समस्याबाट छुट्कारा पाउन सहयोग गरेको ऊर्जा विशेषज्ञ इन्दिरा शाक्य बताउँछिन् । ‘सुधारिएको चुलो र सोलार जडानले खासगरी महिलालाई धेरै फाइदा पुगेको छ,’ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक नवराज ढकालले भने, ‘नीतिगत रूपमा पनि महिलामैत्री वैकल्पिक ऊर्जाको प्रयोगलाई जोड दिइएको छ।’ 

त्यसो त सरकारले यही वर्षसम्म ‘धुवाँरहित भान्सा’ बनाउने लक्ष्य राखेको थियो । लक्ष्य पूरा नहुने भएपछि यो लक्ष्यलाई सन् २०२२ सम्म सारिएको छ । ‘हाम्रो न्यूनतम उद्देश्य घरभित्रको प्रदूषणले कोही पनि मर्नु हुँदैन भन्ने हो,’ प्राक्टिकल एक्सनअन्तर्गत इनर्जी कार्यक्रमका प्रोजेक्ट म्यानेजर मीनविक्रम मल्लले नागरिकसँग भने । प्राक्टिकल एक्सनले ११ जिल्लामा कार्यक्रम सञ्चालन गर्दै सन् २०१९ सम्ममा ३५ हजार घरधुरीमा प्रदूषणरहित खाना पकाउने चुलो पु¥याउने लक्ष्य राखेको छ । हालसम्म १५ हजार घरधुरीमा पुगिसकेको उसको दाबी छ। 

सुधारिएको चुलोको प्रयोग गर्दै धुनखर्क, काभ्रेपलान्चोक जिल्लाका स्थानीयहरू । 

सरकारीतर्फबाट पनि अनुदानमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । कतिले सरकारको सिको गर्दै अनुदान दिएर चुलो निर्माण गरिरहेका छन् भने अरुले आ–आफ्नै प्रणालीमा काम गरिरहेका छन् । ‘चुलो निर्माणका लागि एकद्वार प्रणाली छैन,’ धादिङ, सिन्धुलीलगायत जिल्लामा चुलो निर्माण तथा तालिम विज्ञका रूपमा काम गरेका नवराज सञ्जेलले भने, ‘विभिन्न संस्थाको आ–आफ्नै मोडल हुँदा स्थानीयलाई बुझाउन गाह्रो पनि छ ।’ सिन्धुली, धादिङ, कैलाली लगायत जिल्लामा सुधारिएको चुलो निर्माण गर्न अपनाएको मोडालिटी अरुको भन्दा गाह्रो र सबैभन्दा सफल भएको दाबी सञ्जेलको छ। 

सरकार, संघ–संस्थाबीचको समस्या भनेको कुन चुलोको प्रवद्र्धन गर्ने भन्ने पनि हो । खाना पकाउने ऊर्जाका रूपमा विभिन्न विकल्प छन् । जस्तो कि सुधारिएको चुलो, भुसे चुलो, फलामे चुलो लगायत । सुधारिएको चुलोको पनि विभिन्न प्रकार (टायर) छन् । माटोको चुलो सामान्य खालको हो भने फलामको चुलो टायर– १ हो । यसैगरी, टायर– २, ३ हुन्छन् । उपभोक्तालाई भने कुन प्रयोग गर्ने भन्ने अलमल छ । संस्थाहरूले आफ्नो सुविधाअनुसार विभिन्न चुलोको प्रवद्र्धन गरिरहेका बेला चुलो निर्माणमा पनि एकरूपता हुनुपर्ने विज्ञको भनाइ छ। 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार गत आर्थिक वर्षसम्म १३ लाख ४३ हजार दुई सय वटा सुधारिएको चुलो जडान भइसकेको छ भने चालू आर्थिक वर्षसम्म १५ लाख जडान गर्ने लक्ष्य राखेको छ । केन्द्र अनुदान कार्यक्रममा सुधारिएको चुलोसँगै हिमाली भेगका लागि फलामे चुलो, बायोग्यास प्लान्ट जडान, घरेलु सौर्य विद्युत् प्रणालीलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सयुंक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यअन्तर्गत सन् २०३० सम्म प्रत्येक नागरिकलाई ‘क्लिन इनर्जी’ सुविधा पु¥याउनुपर्छ । उक्त लक्ष्यअनुसार सस्तो, विश्वसनीय, दिगो र आधुनिक इनर्जी सबैका लागि हुनुपर्ने भनिएको छ । नेपालले जलवायुसम्बन्धी र हरित ग्यास उत्सर्जनमा कमी ल्याउन पेरिस सम्झौताअनुसार सन् २०३० सम्म ४६ अर्ब अमेरिकी डलर बराबरको लगानीको अवसर समेत रहेको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले केही साताअघि सार्वजनिक गरेको ‘दक्षिण एसियामा जलवायु लगानीका अवसरहरू’ शीर्षकको प्रतिवेदनमा उल्लेख छ । जसमा नविकरणीय ऊर्जा, सोलार, सुधारिएको धुवाँरहित चुलो जस्ता क्षेत्रमा लगानीको अवसर छन् ।

प्रकाशित: ८ पुस २०७४ ०४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App