४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

प्रकाश सपुत अभिनित ‘परदेशी–२’ को प्रचार विद्यालयबाट

पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा विहीबार बिहान परदेशी–२ को टोलीको प्रचार कार्यक्रम । तस्बिरः सन्तोष पोखरेल/नागरिक

१२ कक्षा पास गरेपछि परदेश जाने धेरै छन्। उच्च शिक्षा होस वा रोजगारीका लागि अहिले दिनहुँ ठुलो संख्यामा युवाहरु विदेश जान्छन्। विदेश जानेको लर्काेले गर्दा स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको संख्या पनि घट्दो छ। हरेक दिन बिदेसिएका युवाका कारण गाउँदेखि सहरसम्म सुनसान बन्न थालेका छन्।

अध्ययन वा अन्य कुनै बहानामा बिदेसिन बाध्य यस्तै युवाको विषय बस्तुलाई कथामा उनेर बनेको फिल्म ‘परदेशी–२’ प्रदर्शनमा ल्याउने तयारी छ। दसैंको छेको पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउने यो फिल्मको केही दिन अघि गीत सार्वजनिक गरिएको थियो। फिल्म प्रदर्शनको दिन नजिकिँदै जाँदा यसका कलाकार र निर्माता फिल्मको प्रचारमा जुटेका छन्। नेपालगन्ज, बुटवल हुँदै प्रचार टिम पोखरा आइपुगेको छ।  

गायक प्रकाश सपुत यही फिल्मबाट नायकको रुपमा देखिँदैछन्। त्यसबाहेक केकी अधिकारी पनि फिल्ममा छिन्। नारायण रायमाझी निर्देशित यो फिल्मको अधिकांश दृश्य पोखरा आसपासमा केन्द्रित रहेको छ। फिल्मले बिदेसिएका युवाको कथावस्तुलाई बोकेको रायमाझी बताउँछन्।

‘अहिले १२ कक्षा पास गर्नासाथ विदेश जाने धेरै छन्। यो फिल्मको कथा तिनै विदेश जाने युवामा केन्द्रित छ,’ फिल्म प्रचारको क्रममा बिहीबार पोखराको प्रतिभा माविमा आयोजित कार्यक्रममा रायमाझीले भने, ‘पोखराको कलेजबाटै यो फिल्मको कथाको छायांकन सुरु भएको छ।’

परदेशीको त्यही कथा सुनाउन आफू पोखरा आएको पनि रायमाझीले बताए। प्रचारको क्रममा विद्यालयमा परदेशी–२ को कथामा आधारित रहेर नाटक पनि प्रदर्शन गरिएको थियो।

‘हरेक दिन बिदेसिएका युवाको कथा यसमा छ। अझ चाँडबाँडको बेला विदेशमा रहेका सन्तानको पिरमा रहेका अभिभावकको पीडा पनि यसमा छ,’ फिल्मको कथावस्तुबारे जानकारी दिँदै रायमाझीले भने।

फिल्मको प्रचार गर्दै हिँडेकी नायिका केकी अधिकारीले झन्डै २ महिने छायांकन अवधिमा पोखरा सहरको गल्लीगल्लीमा छिरेकोले पोखरासँग फिल्मको विशेष साइनो रहेको समेत बताईन।

‘फिल्मले नेपाली पनलाई छुन्छ, परदेशीएका युवाको कथा यसमा छ,’ अधिकारीले भनिन, ‘कलेजदेखिको साथी र परिवारसँगको सम्बन्धलाई चटक्क छाडेर विदेश जानुपर्दाको पीडा यसमा छ। त्यस्तै चाँडको बेला आफन्त छुट्दाको पीडा पनि यो फिल्मले बोलेको छ।’

नायक प्रकाश सपुतले पोखरामा प्रचारप्रसारको सुरुवात प्रतिभा माविबाट भएको बताए। पोखराका अरु विद्यालयमा पनि यस्तै प्रचारात्मक कार्यक्रम गर्ने उनले बताए। उनका अनुसार कथावस्तु युवापुस्तासँग सम्बन्धित रहेकोले प्रचारको काम पनि युवाको भिडभाडबाटै थालिएको हो।

‘सपना देख्यो भने कहिले न कहिले त पक्कै पुरा हुने रहेछ। म पनि बाग्लङुमा सपना देखेको व्यक्ति थिए, मैले देखेको सपनामध्ये अहिलेसम्म केही पुरा भईसकेका छन्,’ सपुतले भने, ‘मेरो सपना ठुलो पर्दामा देखिने थियो। अहिले त्यो पुरा भएको छ।’ पोखरा वरिपरिको दृश्य फिल्ममा रहेको र फिल्मले परदेशीएका युवाको कथा बोल्ने भएकोले युवालक्षित प्रवर्द्धन थालेको उनले बताए।

प्रतिभा माविका प्राचार्य किरण सापकोटाले पनि युवापुस्ताको विदेश मोहले गर्दा अहिले सबैतिर निराशा छाउन थालेको बताए। उनले परदेशीएका छोराछोरीको कथा अहिलेको परिस्थितिसँग मेल खाने पनि बताए। प्रचारप्रसारको त्यही अवसरमा फिल्मका कलाकारहरुले विद्यालयमा मनोरञ्जनात्मक गतिविधि पनि गरेका थिए।  

प्रकाशित: ११ आश्विन २०८० ०९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App