१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

राष्ट्रिय ललितकला प्रदर्शनीमा नयाँ पुराना कलाकारको संगम

काठमाडौं- पहिले पहिले हुलाकबाट चिठी आउँदा गाउँघरमा छुट्टै खुशी छाउँथ्यो। घरबाट टाढा रहेका परिवारसँग जोडिने एउटा माध्यम नै हुलाकबाट जाने चिठी बन्थ्यो। अहिले इमेल, इन्टरनेट तथा सामाजिक सञ्जालले हुलाकको चिठीलाई विस्थापित नै बनाइदिएको छ।

इन्सटलेसन कलामा हुलाकी कालखण्डलाई आधुनिक सञ्चारका साधनले प्रतिस्थापन गर्दै लगेको देखाइएको छ। केही वर्षअघिसम्म चिठीपत्रको चलनले गाँसेकोे छुट्टै तर मिठो नाता अभिव्यक्त भएको छ भने इमेल इन्टरनेटले बिर्साउँदै गएको चिठी खसाल्ने बाकस पनि।  

तर, त्यही हुलाकबाट आउने चिठी सम्झाउँदै बबरमहलस्थित नेपाल कला परिषद्मा विजेन्द्र श्रेष्ठले ‘रेड बक्स’ नामक इन्सटलेसन कला प्रस्तुत गरेका छन्। रेड बक्सका रूपमा उनले हराउँदै गएको हुलाकको पोष्ट बक्स र बढ्दो सञ्चारका साधनको तुलना गरेका छन्। तीनवटा रेडबक्समा उनले फरक फरक तरिकाले कसरी हुलाकी कालखण्डलाई आधुनिक सञ्चारका साधनले प्रतिस्थापन गर्दै लगेको छ भन्ने देखाएका छन्। ‘दस–पन्ध्र वर्षअघिसम्म चिठीपत्रको चलनले एक प्रकारको छुट्टै तर मिठो नाता गाँसेको थियो,’ उनले पहिलो पोष्टबक्स देखाउँदै भने भने, ‘अहिले त्यो चिठी खसाल्ने बाकसलाई इमेल इन्टरनेटले बिर्साउँदै गएको छ।’ दोस्रो पोष्ट बक्समा उनले भिडियो जडान गरेर मानिसले त्यो पोष्ट बक्सको सम्झना बिर्सनै नसकिने खालको रहेको उल्लेख गरेका छन्। त्यसभित्र उनले भिडियोमा एउटी महिलासँग गरेको कुराकानी प्रस्तुत गरेका छन्। जसमा ती महिलाले भन्छिन्, ‘मेरो श्रीमानले विदेशबाट पठाएको चिठी म पन्ध्र्र दिनसम्म मिठो मानेर पढिरहन्थें, त्यति प्यारो लाग्थ्यो चिठी। फोनमा कुराजस्तो भर्खरै बिर्सिन सकिँदैन चिठीका कुरा। अहिले चिठी जान नसके पनि सामानचाहिँ हुलाकबाटै जान्छन्। त्यो इमेलबाट त पक्कै जाँदैन।’ यसरी उनले हुलाकको पोष्ट बक्सको महŒव अझै समाप्त नै भइनसकेको समेत बताएका छन्।

त्यस्तै तेस्रो पोष्ट बक्सभित्र उनले सञ्चारका साधनले गाँजिदै गएको संसार देखाउने प्रयास गरेका छन्। ‘फोन, डिभाइस, एप्सजस्त्ाा विभिन्न साधनले चिठी सञ्चारलाई विलुप्त पार्दै लगेको प्रस्ट्याएको छु,’ उनले भने। फाइन आर्टमा स्नातक तहको पढाइ भर्खरै सकेका विधार्थी हुन् श्रेष्ठ। उनी इन्सटलेसन आर्टमा रुचि राख्छन्। बबरमहलस्थित नेपाल कला परिषद्मा सोमबारदेखि सुरु भएको सातौं राष्ट्रिय ललितकला प्रदर्शनीमा उनले विशेष पुरस्कारसमेत जितेका छन्। जसको राशि पच्चिस हजार छ।

त्यस्तै प्रदेश नम्बर ६ बाट सागर शाहले बनाएको कार्टुनले प्रदेश पुरस्कार जितेका छन्। उनी पनि नयाँ कलाकारमा गनिन्छन्। उनले बनाएको कार्टुनमा भूकम्प पुनर्निर्माण कछुवा गतिमा अघि बढिरहेको देखाइएको छ। प्रदेश पुरस्कारको राशि पनि २५ हजार छ।

त्यस्तै साठी हजार राशिको अन्य सृजनात्मकतर्फकै राष्ट्रिय ललितकला पुरस्कार भने कार्टुनबाटै रवीन्द्र मानन्धरले जितेका छन्। उनको कार्टुन योग्यता शीर्षकमा  छ। जसमा योग्यता नभएकाले काम गर्दा विभिन्न खालका दुर्घटना देशमा निम्तने गरेको भाखा बोल्छ।

अन्य सृजनात्मक कलामा कन्चन तामाङले बनाएको मूर्ति, चित्र र इन्सटलेसन आर्टको फ्युजन नै छ। उनले पनि विशेष पुरस्कार जित्न सफल भएकी छिन्। त्यस्तै फोटोग्राफीतर्फ यस वर्षको इन्द्रजात्राको अन्तिम दिनको सुन्दर फोटो खिचेका हरि महर्जनले पुरस्कार जित्न सफल भए। प्रदेश ३ का राजकुमार महर्जनले सताब्दी पुरुष सत्यमोहन जोशीको पूर्णकदको मूर्ति नै बनाएर पुरस्कार जितेका छन्। एउटा हातमा किताब र अर्को हातमा कागजको सामाग्री बोकेको सो मूर्ति निकै आकर्षक देखिन्छ।

उनीहरूजस्ता नयाँ कलाकार मात्र हैन, परम्परागत चित्रकलामा माझिएका कलाकार समुन्द्रमान सिंह श्रेष्ठको कलाले यो वर्षको राष्ट्रिय ललितकला पुरस्कार नै जितेको छ। उनको कलामा मिहिनतामात्र हैन, नेपाली परम्परामा रहेको छुट्टै आकर्षण भेटिन्छ। उनले पाएको पुरस्कारको राशि ६० हजार छ। चित्रकलातर्फ पुराना कलाकार दुर्गा बरालले यस वर्षको अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान नै पाए। उनीजस्तै मूर्तिकार रवीन्द्र ज्यापु पनि सोही सम्मानबाट विभूषित भए। विभिन्न विधामा नयाँ पुराना ३४ जनाले पुरस्कार प्राप्त गरेका थिए।

पुरस्कार पाउन सफल उत्कृष्ट कला मात्र हैन, अन्य नयाँ पुराना कलाकारका मनमोहक अर्थपूर्ण कला पनि प्रदर्शनीमा सामेल छन्। जेम्स खातीले गर्भपतनसम्बन्धी मार्मिक इन्सटलेसन आर्ट प्रस्तुत गरेका छन्। ‘गर्भपतनले २ वटा हत्या गर्छ,’ उनले भनेका छन् ,‘एउटा बच्चाको ज्यान मार्छ अर्को एउटा आमाको अन्तर्मनलाई पनि मार्दछ।’ त्यस्तै सुरज सुब्बाको कलाले नेपाली हिन्दु संस्कारमा विधवाको अवस्था प्रस्तुत गरेको छ। जब एउटी महिला विधवा हुन्छिन, तब उनका हातका राता चुरा फुटालिन्छन्। उनले लगाएको राता पहिरन सेता पहिरनमा बदलिन्छ। यही भाव उनको कला प्रस्तुतिमा छ। रवीन्द्र श्रेष्ठले पुराना पैसाको महिमालाई प्रतिस्थापन विद्यामा उतारेका छन्। ‘सिल्वरका सुका, पाँच तथा दस पैसाको महŒव कुनै बेला निकै ठूलो थियो नेपालमा,’ उनले भने, ‘अहिले त्यो कौडीको भाउमा बिक्री भएर सिल्बरको भाँडो बनेर मानिसका हातमा पुग्छन्। त्यही देखाउन खोजेको हो।’ भौतिकवादी समाजमा पैसाभन्दा वस्तुको महŒव बढ्दै तर्क पनि त्यो कलाले देखाएको उनी सुनाउँछन्।

प्रतियोगी तथा अप्रतियोगी गरी विभिन्न विधाका कुल ४५८ कलाकृति प्रदर्शनीमा राखिएका छन्। जुन ४२८ कलाकारले निर्माण गरेका हुन्। कलाकारलाई राज्य र अन्तराष्ट्रिययस्तरमा पहुँच बढाउन यो कला प्रदर्शनीले मद्दत गर्ने प्राज्ञ नारदमणी हार्तमछाली उल्लेख गर्छन्। वि.सं.२०३४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको गठन भएपछि कलाकारका कला जनतामाझ आउन थालेको हो। २०६६ सालमा भने कलाकारको प्रतिनिधित्व हुनेगरी छुट्टै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको गठन भएपछि २०६७ साल वैशाख २ गतेबाट राष्ट्रिय ललितकला प्रदर्शनी हुन थालेको हो। यस वर्षको प्रदर्शनी भने ढिलागरी असारमा भएको छ। प्रदर्शनी पन्ध्र दिनसम्म चल्ने आयोजकले जनाएको छ।

प्रकाशित: ८ असार २०७४ ०५:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App