२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नवौं राष्ट्रियमा पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई महानगरको सम्मान

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पोखरा महानगरपालिकाले शुक्रबार नगदसहित सम्मान गरेको छ। महानगरपालिकाले १६६ जना खेलाडी, ३५ प्रशिक्षक र २५ व्यवस्थापकलाई सम्मान गरेको हो।  

शुक्रबार पोखरा महानगरपालिकाले १२५ जना खेलाडीलाई सम्मान गर्यो। ३५ जना प्रशिक्षक र २५ जना व्यवस्थापकलाई समेत सम्मान गरेको हो। महानगरले नवौं राष्ट्रिय प्रतियोगिता चलिरहेकै अवस्थामा ४१ जना खेलाडीहरुलाई नगदसहित सम्मान गरेको थियो।  

राष्ट्रिय खेलुकद प्रतियोगितामा व्यक्तिगत प्रतिस्पर्धामा स्वर्णपदक जित्ने खेलाडीलाई नगद १५ हजार, रजत पदक जित्नेलाई १० हजार र कास्य पदक जित्ने खेलाडीलाई ५ हजार रुपैयाँबाट सम्मानित गरिएको पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले बताए। उनका अनुसार समूहगतमा स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीलाई भने समान ५÷५ हजार रुपैयाँबाट सम्मानित गरिएको थियो।  

महानगरको तथ्यांक अनुसार एकल र समूहमा गरी २६ जना खेलाडीले स्वर्ण पदक जितेका थिए । एकल र समूहमा गरी ३२ जनाले रजत पदक र समूहमा र व्यक्तिगत रुपमा १२५ जना खेलाडीले कास्य पदक जितेका थिए। शुक्रबारको सम्मान कार्यक्रममा प्रशिक्षकलाई नगद ५ हजारसहित सम्मानपत्रबाट सम्मानित गरिएको थियो। व्यवस्थापकलाई भने सम्मानपत्रबाट सम्मानित गरिएको महानगर खेलकुदले जनाएको छ।  

पोखरा महानगरपालिकाबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा २५० भन्दा बढी खेलाडीहरुले विभिन्न ३६ वटा खेलमा सहभागिता जनाएका थिए। गण्डकी प्रदेशका ८ जिल्लामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेलहरु आयोजना गरिएको थियो। असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म आयोजित प्रतियोगितामा महानगरबाट पदक विजेता खेलाडीहरुलाई महानगरपालिका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार, विभिन्न वडाका वडाध्यक्ष लगायतले सम्मान गरेका थिए। महानगरले खेलाडी सम्मानको लागि १७ लाख रुपैयाँ बजेट छुट्टाएको थियो। 

प्रकाशित: २५ कार्तिक २०७९ ०८:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App