१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

इङ्ल्यान्डले आशा जगायो

इङ्ल्यान्डले मंगलबार ब्रिसबेनमा न्युजिल्यान्डलाई स्तब्ध बनाउँदै अस्ट्रेलियामा जारी ट्वान्टी–२० विश्वकपको सेमिफाइनल आशा जगाएको छ।

इङ्ल्यान्ड समूहचरणबाटै बाहिरिने खतरा देखिए पनि न्युजिल्यान्डमाथि २० रनको जितपछि इङ्लिस टोली एक खेल बाँकी छँदा शीर्ष स्थानमा उक्लिएको छ। समूह एकमा रहेका सबै टोलीको समान एक खेल खेल्न बाँकी छ। हरेक समूहबाट दुई टोली सेमिफाइनलमा पुग्नेछन्। इङ्ल्यान्डको यो जितपश्चात् आयोजक एवम् डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियामाथि दबाब परेको छ। अब अस्ट्रेलियाले सेमिफाइनलमा पुग्न अन्तिम खेलमा अफगानिस्तानलाई हराउनुपर्नेछ र इङ्ल्यान्ड या न्युजिल्यान्डमध्ये एक टोलीको पनि हार हुनुपर्छ।

यो हारपछि न्युजिल्यान्डले एक खेलअगावै सेमिफाइनलमा पुग्ने अवसर गुमायो। समान चार खेलमा न्युजिल्यान्ड, इङ्ल्यान्ड र अस्ट्रेलिया तीनै टोलीको समान पाँच अंक छ। यद्यपि, नेट रनरेटका आधारमा न्युजिल्यान्ड शीर्षमा र इङ्ल्यान्ड दोस्रो स्थानमा छन्। समान एक खेल बाँकी रहेकाले यी तीनै टोलीको सेमिफाइनल सम्भावना बाँकी छ।

कप्तान जस बट्लरले ४७ बलमा ७३ रन जोडे। सो प्रेरणामा इङ्ल्यान्डले निर्धारित ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ७९ रनको योगफल बनायो। जबाफमा उक्त लक्ष्य रक्षा गरेको इङ्ल्यान्डले बलिङमा पनि राम्रो सुरुआत गर्दा ओपनर डेभोन कनवेलाई छिटै पवेलियनको बाटो देखायो। क्रिस वक्सको बलिङमा बट्लरले डाइभिङ गर्दै कनवेको विकेट लिए। खातामा दोहोरो अंकको रन नजोड्दै न्युजिल्यान्ड पहिलो विकेट गुमाउन पुग्यो। साम करनले न्युजिल्यान्डका अर्का ओपनर फिन एलेनलाई १६ रनमा आउट गर्दै अर्को झड्का दिए। पाँचौं ओभरमा न्युजिल्यान्ड २८/२ को नाजुक अवस्थामा पुग्यो।

त्यसपछि पनि न्युजिल्यान्डले इङ्लिस टोलीको कसिलो बलिङसँग निकै संघर्ष गर्नुपर्‍यो। इङ्ल्यान्डका मोइन अलीले लयमा रहेका ग्लेन फिलिप्सको १५ रनमा क्याच ड्रप गरे। त्यो गल्ती इङ्लिस टोलीका लागि केही घातक बन्यो। किनकि उनी अघिल्लो खेलका शतककर्ता पनि थिए। फिलिप्सले श्रीलंकाविरुद्ध शतक बनाएका थिए। फिलिप्सले सीधा अलीकै हातमा प्रहार गरेका थिए। तर, अलीले त्यसलाई नियन्त्रणमा राख्न सकेनन्। त्यसको फाइदा उठाउँदै फिलिप्सले २५ बलमै अर्धशतक पूरा गरे। इङ्ल्यान्डका कप्तान बट्लरले तेस्रो विकेटको साझेदारी तोड्न सात बलर प्रयोग गरेका थिए। उनको सातौं प्रयासमा केन विलियम्सन तेस्रो विकेटका रूपमा पवेलियन फर्किए।

स्टोक्सको बलिङमा फ्लिक गर्ने प्रयासमा विलियम्सन ४० रनमा स्लिपमा क्याच भएका हुन्। त्यसपछि आएका जेम्स निसम ६ रनमै पवेलियन फर्किए। तर, अर्को छेउबाट फिलिपले इङ्ल्यान्डको अट्याकलाई निस्तेज पार्ने प्रयास गरे। यसबीच ड्यारिल मिचेल पाँचौं विकेटका रूपमा आउट भएपछि न्युजिल्यान्ड थप दबाबमा पर्‍यो। क्रिस वक्सले मिचेललाई ३ रनमै पवेलियन फर्काए। ठूलो लक्ष्यका बाबजुद सुरुआतमा सुस्त ब्याटिङ गरेको न्युजिल्यान्डले स्वाभाविक रूपमा दबाब बेहोर्‍यो। १७.३ ओभरमा फिलिप्स आउट भएपछि न्युजिल्यान्डको जित टाढियो।

करनले फिलिप्सलाई ६२ रनमा क्याच गराए। त्यसपछि मिचेल सान्टरनर (१६ रन) र इश सोधी (६ रन) ले इनिङ समाल्ने प्रयास गरे पनि ठूला सट खेल्न सकेनन् र इङ्ल्यान्डले चौथो खेलमा दोस्रो जित निकाल्यो। 

प्रकाशित: १६ कार्तिक २०७९ ०१:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App