२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

साविक विजेता अस्ट्रेलिया न्युजिल्यान्डसँग स्तब्ध

आयोजक एवम् साविक विजेता अस्ट्रेलियामाथि भ्रमणकारी टोली न्युजिल्यान्डले शनिबार ८९ रनको जित निकाल्दै ट्वान्टी-२० विश्वकपको सुपर १२ मा सुखद सुरुआत गरेको छ।

डेभोन कोनवेको अविजित ९२ रन इनिङमा दुई सय एक रनको विशाल लक्ष्य दिएको न्युजिल्यान्डले अस्ट्रेलियालाई अघिल्लो संस्करणको फाइनलमा भोगेको पराजयको बदला पनि लियो। जबाफी ब्याटिङ गरेको अस्ट्रेलिया १७.१ ओभरमा एक सय ११ रनमा नै समेटियो।

ग्लेन म्याक्सवेलको २८ रन नै अस्ट्रेलियाका लागि सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। त्यसबाहेक प्याट कमिन्सले २१, मिचेल मार्स १६, आरोन फिन्चले १३ र टिम डेविडले ११ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बटुल्न सकेनन्। अस्ट्रेलियाले ५ रन जोड्ने क्रममा पहिलो विकेट गुमाएको थियो। खातामा ५० रन अस्ट्रेलियाको चौथो विकेट पतन भइसकेको थियो।

खराब सुरुआत गरेको अस्ट्रेलियाका मध्य क्रमका ब्याटर चल्न सकेन। घरेलु टोलीको इनिङलाई सस्तैमा समेट्न न्युजिल्यान्डका टिम साउथीले २.१ ओभरमा ६ रन खर्चिएर २ विकेट लिए। मिचेल सान्टनरले चार ओभरमा ३१ रन खर्चेर तीन विकेट लिए। त्यसबाहेक ट्रेन्ट बोल्टले २ तथा लुक फर्गुसन र इश सोधीले १/१ विकेट लिए। त्यसअघि डेभोनको अविजित ९२ रनप्रेरित न्युजिल्यान्डले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय रन जोड्यो। सिड्नी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा तीन विकेट क्षतिमा दुई सय रनको योगफल तयार गर्‍यो।

न्युजिल्यान्डका लागि सानदार इनिङ खेलेका विकेटकिपर एवम् ब्याटर कोन्वेले ५८ बलमा तीन चौका र दुई छक्का प्रहार गरेक हिर्काए। फिन एलेनले भ्रमणकारी न्युजिल्यान्डका लागि पवेलियन फर्किंदा जेम्स निसमले १३ बलमा अविजित २६ रन बनाए। अस्ट्रेलियाका लागि जोस हेजलवुडले दुई तथा आडम जाम्पाले एक विकेट लिए। यससँगै न्युजिल्यान्डले सन् २०११ पछि अस्ट्रेलियाविरुद्ध पहिलो जित निकालेको छ। बलियो अस्ट्रेलियाविरुद्ध जित निकालेका कप्तान विलियम्सनले उत्कृष्ट खेल समग्र टोलीबाट भएको प्रतिक्रिया दिए।

‘धेरे खेलमध्ये आजको खेल सम्झनलायक रह्यो। सबै खेलाडीबाट मजबुत प्रदर्शन भयो,’ न्युजिल्यान्ड कप्तान विलियम्सनले भने, ‘सुखद सुरुआतले टोलीमा धेरै मनोबल मिलेको छ। घरेलु टोलीविरुद्ध पस्किएको स्कोर हाम्रो उत्कृष्ट खेलको नमुना हो जस्तो लाग्छ।’ उता पराजित टोलीका कप्तान आरोन फिन्चले सुरुआती चार ओभरमा सम्हालिएको प्रदर्शन गर्न नसक्नु र विकेटको पतनले राम्रो प्रदर्शन नभएको स्विकार गरे।

प्रकाशित: ६ कार्तिक २०७९ ०१:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App