२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

च्याम्पियन बन्ने नेपालको लक्ष्य

तीन पटकको उपविजेता नेपालले बुधबार भुटानविरुद्धको खेलसँगै साफ यु–१७ च्याम्पियनसिपको यात्रा सुरुआत गर्नेछ।

नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले आफूहरूको लक्ष्य च्याम्पियन बन्ने रहेकाले तयारी पनि त्यहीअनुरूप गरेको आशा व्यक्त गरेका छन्। ‘हामीले प्रतियोगिताका लागि राम्रो तयारी गरेका छाैं,’उर्जनले भने, ‘टोलीमा एकेडेमीका केही खेलाडी छन्। युवा खेलाडीको प्रतिभासँगै जोसमा उपाधि जित्ने हाम्रो लक्ष्यमा छ।’

श्रेष्ठले समूह ‘बी’ मा साबिकको विजेता भारत र भुटान रहे पनि आफूहरूले दुवै टोलीलाई समान रूपमा लिएको बताए। ‘यो उमेर समूहको प्रतियोगिता हो। सबैको स्तर समान जस्तो लाग्छ,’ श्रेष्ठले भने, ‘त्यसैले हामी कुनै टोलीलाई बलियो र कोहीलाई कमजोरका रूपमा लिदैनाैं। सबै टोली समान छन्। स्वाभाविक खेल पस्कदै सुखद नतिजा ल्याउनेमा विश्वस्त छौं।’  

यसअघि यु–१५ र यु–१६ को उमेरसमूहमा प्रतियोगिता आयोजना हुँदै आए पनि सातौं संस्करणमा भने साफ यु–१७ च्याम्पियसिपको आयोजना गर्न लागिएको हो। साफ यु–१७ च्याम्पियनसिप जित्दै इतिहास रच्ने हामीसँग अवसर रहेकाले नेपाली टोलीले सो उपलब्धि हासिल गर्नेमा आफू विश्वस्त रहेको उनले बताए। यता नेपालका कप्तान प्रशान्त लक्ष्ययमले भने आफूहरूका लागि आगामी दिनको यात्रा तय गर्न यो प्रतियोगिता निकै महत्वपूर्ण रहेको धारणा राखे।

‘उमेर समूहमा गरेको प्रदर्शनकै आधारमा राष्ट्रिय टोलीमा आफ्नो दाबेदारी प्रस्तुत गर्ने हो,’प्रशान्तले भने, ‘त्यसैले हाम्रा लागि यो विशेष अवसर हो र यसलाई खेर जान दिँदैनौ।’  

उनले टिम वर्क नै आफ्नो टोलीको सबैभन्दा बलियो पक्ष रहेको धारणा राखेका छन्। ‘हामीसामु ठूलो सपना साकार पर्ने अवसर छ र त्यसका लागि पूर्ण रूपमा तयार पनि छौं,’उनले भने, ‘टोलीमा देखिएको एकता र टिम वर्क नै नेपालको सबैभन्दा बलियो पक्ष हो।’

यता भारतका प्रशिक्षक बिबियानो फर्नान्डेजले साफ च्याम्पियनसिप आफूहरूका लागि ठूलो प्रतियोगिता भएकाले त्यहीअनुरूप तयारी गरेको बताए। ‘हामीले लामो समयदेखि यस प्रतियोगिताका लागि तयारी गरेका छौं,’उनले भने, ‘यो हाम्रो लागि ठूलो प्रतियोगिता हो। साबिकको विजेताको हिसाबमा हामी सामु उपाधि रक्षा गर्ने दबाबसमेत छ।’

उनले उत्कृष्ट प्रदर्शनका साथ भारतले उपाधि जित्ने दाबी पनि गरे। ‘हामी दबाबमा पनि उत्कृष्ट प्रदर्शनका साथ उपाधि जित्न चाहन्छाैं। हामीले समूहमा भुटान र नेपालसँग खेल्दै छौ। दुवै टोली राम्रो छन्,’फर्नान्डेजले भने, ‘हामीले राम्रो तयारी गरेकाले नतिजा पनि राम्रो ल्याउनेमा विश्वस्त छाैं।

एएफसी यु–१७ च्याम्पियनसिपको तयारीका लागि राम्रो अवसर भएकाले हामीले यो प्रतियोगितालाई विशेष महत्व दिएका छौं।’ भुटानका प्रशिक्षक तासी हिदिहारु ताकाहासीले भारत र नेपालजस्तो बलियो टोलीसँग समूहमा रहे पनि सुखद नतिजा ल्याउनेमा विश्वस्त रहेको बताए।

प्रकाशित: २० भाद्र २०७९ ०१:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App