२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सकारात्मक सन्देशको प्रतीक्षामा श्रीलंका

साफ यु–१७ ट्रफीका साथ ६ राष्ट्रका कप्तान। तस्बिर : नागरिक

पछिल्लो केही महिना श्रीलंका विश्वका प्राय सबै सञ्चारमाध्यममा हेडलाइनको विषय बन्यो। कारण राजनीतिक गतिरोधसँगै सुरु भएको चरम आर्थिक संकटले सीमापार गरिसकेको थियो।  

यहाँका नागरिक दैनिकको प्रदर्शनले आजित भएका थिए। दैनिक उपभोग्य सामानको अभावमा श्रीलंकाली जनताले कयौं हन्डर खानपर्‍यो। देशको आर्थिक अवस्था टाट पल्टिरहँदा श्रीलंकाका नागरिकलाई एउटा पक्षले केही खुसी दियो। त्यो पक्ष थियो, क्रिकेट। श्रीलंकाको राजधानीमा दैनिक हुने प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपबाट यहाँका जनतामा केही मुस्कान ल्याउने काम क्रिकेटले नै गरेको थियो। आर्थिक संकटकाबीच अस्ट्रेलियाले जुलाईमा दुई टेस्ट शृंखलाका लागि श्रीलंकाको भ्रमण गरेको थियो।  

पहिलो टेस्ट १० विकेटले गुमाएको श्रीलंकाले दोस्रो टेस्टमा पुनरागमनसहित शृंखला १–१ को बराबरी गर्न सफल भएको थियो। साथै श्रीलंकाले पाकिस्तानलाई पनि आतिथ्य गरेको थियो। सो शृंखला पनि श्रीलंकाले १–१ को बराबरीमा टुङ्ग्यायो। देशको अवस्था देखेर आजित यहाँका नागरिकलाई मन भुलाउने सहज बाटो बनिदिएको थियो, खेलकुद। त्यसो त श्रीलंका अहिले एसिया कप ट्वान्टी–२० क्रिकेटको आयोजना गरिरहेको हुन्थ्यो, एसिसीले आर्थिक संकट र राजनीतिक गतिरोधको कारण देखाउँदै प्रतियोगिता युएईमा नसारिदिएको भए ।

जुलाईमै श्रीलंकाले निवर्तमान प्रधानमन्त्री रनिल विक्रमसिंघेलाई नयाँ राष्ट्रपतिका रूपमा पायो। जसबाट श्रीलंकाले जारी गतिरोध अन्त्यको विश्वास लिएको थियो। एसिया कपको आयोजनासँगै श्रीलंका आफूहरूको दैनिकी सामान्य अवस्थामा गइसकेको सन्देश दिनुका साथै पर्यटन आगमनबाट विदेशी मुद्रा सञ्चित गर्ने लक्ष्यमा थियो। एसिया कप आयोजनाको अधिकार श्रीलंकाकै भए पनि आयोजना स्थल युएई भएका कारण न त विश्व समुदायमा श्रीलंका सामान्य अवस्थामा फर्किएको सन्देश गयो न त पर्यटनको आगमनसँगै आम्दानी नै भयो ।

श्रीलंकाले सोमबारबाट साफ यु–१७ च्याम्पियनसिप २०२२ को आयोजना गर्दै छ। जुन श्रीलंकाले उमेरसमूहमा आयोजना गर्न लागेको पहिलो प्रतियोगिता हो। साथै श्रीलंकाले आर्थिक संकट र राजनीतिक गतिरोधपछि आयोजना गर्न लागेको यो नै ठूलो प्रतियोगिता हो। जसबाट श्रीलंका आफ्नो दैनिकी सामान्य अवस्थामा फर्किएको महसुस गराउन चाहन्छ।

प्रोफेसनल स्पोर्ट्स जर्नालिस्ट एसोसिएसन अफ श्रीलंकाका अध्यक्ष रामाकृस्नन् साफ यु–१७ च्याम्पियनसिपको आयोजना श्रीलंकाका लागि आफूहरू सामान्य दैनिकीमा फर्किसकेको सन्देश दिने ठूलो अवसर भएको बताउँछन् ।

‘श्रीलंकाको आम्दानीको मुख्य स्रोत भनेकै चिया, पर्यटन र रेमिट्यान्स हो, जुन कोभिड १९ पछि ध्वस्त भयो,’उनले भने, ‘पछिल्लो समय हामी आर्थिक रूपमा निकै कमजोर रह्यौं। राजनीतिक गतिरोधका बीच खेलकुद विशेष गरी क्रिकेटले खुसी दियो।

श्रीलंका क्रिकेटले जुलाईमा अस्ट्रेलियाविरुद्धको टेस्ट शृंखलाबाट प्राप्त आम्दानीको रकम श्रीलंकाको खेलकुद मन्त्रालयलाई दिएको थियो। साथै बेलायतमा आयोजना भएको कमन वेल्थ गेम्समा पनि सहभागी श्रीलंकन खेलाडीको सम्पूर्ण खर्चको व्यवस्था गरिदिएको थियो र त्यहाँ श्रीलंकाले एथ्लेटिक्समा पदक जित्दै खुसी दिएको थियो।  

रामा कृस्नन् एसिया कपको अयोजना श्रीलंकामै नहुनु दुखद पक्ष भएको बताउँछन्। ‘हामी आयोजना गर्न सक्थ्यौं, तर यहाँको गतिरोधले सो अवसर गुम्यो,’ उनले भने, ‘साफ यु–१७ च्याम्पियनसिपबाट हामीलाई अवसर मिलेको छ। यहाँ मैत्रीपूर्णका साथै उमेर समूहका विभिन्न खेल निरन्तर आयोजना गर्न सकिन्छ। क्रिकेट र फुटबलले मात्र नभई अन्य खेलले पनि त्यसमा विशेष ध्यान दिन आवश्यक छ।’

प्रकाशित: २० भाद्र २०७९ ००:५८ सोमबार

श्रीलंकाले सोमबारबाट साफ यु–१७ हेडलाइनको विषय