१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

निलम्बन हटाउन प्रशासकीय समिति भंग

आफ्नै फैसला उल्टायो भारतीय सर्वाेच्च अदालतले

 भारतको सर्वोच्च अदालतले सोमबार भारतीय फुटबल महासंघ (एआइएफएफ) को गतिविधि अगाडि बढाउन गठित तीन सदस्यीय प्रशासकीय समिति भंग भएको फैसला गरेको छ ।

विश्व फुटबल महासंघ (फिफा) को निलम्बन हटाउने उद्देश्यस्वरूप भारतीय सर्वोच्च अदालतले एआइएफएफकै प्रशासनलाई जिम्मेवारी सुम्पिएको हो। त्यहाँको अदालतले नयाँ निर्वाचन गर्न र दैनिक कार्य अगाडि बढाउनका लागि पूर्वन्यायाधीश एआर देवको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेपछि फिफाले भारतीय फुटबललाई कारबाही गर्‍यो।

उक्त समितिलाई आगामी अगस्टभित्र नयाँ विधान संशोधनसहित निर्वाचन गराउने अधिकार थियो। तर, फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै गत हप्ता मात्र भारतीय फुटबललाई निलम्बित गर्‍यो। त्यो निलम्बनसँगै भारतले ठूला क्षति सामना गर्नुपर्‍यो ।

उक्त निलम्बनपश्चात् भारतमा आगामी महिना हुने भनिएको यु–१७ महिला विश्वकपको आयोजना पनि खोसिने लगभग तय छ। फिफाले पनि उक्त आयोजना अब भारतमा हुन नसक्ने स्पष्ट पारिसकेको छ। यद्यपि, अदालतले विश्वकप आयोजना र भारतीय फुटबलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा प्रभावित नहोस् भनेर आफैद्वारा गठित समिति विघटन गरेको छ।

साथै एआइएफएफकै महासचिवलाई सम्पूर्ण अधिकार सुम्पिएको अदालतले फैसला सुनायो। भारत सरकारले नै उक्त विषयलाई छिट्टै सुल्झाउन आग्रह गरेपछि अदालतको पछिल्लो फैसला आएको बुझ्न सकिन्छ ।

अदालतको यो फैसलासँगै भारतीय फुटबलले आफूमाथि लागेको निलम्बनबारे फिफाले पुनर्विचार गर्ने आशा लिएको छ। अदालतले प्रफुल पटेललाई एआइएफएफको अध्यक्षबाट हटाई उक्त तीन सदस्यीय समिति गठन गरेको थियो।

उनको कार्यकाल सन् २०२० को डिसेम्बरमा नै सकिए पनि उक्त पदमा रहेकाले हटाउने फैसला गरेको थियो। पटलले तीन कार्यकाल (१२ वर्ष) सम्म भारतीय फुटबलको नेतृत्व गर्दै आएका थिए। भारतीय राज्यसभा सदस्यसमेत रहेका पटेल सन् २००९ देखि भारतीय फुटबल महासंघका अध्यक्ष हुन् ।

विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) मा समेत उनले जिम्मेवारी समालेका छन्। उनी सन् २०१५ मा एएफसीको उपाध्यक्ष थिए। एक वर्षपश्चात् नै उनले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पनि पाए।

सन् २०१७ मा उनले चार वर्षका लागि फिफाको वित्तीय कमिटीको जिम्मेवारी पनि पाएका थिए। भारतीय फुटबल र अन्तर्राष्ट्रिय महासंघको राजनीतिमा बलियो रहँदै आएका पटेलले पछिल्ला वर्ष निकै आलोचना खेप्नुपरेको थियो। जसको कारण भारतीय कंग्रेसका नेतासमेत रहेका पटेल अदालतको आदेशका कारण फुटबल राजनीतिबाट बहिर्गमन हुनुपर्‍यो।

अदालतको त्यो फैसलासँगै फिफाले बाह्य हस्तक्षेप भएको भन्दै निलम्बन गरे पनि लामो समय आफ्नो निर्णयमा टिक्न सकेन। सोमबार फैसलापश्चात् भारतमा युवा फुटबलको विश्वकप आयोजना हुने आशा गरिएको छ। फिफा यु–१७ महिला विश्वकप आगामी अक्टोबर ११–१३ सम्म आयोजना हुँदै छ।

पहिलो दिन चार खेल सञ्चालन हुने तय थियो। उद्घाटनमा समूह ‘ए’ अन्तर्गत आयोजक भारतले अमेरिका र ब्राजिलले मोरक्कोविरुद्ध खेल्ने खेलतालिका थियो ।

प्रकाशित: ७ भाद्र २०७९ ०१:१५ मंगलबार

महिला फुटबलको यु–१७ विश्वकप