२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

पोखरा स्पोर्टस् अवार्डमा टेनिसको ह्याट्रिक

प्रदीप र अरुणा सर्वोत्कृष्ट खेलाडी

पोखरा स्पोर्टस अवार्ड अन्तर्गत सात विधाका अवार्ड बिजेता। तस्बिरः उमेश पुन/नागरिक

पोखरा स्पोर्टस अवार्ड–२०७८ मा प्रदीप खड्का र अरुणा शाही सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुषमा टेनिसका प्रदीप र वर्ष सर्वोत्कृष्ट खेलाडी महिलामा भलिबलकी अरुणाले अवार्ड जितेका हुन्।

वर्ष सर्वोत्कृष्ट खेलाडी विधामा प्रदीपले विधान अधिकारी (ब्याडमिन्टन) र बुद्ध लामा (कराँते)लाई पछि पार्दै अवार्ड जिते। उनले अवार्डसँगै एक थान ईलेक्ट्रिक स्कुटरसमेत प्राप्त गरे। वर्ष सर्वोत्कृष्ट महिलामा नेपाली भलिबल टिमका राष्ट्रिय कप्तान समेत रहेकी अरुणाले अवार्ड जितिन्। उनले मनिषा उपाध्याय (क्रिकेट) र सरगम कुमाल (कराँते)लाई पछि पार्दै अवार्ड जितेकी हुन्। अवार्ड बिजेता शाहीले पनि एक थान ईलेक्ट्रिक स्कुटर प्राप्त गरिन्।

पोखरा स्पोर्टस अवार्डमा तीनजनाले अवार्ड जित्दै टेनिसले ह्याट्रिक गरेको छ। टेनिसका दुई खेलाडी र एक प्रशिक्षकले अवार्ड जित्दै अवार्डमा ह्याट्रिक गरेका हुन्। टेनिसले वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेको हो।

वर्ष उत्कृष्ट उदीयमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठले अवार्ड जिते। उनले सृष्टि जैशी (क्रिकेट) र शाहिल लिम्बु (बक्सिङ) उछिन्दै अवार्ड जितेका हुन्। वर्ष उत्कृष्ट प्रशिक्षकमा टेनिसका निरज थापाले अवार्ड जिते। उनले रिजन प्रजु (क्रिकेट) र रेकमाया गुरुङ (तेक्वान्दो)लाई पछि पार्दै अवार्ड जितेका हुन्। अवार्ड बिजेता थापा वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष प्रदीप खड्का र उदीयमान उत्कृष्ट वर्ष खेलाडी दर्शिल श्रेष्ठका गुरु हुन्।

मञ्चले उत्कृष्ट संघ विधामा तेक्वान्दो संघ गण्डकीले अवार्ड जितेको छ। त्यस्तै, वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड कान्तिपुरकर्मी दीपक परियारले प्राप्त गरे। उत्कृष्ट वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट संघ र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्डसँगै नगद ३५–३५ हजार र सम्मान पत्र प्रदान गरियो। सो अवसरमा उत्कृष्ट ३ मा नोमिनेसनमा पर्ने खेलाडीहरुलाई पनि ट्रफी प्रदान गरिएको थियो।

अवार्ड बिजेताहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश सभामुख नेत्रनाथ अधिकारी, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, मञ्चका अध्यक्ष दीनानाथ बराल, पूर्व अध्यक्ष एकराज गिरी, पोखरा स्पोर्टस अवार्डका संस्थापक सन्देश श्रेष्ठल गायतले अवार्ड प्रदान गरेका थिए ।

भट्टराईलाई लाईफटाईम अचिभमेन्ट अवार्ड

बक्सिङका पूर्व अन्र्तराष्ट्रिय खेलाडी गणेशबहादुर भट्टराई ‘लाईफटाईम अचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन्। मञ्चले यस वर्षको ‘लाईफटाईम अचिभमेन्ट अवार्ड’ १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकुदमा रजत पदक बिजेता भट्टराईलाई प्रदान गरेको हो। कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, मञ्चका अध्यक्ष बराललगायतले भट्टराईलाई लाइफटाइम अचिभमेन्ट अवार्डका साथमा चाँदीको करुवा, ताम्रपत्र र दोसल्ला लगाएर सम्मान गरेका थिए।

भट्टराई सन् १९८९, १९९० र १९९१ मा लगातार बक्सिङका राष्ट्रिय च्याम्पियन हुन्। सन् १९८७ मा जुनियर राष्ट्रिय प्रतियोगिता खेलेर पहिलो खेलमै च्याम्पीयन बनेका उनी १९८८ मा पनि जुनियर राष्ट्रिय च्याम्पियनशीपमा गोल्ड मेडलिष्ट हुन्। त्यसपछिको ३ वर्ष उनी लगातार ह्याट्रिक गर्दै राष्ट्रिय च्याम्पीयन बने।

प्रतियोगितामा लड्दै गर्दा दाहिने हात भाँचिएपछि खेल खेल्न छाडेका उनी त्यसपछि व्यवस्थापकीय पक्ष सम्हाल्न पुगे। १९९८ मा नेपालमै भएको सागमा २ स्वर्ण, ५ रजत र २ कास्य पदक देशले जित्दा उनी टीम म्यानेजर थिए।

बक्सिङमा मात्र नभई उनले फुटबल खेलमा पनि योगदान दिएका छन। भट्टराई एन्फाको केन्द्रीय सदस्य हुँदै उपमहासचिव बनेका भट्टराई भूतपूर्व खेलाडी मञ्च नेपालका संस्थापक उपाध्यक्ष तथा नेपाल बक्सिङ संघका पूर्व उपाध्यक्ष हुन्। लाईफटाईम अचिभमेन्ट अवार्ड बिजेता भट्टराई तत्कालीन पोखरा उपमहानगरपालिकाका उपमेयर समेत हुन्। यसअघि, प्रा.डा.वीरेन्द्रसिंह गुरुङ, कृष्ण थापा, खड्गबहादुर रानाभाट, चित्रबहादुर गुरुङ र आनन्द रञ्जित लाईफटाईम अचिभमेन्ट अवार्डबाट सम्मानित भइसकेका छन्।

प्रकाशित: १९ असार २०७९ ०७:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App