१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

विजय यूथ र क्यामरुन सेमिफाइनलमा

बलको लागि प्रतिस्पर्धा गर्दै विजय यूथ र सिमराका खेलाडी।

मकवानपुरको विजय यूथ क्लव र क्यामरुनको एभिनियर एफसी हेटौंडामा सञ्चालन भैरहेको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

बिहीबार बिहान भएको खेलमा विजय यूथले छिमेकी जिल्ला बाराको नव जनजागृति युवा क्लव सिमरालाई ३–० गोलले हराउँदै सेमीफाइनलमा स्थान बनाउँदा दिउँसोको खेलमा क्यामरुनको एभिनियर एफसीले ए डिभिजन टोली चर्च ब्वाइजलाई ४–० ले हराएको हो। बुधबार दिउँसो वर्षाको कारण स्थगित भएको विजय यूथ र सिमराको खेल बिहीबार बिहान खेलाइएको हो।

विजय यूथका लागि अमिर श्रेष्ठ, संजोग राई र सुनिल घलानले गोल गरे। विजयका लागि ५४ औं मिनेटमा अमिरले गोल गरेका हुन्। उनको प्रहारले सिमराका गोलरक्षक दिलमणि चौधरीको हातमा लाग्दै पोष्टको दिशा लिएको थियो। ६३ औं मिनेटमा संजोगले अग्रता दोब्बर पारे। गोलरक्षकले पन्च गरेको बललाई राईले गोल गरेका हुन्। निर्धारित समयको अन्तिम मिनेटमा विजय यूथले गोल अन्तर बढाउने मौका खेर फाल्यो।

सिमराका डिफेण्डरले अमिर श्रेष्ठलाई लडाएपछि प्राप्त पेनाल्टीलाई श्रेष्ठले गोल गर्न सकेनन्। अतिरिक्त समयमा विजय यूथका सुनिल घलानले डीबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। खेलको म्यान अफ द म्याच विजय यूथका सुनिल घलान भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।  

यस्तै दिउँसो भएको अन्तिम क्वार्टरफाइनल भिडन्तमा क्यामरुनले चर्च ब्वाइजलाई ४–० ले हराएको हो। चारै गोल पहिलो हाफमा भएको थियो। आठौं मिनेटमा बिल्लेको गोल मार्फत एभिनियले अग्रता लिएको थियो। २७ मिनेटमा टिम्बा टिम्बाले अग्रता दोब्बर बनाए। उनले हाफ भली मार्फत उत्कृष्ट गोल गरेका थिए। यस्तै ३५ औं मिनेटमा चर्च ब्वाइजका गोलरक्षक किशोर गिरीलाई छक्याउँदै एब्डेलले गोल गरे। ४० औं मिनेटमा सेम सेमको प्रहार गोलरक्षक गिरीको हातमा लाग्दै गोल भएको थियो। दोस्रो हाफमा भने चर्च ब्वाइजले सम्हालिएर खेल्दै सुधारिएको खेल प्रश्तुत गरेका थिए।

यो संगै स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको सेमीफाइनल समिकरण पूरा भएको छ। शुक्रबारबाट सेमिफाइनल खेल हुनेछ। पहिलो सेमीफाइनलमा विजय यूथ र नेपाल पुलिस क्लव खेल्नेछ भने शनिबार दोस्रो सेमिफाइनल त्रिभुवन आर्मी क्लव र एभिनियर एफसीको बीचमा हुनेछ। ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँसहित ट्रफी पाउनेछन्।

प्रकाशित: २६ जेष्ठ २०७९ १३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App