१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

धर्मश्रीलाई काठमाडौं महानगरपालिकाको प्रायोजन

नेपाल व्यायाम मन्दिरको आयोजनामा वैशाख तेस्रो साता हुने १६औं धर्मश्रीका लागि काठमाडाैँ महानगरपालिकाको मुख्य प्रायोजन गर्ने भएको छ। सोमबार पत्रकार सम्मेलनमा आयोजक नेपाल व्यायाम मन्दिरले काठमाडाैँ महानगरपालिकाले धर्मश्रीका लागि मुख्य प्रायोजन गर्ने जानकारी गराएको हो।  

२०१० मा स्थापित व्यायाम मन्दिरले संस्थापक एवं सहिद धर्मभक्त माथेमाको सम्मानमा २०४२ सालदेखि धर्मश्री प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ। पहिलो र दोस्रो संस्करणमा तौलसमूहको मात्र प्रतियोगिता गर्दै आइरहेकोमा तेश्रो संस्करण २०५० सालबाट प्रत्येक तौलसमूहका विजयी खेलाडीको अन्तिम प्रतिस्पर्धामा विजयीलाई धर्मश्री विजेताका रूपमा पुरस्कृत र सम्मान गर्ने परम्पराको थालनी भएको हो।

शारीरिक सुगठनको इतिहासमा अति नै प्रतिष्ठित प्रतियोगिता रहेको धर्मश्रीमा १६औं संस्करणमा नयाँ विधालाई पनि थप गरिएको छ। थपिएका विधामा महिला तथा पुरुष फिजिक्स छन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने प्रतियोगिताको ‘प्रि–जजिङ राउन्ड’ वैशाख २३ गते हुनेछ। फाइनल चरणका खेल वैशाख २४ गते हुनेछ। प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजी भन्दामाथि तौल समूहमा ४ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

प्रत्येक विधामा प्रथम स्थान हासिल गर्ने खेलाडीका बीचमा अन्तिम प्रतिस्पर्धा गराई विजयी हुनेलाई धर्मश्रीको उपाधिसहित सम्मान गरिनेछ।  प्रतियोगिाताको विजेताले १० लाख, उपविजेताले पाँच लाख, तेस्रो हुनेले दुई लाख पुरस्कार पाउनेछन्। यसै गरी प्रतियोगितामा चौथो हुने खेलाडीले एक लाख ५० हजार, पाँचाैँले एक लाख, छैटौँले ९० हजार र सातौं हुनेले ८० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रत्येक तौल समूहका उपविजेतालाई ४० हजार र तेस्रोलाई २५ हजार रुपियाँ प्रदान गरिनेछ। महिला फिजिक्सतर्फको विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुनेलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिता सम्पन्न गर्न ९० लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ।

प्रकाशित: २० वैशाख २०७९ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App