२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

श्रीनिवास फिल्डिङ प्रशिक्षक

क्याप्शन

ओमानमा हुने ट्वान्टी–२० विश्वकप छनोटमा नेपाली टोलीको प्रदर्शन सुधार गर्नका लागि नेपाल क्रिकेट संघ (क्यान) ले फिल्डिङ प्रशिक्षक नियुक्त गरेको छ।

क्यानले भारतीय प्रशिक्षक रघुराम श्रीनिवासलाई नेपालको फिल्डिङ कन्सल्टेन्टको रूपमा जिम्मेवारी दिएको आइतबार जनाएको हो। क्रिकेट अस्ट्रेलियाको हाई परफरमेन्स तेस्रो लेभल कोर्स पूरा गरेका श्रीनिवास आइतबार नै नेपाल आइपुगेका छन्।

नेपाली टोलीका वर्तमान प्रशिक्षक पुबुदु दासानायकेले अमेरिका क्रिकेटको प्रशिक्षण समाल्दा श्रीनिवास पनि फिल्डिङ प्रशिक्षक थिए। उनीसँग पुनः काम गर्न पाउँदा दासानायकेले खुसी व्यक्त गरेका छन्। ‘प्रशिक्षक रघुसँग अमेरिकामा सँगै काम गरेको थिएँ।

उनी निकै ऊर्जावान् फिल्डिङ प्रशिक्षक हुन्,’ दासानायकेले भने, ‘नेपालको केही कमजोर पक्षमा उनले काम गर्नेछन्। छोटो निम्तोमा पनि आफ्नो महत्वपूर्ण समय दिन नेपाल आइपुगेकोमा उनीप्रति आभारी छु।’

ट्वान्टी–२० विश्वकप छनोटको तयारी गरिरहेको नेपाली टोलीको प्रशिक्षणमा हाल जगत टमाटाले पनि सघाइरहेका छन्। अब श्रीनिवास पनि विश्वकप छनोटसम्म नेपाली टिमसँगै रहनेछन्। नेपालले फेब्रुअरी १७ तारिखदेखि ओमानमा ट्वान्टी–२० विश्वकप छनोट खेल्दै छ।

त्यसअघि नेपालले चार देश सम्मेलित ट्वान्टी–२० क्रिकेट शृंखला खेल्नेछ। जसमा नेपालसहित आयरल्यान्ड, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन्। नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ११ तारिखमा आयोजक ओमानसँग खेल्नेछ।

दोस्रो खेल फेब्रुअरी १२ मा युएईसँग तथा तेस्रो खेल फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्नेछ। त्यसपछि नेपालले फेब्रुअरी १७ देखि २४ मा ग्लोबल क्वालिफायर खेल्नेछ। समूह ‘ए’ नेपालसहित आयोजक ओमान, आयरल्यान्ड, जर्मनी, फिलिपिन्स, युएई, बहराइन र क्यानडाले प्रतिस्पर्धा गर्दै छन्।

नेपालले ओमानसँग फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी मैदानमा खेल्दै छनोटको यात्रा थाल्नेछ। दोस्रो खेल फेब्रुअरी १९ मा फिलिपिन्ससँग र तेस्रो खेल क्यानडासँग फेब्रुअरी २१ तारिखमा खेल्नेछन्।

प्रकाशित: १८ माघ २०७८ ०३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App