२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप क्रिकेटः एपिएफलाई लगातार तेस्रो सफलता

विभागीय टोली एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दा बिहीबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशले पहिलो सफलता हात पारेका छन्।

मूलपानी मैदानमा बिहीबार विभागीय टोली एपिएफले गण्डकी प्रदेशमाथि २ रनको रोमाञ्चक जित निकाल्दा अर्को खेलमा लुम्बिनीले प्रदेश–२ माथि ४२ रनको सहज जित निकाल्यो। सुदूरपश्चिमले कीर्तिपुर मैदानमा कर्णाली प्रदेशलाई ४७ रनले हराएको हो।

एपिएफले आफ्नो तेस्रो खेलमा गण्डकीलाई जितका लागि ९३ रनको कमजोर लक्ष्य दिए पनि बलरको उत्कृष्ट प्रदर्शनमा एपिएफ लगातार जितको यात्रा जारी राख्न सफल भयो। गण्डकी २० ओभरमा ७ विकेट गुमाएर ९० रनमा समेटिएको थियो।

अन्तिम ६ बलमा गण्डकीलाई जितका लागि ६ रन नै आवश्यक भएको अवस्थामा बलिङमा आएका किशोर महतोले केवल ३ रन खर्चिएर २ विकेट लिएपछि एपिएफले रोमाञ्चक जित निकाल्दै अपराजित यात्रालाई निरन्तरता दिएको हो।

९३ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ९० रन बनाउन सक्यो। जितसँगै तीन खेलबाट ६ अंक जोडेको एपिएफ सेमिफाइनलनजिक पुगेको छ। एपिएफले यसअघि प्रदेश–२ र बाग्मतीलाई पराजित गरेको थियो। यता गण्डकीको लगातार दोस्रो पराजय हो। यसअघि गण्डकी प्रदेश–२ विरुद्ध २ विकेटले हारेको थियो।

गण्डकीका लागि कप्तान विपिन खत्रीले सर्वाधिक ३६ रनको योगदान गरे पनि जितका लागि पर्याप्त हुन सकेन। विधान श्रेष्ठले २९ रनको योगदान गर्दा अर्जुन कुमालले ८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले राम्रो स्कोर गर्न सकेनन्। गण्डकीलाई सस्तैमा समेट्ने क्रममा एपिएफका कमल ऐरीले तीन विकेट हात पारे भने किशोर महतोले दुई तथा अविनाश बोहराले एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले १८.४ ओभरमा सबै विकेट गुमाएर ९२ रन जोडेको थियो। एपिएफका लागि प्रदीप ऐरीले १७ रन जोड्दा आसिफ शेखले १६ रनको योगदान गरे। गण्डकीका कमल परियारले सर्वाधिक तीन विकेट हात पारे। विशाल पौडेलले दुई विकेट लिए। कृष्ण पौडेल, सुवास भण्डारी र चन्द्र पौडेलले समान एक विकेट हात पारे।

कीर्तिपुर मैदानमा भएको अर्को खेलमा लुम्बिनी प्रदेशले प्रदेश–२ लाई ४२ रनले हरायो। प्रदेश–२ को तीन खेलमा यो दोस्रो पराजय हो। बिहीबार १ सय ६२ रनको लक्ष्य पछ्याएको प्रदेश–२ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन मात्र जोड्न सक्यो।

प्रदेश–२ का लागि विवेक यादवले सर्वाधिक ३६ रन जोडे। हरिकृष्ण झा र सन्तोष कार्कीले समान १४ रन बनाए। बलिङतर्फ लुम्बिनीका अनिल खरेलले सर्वाधिक ५ विकेट हात पारे। कृष्ण कार्की, सिद्धान्त शाही र बसिर अहमदले समान एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६१ रन जोडेको थियो। लुम्बिनीका लागि देव खनालले अर्धशतक बनाए। खनालले ३८ बलमा ५४ रन जोड्दा चार चौका र दुई छक्का प्रहार गरे। बसिर अहमद र सन्दीप रजालीले समान ३० रन जोडे। बलिङमा प्रदेश–२ का विवेक यादव र रूपेश सिंहले समान दुई विकेट लिए। हरिशंकर साह, महबुब आलम र विशाल सुसलिङले समान एक विकेट हात पारे।

समूह ‘ए’ अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा कर्णालीलाई ४७ रनले पराजित गर्दै सुदूरपश्चिमले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो। यसअघि सुदूरपश्चिम पहिलो खेलमा पुलिस क्लबसँग दुई रनले हारेको थियो। यता पराजित कर्णालीले तीन खेलमा दोस्रो पराजय भोगेको छ। यसअघि कर्णालीले त्रिभुवन आर्मी क्लबसँग ६३ रनको पराजय भोग्दा प्रदेश–१ लाई ३१ रनले हराएको थियो।

१ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले १९.१ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ६ रन जोड्न सक्यो। कर्णालीका कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३५ रनको योगदान गरे पनि जितका लागि पर्याप्त भएन। अर्जुन घर्तीले २४ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३० रन जोडे।

कर्णालीको इनिङलाई सस्तैमा समेट्ने क्रममा शेर मल्लले सर्वाधिक ४ विकेट निकाले। हेमन्त धामीले दुई विकेट हात पारे। आदित्य मेहता, गजेन्द्र बोहरा र विकास अग्रीले समान एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन जोडेको थियो। सुदूरपश्चिमका लागि अर्जुन साउदले सर्वाधिक ३२ रनको योगदान गर्दा वसन्त कार्कीले २८ रन जोडे।

दीपक बोहराले २५ तथा खडक बोहराले २२ रनको योगदान गरे। कर्णालीका प्रकाश जैसीले सर्वाधिक ३ विकेट हात पारे। रवीन्द्र शाही र दिवान पुनले समान दुई विकेट लिँदा दिनेश अधिकारीले एक विकेट निकाले। मूलपानी क्रिकेट मैदानमा हुने भनिएको त्रिभुवन आर्मी र प्रदेश–१ बीचको खेल मैदानमा पानी परेका कारण हुन सकेन।

प्रकाशित: ३० पुस २०७८ ००:५८ शुक्रबार

गण्डकी प्रदेशमा भलिबल विभागीय टोली एपिएफ