१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

सरकारद्वारा फुटबलर सम्मान

माल्दिभ्सको मालेमा सम्पन्न १३औं साफ फुटबल च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई मंगलबार सरकारले नगदसहित सम्मान गरेको छ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले उपविजेता नेपाली टोलीलाई जनही पाँच लाख रूपैयाँसहित सम्मान गरेका हुन्।

गत असोज १५ देखि ३० गतेसम्म सम्पन्न प्रतियोगितामा नेपाल पहिलो पटक साफको फाइनल पुगेको थियो। तर, चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग स्तब्ध हुँदा विजेता बन्ने नेपालको लक्ष्यले सार्थकता पाउन सकेन। यद्यपि, गत कात्तिक १ गतेको मन्त्रीपरिषद् बैठकले साफ उपविजेता टोलीलाई जनही पाँच लाख रूपैयाँ पुरस्कार दिने घोषणा गर्‍यो।

सोहीअनुसार मंगलबार सरकारले २३ खेलाडीलाई जनही पाँच लाख, तीन जना प्रशिक्षकलाई जनही तीन लाख रूपैयाँ र चार अफिसियललाई सम्मानपत्रसहित सम्मान गरेको हो। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए। ‘पछिल्लो समय फुटबलको आकर्षण बढ्दै गएको छ।

खेलकुदको माध्यमबाट राष्ट्रका लागि पदक ल्याउने खेलाडीलाई सम्मान गर्न पाउँदा खुसी छु,’ प्रधानमन्त्री देउवाले भने, ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा परिचय बनाउन खेलाडीले गरेको मिहिनतप्रति हामी नेपाली खुसी भएका छौं। खेल क्षेत्रको विकास र विस्तारमा सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु।’

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नेपालमा फुटबल खेलले उत्कृष्टता प्राप्त गर्न सक्ने हुँदा यसको विकास र विस्तारमा सरकारले ध्यान दिने बताए। नेपाली टोलीका सदस्य सुजल श्रेष्ठले खेलाडीको हौसलाका लागि एन्फासँगै सरकारले पनि सहयोग गरे फुटबल अझै माथि पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी, कप्तान किरण चेम्जोङ र रोहित चन्द भने उपस्थित थिएनन्। कप्तान किरण माल्दिभ्समा र रोहित इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका छन्। मुख्य प्रशिक्षक अब्दुल्लाह पनि नेपाल बाहिर रहेका छन्।

प्रकाशित: ७ पुस २०७८ ०३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App