१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

अस्ट्रेलियालाई साहिनको गति डर

अस्ट्रेलियाका कप्तान एरोन फिन्चले बिहीबार आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानको सामना गर्दा साहिन शाह अफ्रिदीको गतिमा टोलीले गर्ने प्रदर्शनले आफ्नो फाइनल यात्रा तय गर्ने बताए।

अस्ट्रेलिया ग्रुप ‘वान’ को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो।सुपर १२ मा अस्ट्रेलियाले हात पारेको जितमा ओपनर डेविड वार्नर र फिन्चको योगदान रहँदै आएको छ।

यता साहिनले सुरुआती ओभरमै निकाल्ने विकेट तथा कप्तान बाबर आजम र मोहम्मद रिजवानको उत्कृष्ट ओपनिङ साझेदारीमा ग्रुप ‘टु’ को विजेता पाकिस्तान ५ वटै खेल जित्ने एक मात्र टोली बन्यो।

‘साहिन अहिले निकै उत्कृष्ट लयमा छन्,’ फिन्चले भने, ‘त्यसैले उनको गतिमा हाम्रा ब्याटरले कस्तो प्रदर्शन गर्छन्,त्यसले टोलीको अघिल्लो चरण यात्रा निर्धारण गर्नेछ। बलिङ र ब्याटिङ दुवै पक्षका लागि पावर प्ले महवपूर्ण छ।’

५ खेलमा साहिनले चार विकेट लिएका छन्। उनले भारतविरुद्धको पहिलो खेलमा १९ रन खर्चिएर २ विकेट लिएका थिए। यस क्रममा साहिनले रोहित शर्मा र केएल राहुललाई पवेलियनको बाटो देखाएका थिए।अस्ट्रेलियाविरुद्धको पछिल्लो चार भिडन्तमा साहिनले ८ विकेट लिएका छन्।

जारी प्रतियोगितामा स्वाभाविक लयमा फर्किएका डेविड वार्नरले गर्ने प्रदर्शनमा पनि अस्ट्रेलियाको उपाधियात्रा निर्धारण हुनेछ। वार्नरले ५ खेलमा १ सय ८७ रन प्रहार गरिसकेका छन्। जसमा दुई अर्धशतक समावेश छन्। अस्ट्रेलियाको सेमिफाइनल यात्रामा उनी नायक बनेका थिए।

फिन्चले जारी प्रतियोगितामा १ सय २१ रन प्रहार गरेका छन्। उनले पाकिस्तान पावर प्लेमा बलिङ र ब्याटिङमा अब्बल रहँदै आएको बताए।

यता ग्रुप ‘टु’ मा आफूलाई अब्बल साबित गर्ने क्रममा सुरुआती दुई खेलमा भारत र न्युजिल्यान्डविरुद्ध रवाफिलो जित हात पारेको पाकिस्तान अस्ट्रेलियाविरुद्ध पनि सोही लय कायम राख्दै उपाधि भिडन्त पक्का गर्न चाहन्छ।

पाकिस्तान कप्तान बाबर आजम र ओपनर रिजवानको उत्कृष्ट लय चाहन्छ। बाबर र रिजवानकै कीर्तिमानी साझेदारीमा पाकिस्तानले विश्वकप क्रिकेटमा पहिलो पटक भारतमाथि जित हात पारेको थियो।

‘भारतविरुद्ध पहिलो खेलमा टोलीको जुन लय थियो, त्यो लय समूह चरणका अन्तिम चार खेलमा समेत कायम रह्यो,’ पाकिस्तानका कप्तान बाबर आजमले भने, ‘आशा छ, अस्ट्रेलियाविरुद्ध पनि टोलीको उत्कृष्ट लयले निरन्तरता पाउनेछ।हामी कुनै पनि टोलीलाई कमजोर टोलीका रूपमा लिदैनौं। जसले राम्रो खेल्छ, त्यही टोलीले जित्ने हो।’

प्रकाशित: २५ कार्तिक २०७८ ०१:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App