१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

विदेशी खेलाडी किन्नुस, खर्च मन्त्रालयले दिन्छः मन्त्री गुरुङ

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले आगामी आहा गोल्डकपको लागि सहारा क्लबलाई विदेशी खेलाडी भित्र्याउन सुझाव दिएका छन्। ती मध्ये दुईजना विदेशी खेलाडीको खर्च गण्डकी प्रदेश सरकारले बेहोर्ने उनले बताए।  

विगतमा वर्षमा गण्डकी प्रदेशले सहारा क्लबले आयोजना गर्दै आएको आहा रारा गोल्डकपको आर्थिक सहयोग यो वर्ष भने विदेशी खेलाडी किन्न खर्च गर्ने मन्त्री गुरुङको भनाई थियो । ‘गोल्डकपलाई सपोर्ट गर्छौ। गोल्डकपमा चारजना विदेशी खेलाडी राख्न पाईन्छ। चारजनामा दुई विदेशी खेलाडीको खर्च मन्त्रालयले बेहोर्छ,’ मन्त्री गुरुङले बुधबार पोखरा रंगशालामा आयोजित सहारा क्लबको २३औं वार्षिकोत्सव तथा १२औं अधिवेशनलाई उदघाटन गर्दै भने, ‘उत्कृष्ट टिम बनाउनुस । राम्रो विदेशी खेलाडी किन्नुस।’  

उनले नेपाली स्ट्राईकरको फिनिसिङ नहुने भन्दै स्ट्राइकर, मिडफिल्डर, एट्याकिङ डिफेन्ण्डर र डिफेण्डर विदेशी झिकाउन क्लबका पदाधिकारीलाई आग्रह गरे । ‘नेपालीको फिनिसिङ राम्रो छैन,’ उनले भने, ‘त्यसैले विदेशी उत्कृष्ट खेलाडी मगाउनुस्। दुईजनाको खर्च मन्त्रालयले दिन्छ।’  

उनले अब विदेशी खेलाडीलाई इन्भेष्टमेन्ट गर्ने योजना रहेको बताए। मन्त्री गुरुङले सहारा क्लबलाई एकेडेमी सञ्चालन गर्न युवा स्वरोजगार कार्यक्रम मार्फत अगाडि बढ्न सुझाव दिए। ‘युवा स्वरोजगार अन्तर्गत २५ लाख रुपैयाँ छ,’ उनले भने, ‘७ जनाको समूह बनाएर कृषि कार्यक्रममा लाग्नुस्। संघसंस्थालाई अझ सजिलो हुन्छ।’ उनका अनुसार सहारा क्लबलाई २५ लाख रुपैयाँको स्वरोजगार कार्यक्रम अन्तर्गत युवा खेलाडीलाई कृषितर्फ आर्कषित गर्दै लैजाने सकिने उल्लेख गर्दै कृषि उत्पादनबाट आएको नाफाले खेलाडीलाई पोषणको व्यवस्था सकिने बताए।  

२५ लाख रुपैयाँ १० वर्षभित्रमा तिर्नुपर्ने मन्त्री गुरुङको भनाई थियो। ‘व्याज मिनाहा हुन्छ । तर साँवा भने समूहले बुझाउनुपर्छ,’ उनले थपे । २०६३ सालमा सहारा क्लबले पोखरा–१७ दोविल्लामा २६ रोपनी क्षेत्रफलमा आफनै भौतिक पूर्वाधारसहित एकेडेमी सञ्चालन गर्दै आएको छ। क्लबका महासचिव रामजीप्रसाद अधिकारीले एकेडेमीमा विभिन्न जिल्लाका २६ जना खेलाडी आश्रित रहेको उल्लेख गरे। एकेडेमीको लागि क्लबले वर्षेनी आयोजना गदै आएको आहा रारा गोल्डकपबाट बचत रकम खर्च गर्दै आएको छ।  

सहाराले यो वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार पत्रकार दिपक परियारलाई प्रदान गरेको छ। युवा तथा खेलकुद मन्त्री गुरुङ, सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा लगायतले खादा, दोसल्ला, नगदसहित सम्मान गरेका थिए। पुरस्कार राशी २० हजार रुपैयाँ राशीको रहेको छ। 

प्रकाशित: ३० भाद्र २०७८ १०:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App