२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

युरो २०२०: सानदार जितसहित इङ्ल्यान्ड सेमिफाइनलमा

युक्रेनमाथि ४–० को सानदार जित निकाल्दै इङ्ल्यान्डले युरो कप २०२० को सेमिफाइनलमा स्थान बनाउँदा डेनमार्कले शनिबार अन्तिम आठको खेलमा चेक रिपब्लिकसँगको चुनौती पार गर्दै अन्तिम चारमा स्थान बनाएको छ।  

युक्रेनमाथि सुरुआतबाट नै दबाब दिएर खेलेको इङ्ल्यान्डका लागि कप्तान ह्यारी केनले दुई गोल गर्दा ह्यारी म्याग्वेर र जोर्डन हेन्डरसनले एक/एक गोल आफ्नो नाममा लेखाए। सानदार जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गर्दा ग्यारेथ साउथगेटको टोली लगातार दोस्रो पटक प्रमुख प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो। यसअघि विश्वकप २०१८ मा  

इङ्ल्यान्डले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। सेमिफाइनलमा क्रोएसियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। स्टाडियो ओलम्पियोमा जित निकालेको इङ्ल्यान्डले फाइनल प्रवेशका लागि अब डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ। डेनमार्कले शनिबारै चेक रिपब्लिकको चुनौती २–१ ले पन्छाउँदै अन्तिम चारमा स्थान बनाएको थियो।  

कप्तान केनले गोल गर्दै इङ्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए। सुरुबाटै आक्रामक देखिएको इङ्लिस टोलीले चौथो मिनेटमै अग्रता लिएको थियो। रहिम स्टर्लिङको पासमा केनले गोल गर्दै टोलीको खाता खोलेका थिए। पहिलो हाफमा १–० गोलले अघि रहेको इङ्ल्यान्डले दोस्रो हाफमा थप तीन गोल गरेको थियो। ४६औं मिनेटमा डिफेन्डर म्याग्वेरले गोल गर्दै इङ्ल्यान्डलाई २–० को अग्रता दिलाए।  

५०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै केनले इङ्ल्यान्डको अग्रता तेब्बर पारे। त्यसपछि खेलको ६३औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका हेन्डरसनले गोल गर्दै टोलीका लागि ४–० को फराकिलो जित निश्चित पारे।

देशका लागि ६२औं खेल खेलेका हेन्डरसनले पहिलो गोलसमेत गरेका छन्। सेमिफाइनलसम्मको यात्रा तय गरेको इङ्ल्यान्डले जारी प्रतियोगितामा कुनै पनि गोल खाएको छैन। शनिबार ४–० को अग्रता निकाल्दा गोल नखाएको यात्रालाई सेमिफाइनलसम्म पुर्‍याएको हो। ‘हामी पछाडि फर्केर हेर्न चाहन्नौं। अवसरलाई सदुपयोग मात्र गर्न चाहन्छौं,’ इङ्ल्यान्डका प्रशिक्षक साउथगेटले भने, ‘नकआउट चरणको खेलमा जर्मनीविरुद्ध २–० को जितले टोलीमा मनोबल मिलेको छ र यो जारी प्रतियोगितामा प्राप्त ठूलो उपलब्धि हो।’ शनिबार इङ्ल्यान्डले रोमको भ्रमण गर्दा पाँच दिन क्वारेन्टिन बस्नुपर्ने प्रावधानले भने समर्थकलाई केही निराश बनायो।

यद्यपि १२ हजार दर्शक भने रंगशालामा उपस्थित भएका थिए। उनीहरूको समर्थनले रोम भ्रमण गरेको इङ्लिस टोलीलाई ऊर्जा मिलेको थियो। ‘वेम्बलीमा उपस्थित भएका दर्शकको मायाले हामीलाई ठूलो हौसला मिलेको थियो। रोममा आएर अभ्यास गर्दा र खेल्दा भिन्न अनुभूति भइरहेको थियो। तर ऐतिहासिक रंगशालामा पनि सुखद नतिजा निकाल्न पाउँदा निकै खुसी लागेको छ, टोलीको प्रदर्शनले निकै उत्साहित छु,’  

इङ्ल्यान्ड प्रशिक्षक साउथगेटले थपे। क्वार्टरफाइनल खेलअन्तर्गत शनिबारै डेनमार्कले चेक रिपब्लिकको चुनौती २–१ ले पार गर्‍यो। बाकु ओलम्पिक स्टेडियममा डेनमार्कलाई जित दिलाउन थोमस डेलाने र कास्पर डोलबर्गले एक/एक गोल गर्दा चेक रिपब्लिकका प्याट्रिक सिकले एक गोल फर्काए।

डेनमार्कले पाँचौं मिनेटमा थोमसको गोलबाट अग्रता लिएको थियो भने ४२औं मिनेटमा युवा स्ट्राइकर डोलबर्गले गोल गर्दै डेनमार्कलाई २–० को अग्रता निकालेका थिए। दोस्रो हाफमा चेक रिपब्लिकले अग्रता घटाउँदा ४९औं मिनेटमा प्याट्रिकले गोल गरेका थिए। डेनमार्कविरुद्धको गोलसँगै प्याट्रिकले जारी युरोमा पाँच गोल पूरा गरे। यससँगै प्याट्रिकले गोल्डेन बुटको दाबेदारीमा क्रिस्टियानो रोनाल्डोसँग बराबरी गरेका छन्। रोनाल्डोले पनि ५ गोल गरेका छन्। जितपछि डेनमार्क सन् १९९२ पछि पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो। यसअघि चेक रिपब्लिकले प्री क्वार्टरफाइनलमा उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्समाथि २–० को जित निकाल्दै डेनमार्कसँगको भेट पक्का गरेको थियो। 

प्रकाशित: २१ असार २०७८ ०६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App