१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

एपिएफलाई पिएम कप भलिबल

साबिक विजेता नेपाल पुलिस क्लबको चुनौतीलाई समाप्त पार्दै एपिएफले नेपालगन्जमा सम्पन्न सातौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधि जितेको छ। नेपालगन्ज कभर्डहलमा सम्पन्न खेलमा एपिएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो।

विजेता एपिएफले ५ लाख र दोस्रो भएको पुलिसले २ लाख प्राप्त गरेका छन्। एपिएफले पुलिसलाई २५–२२, २५–२३ र २५–१९ ले पराजित गर्दै च्याम्पियन बनेको हो। एपिएफले लिगमा अपराजित रहँदै उपाधि जितेको हो। बाँके जिल्ला भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा होङ्गान्जी न्यु डायमन्ड तेस्रो हुँदा आर्मी चौथो रह्यो।

 न्यु डायमन्डले एक लाख र आर्मीले ५० हजार रूपैयाँ प्राप्त गरे। प्रतियोगितामा नेपाल एपिएफकी सरस्वती सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। सरस्वतीले नगद २५ हजार प्राप्त गरिन्। यस्तै अन्य विधागततर्फ नेपाल पुलिसकी उषा भण्डारी प्रतियोगिताकै उत्कृष्ट स्पाइकर घोषित हुँदा एपिएफकी हीरा केसी उत्कृष्ट ब्लकर, पुलिसकी कमला पुन उत्कृष्ट सेटर, न्यु डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिब्रो र प्रतिभा माली उत्कृष्ट सर्भर चुनिए।

एपिएफका महेश चौधरी प्रतियोगताका उत्कृष्ट प्रशिक्षक छानिए। विधागततर्फ उत्कृष्ट चुनिने सबै खेलाडी र प्रशिक्षकले समान ५ हजार प्राप्त गरे। तीन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड स्पोट्र्स क्लब र स्थानीय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता थियो। 

प्रकाशित: २६ फाल्गुन २०७७ ०५:२७ बुधबार

एपिएफलाई उपाधि सातौं प्रधानमन्त्री कप महिला भलिबल पिएम कप भलिबल साबिक विजेता नेपाल पुलिस क्लब