१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

भारतको खराब सुरुआत

वर्षाका कारण चिया सत्रको खेल सम्भव नभएपछि अस्ट्रेलिया र भारतबीचको निर्णायक मानिएको चौथो टेस्टको दोस्रो दिनको समाप्तीमा पाहुना टोली दबावमा परेको छ। शनिबार भारी वर्षाका कारण दोस्रो दिनको खेल रोकिँदा पाहुना टोली भारत ६२–२ को अवस्थामा रहेको छ।  

भारत पहिलो इनिङ्समा घरेलु टोली अस्ट्रेलियाभन्दा अझै ३ सय ७ रनले पछि। अस्ट्रेलियाले पहिलो इनिङ्समा ३ सय ६९ रनको योगफल बनाएको थियो। कप्तान अजिक्या रहाणे दुई र चेतेश्वर पुजारा अविजित सात रनमा छन्। भारतलाई सुरुआती दबावमा राख्ने क्रममा अस्ट्रेलियाले चिया सत्र भन्दा २० मिनेट अघि ओपनर रोहित शर्माको विकेट लिएको थियो।

रोहितले नाथन लियोनको बलमा मिचेल स्टार्कबाट क्याच हुनुअघि ७४ बलमा ६ चौकाको मद्दतमा ४४ रन जोडेका थिए। भारतले ११ रन जोड्दा ओपनर सुभमन गिललाई गुमाएको थियो। ७ रन जोडेका गिललाई प्याट कमिन्सले स्टिभ स्मिथबाट क्याच गराएका थिए। ‘मैले रोहितका लागि धेरै योजना बनाएको थिएँ। लियोनले भने, ‘पक्कै पनि उनी विश्वस्तरीय खेलाडी हुन्। त्यसैले म उत्कृष्ट खेलाडीविरुद्ध उत्कृष्ट बलिङ गर्न चाहन्थेँ। मेरो योजना सफल भयो।’

यसअघि २७४–५ बाट दोस्रो दिनको खेल सुरु गरेको अस्ट्रेलियाले थप ९५ रन जोड्दा पहिलो सेसनमै बाँकी ५ विकेट गुमाएको थियो। पहिलो दिनको खेल समाप्तीमा ३८ रनमा अविजित रहेका कप्तान टिम पाइने र २८ रनमा अवजित रहेका कार्लराइट ग्रिनले आक्रामक सुरुआत गरेका थिए। तर, अर्धशतक पूरा गरेपछि पाइनेले सार्दुल ठाकुरको वाइड बल खेल्ने क्रममा रोहित शर्माबाट क्याच भएसँगै अस्ट्रेलियाको विकेट पतन सुरु भएको थियो।

पाइनले एक सय ४ बलमा ६ चौकाको मद्दतमा ५० रन बनाए। यस्तै ४५ रनमा खेलिरहँदा जीवनदान पाएका ग्रिन थप २ रन जोड्ने क्रममा वासिङ्टन सुन्दरबाट बोल्ड भएका थिए। ग्रिनले १ सय ७ बलमा ६ चौकाको मद्दतमा ४७ रन जोडे। त्यसपछि ब्याटिङ गर्न आएका कमिन्सले पनि दुई रन मात्र जोड्न सके। कमिन्सलाई ठाकुरले एलबिडब्लुको सिकार बनाएका थिए।

मिचेल स्टार्कले अविजित २० रन जोड्दा लियोनले २४ र जस हेजलउडले ११ रन जोडे। भारतका ठाकुर, सुन्दर र टी नटराजनले समान ३÷३ विकेट लिए। चार टेस्टको शृंखला १–१ को बराबरीमा रहेको छ। पहिलो टेस्ट अस्ट्रेलियाले जितेको थियो भने दोस्रो टेस्टमा भारत विजयी भएको थियो। तेस्रो टेस्ट भने बराबरी भएको थियो।

प्रकाशित: ४ माघ २०७७ ०३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App