४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

लिभरपुल अन्तिम १६ मा

च्याम्पियन्स लिग

क्रुटिस जोन्सको निर्णायक गोलप्रेरित लिभरपुल मंगलबार आयाक्समाथि १–० को जितका साथ च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्दा स्पेनिस महारथी रियाल मड्रिड भने साख्तर डोनेट्स्कसँग स्तब्ध भएको छ।

समूह ‘डी’ अन्तर्गत घरेलु मैदान एन्फिल्डमा आयाक्सलाई आतिथ्यता प्रदान गर्दा लिभरपुलले पहिलो रोजाइका गोलकिपर एलिसनको स्थानमा २२ वर्षे आइरिस गोलकिपर काओमहिम केल्हरले गोलपोस्ट सम्हालेका थिए। जोन्सले मध्यान्तरअघि गरेको गोल लिभरपुरको जितमा पर्याप्त बन्यो। लिभरपुल गत साता एट्लान्टासँग स्तब्ध भएको थियो। यसका साथै लिभरपुलले नकआउट चरणमा समेत स्थान पक्का गरेको छ।  

‘इमानदारीका साथ भन्नुपर्दा मैले टोली प्रशिक्षण सम्हालेदेखि च्याम्पियन्स लिगमा खेलिएको यो नै सबैभन्दा कठिन खेलजस्तै रह्यो। समर्थकबिना खेल्नु निकै कठिन थियो। टोलीका केही प्रमुख खेलाडी थिएनन्। टोलीबाट समेत धेरै आशा गरिएको थियो, त्यसैले यो जितले ठूलो अर्थ राख्छ,’ लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने।

समूह ‘डी’ मा लिभरपुल ५ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ भने एट्लान्टा समान खेलमा ८ अंकका साथ दोस्रो, अयाक्स ७ अंकका साथ तेस्रो र एफसी मिट्ज्ल्यान्ड १ अंकका साथ चौथो स्थानमा छन्।  

समूह ‘डी’ कै अर्को खेलमा एट्लान्टा र एफसी मिट्ज्ल्यान्डले १–१ को बराबरी खेलेका छन्। समूहचरणको अन्तिम खेलमा अर्को साता एट्लान्टाले आयाक्सको सामना गर्नेछ भने लिभरपुलले एफसी मिट्ज्ल्यान्डविरुद्ध खेल्नेछ।

समूह ‘सी’ मा म्यानचेस्टर सिटीसँग गोलरहित बराबरी खेले पनि एफसी पोर्टो अन्तिम १६ मा पं्रवेश ग¥यो। सिटी गत साता नै नकआउट चरण प्रवेश गरिसकेको थियो। समूह ‘सी’ कै अर्को खेलमा ओलम्पियाकोस मार्सेलीसँग २–१ ले पराजित भयो। च्याम्पियन्स लिगको गत दुई सिजन र यस सिजनका सुरुआती ४ खेलमा जितको स्वाद चाख्न नपाएको मार्सेलीको यो नै पहिलो जित हो।

समूह ‘सी’ मा सिटी १३ अंकका साथ शीर्ष स्थानमा छ भने पोर्टो १० अंकका साथ दोस्रो स्थानमा छ। ओलम्पियाकोस  र मार्सेली समान ३ अंकका साथ तेस्रो र चौथो स्थानमा छन्।

यता रियाल मड्रिडले भने साख्तरसँग २–० को हार व्यहोरेको हो। साख्तरले पहिलो लेगमा अक्टोबरमा पनि रियाललाई ३–२ ले हराएको थियो। साख्तरको जितमा वैकल्पिक खेलाडी डेन्टिन्हो र मासोन सोलोमनले दोस्रो हाफमा समान एक गोल गरे। यसअघि साख्तर बोरुसिया मोन्चेनग्लाडबाचसँग दुवै खेलमा पराजित भएको थियो।

समूह ‘बी’ मा मोन्चेनग्लाडबाच ८ अंकका साथ शीर्ष स्थानमा छ भने साख्तर र रियाल  समान ७ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन्। ५ अंक बटुलेको इन्टर मिलान चौथो स्थानमा छ। समूह ‘बी’ अन्तर्गत मंगलबारै भएको अर्को खेलमा मोन्चेनग्लाबाच इन्टर मिलानसँग ३–२ ले निराश भएको थियो।

रियाल १९९७ देखि हालसम्म च्याम्पियन्स लिगको समूहचरण पार गर्न सफल भएको छ तर जिदानको टोलीको यस सिजनको बाटो भने त्यति सहज छैन।  

‘म राजीनामा दिने सोचमा छैन,तत्कालका लागि। हामी अहिले खराब लयबाट गुज्रिरहेका छांै,’ जिदानले भने, ‘तर पनि हामीसँग सम्हालिएको प्रदर्शनका साथ अघि बढ्नुको विकल्प भने छैन।’

समूह ए मा एट्लेटिको मड्रिड र बायर्न म्युनिखले १–१ को बराबरी खेल्दा साल्जबर्गले लोकोमोटिभलाई ३–१ ले हरायो।

रियाल मड्रिड १९९७ देखि हालसम्म च्याम्पियन्स लिगको समूहचरण पार गर्न सफल भएको छ तर जिदानको टोलीको यस सिजनको बाटो भने त्यति सहज छैन।

प्रकाशित: १८ मंसिर २०७७ ०३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App