२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

सिजन निरन्तरता दिने तयारी

घर फर्किएको जापानी क्लब सनवुल्भ्सका खेलाडी। तस्बिर : एजेन्सी

सिड्नी – अस्ट्रेलियाका चार सुपर रग्बी क्लबले आफूहरू आगामी महिनादेखि सुरु हुने घरेलु प्रतियोगिता खेल्न तयार रहेको जनाएका छन्। कोरोना भाइरसको त्रासका कारण यस सिजन नै रद्द भएको सुपर रग्बी लिगका क्लबले पुनः आगामी अप्रिल ३ देखि सुरु हुने घरेलु प्रतियोगिता खेल्न तयार रहेको जनाएका हुन्।

सुपर लिगमा प्रतिस्पर्धा गरेको जापानी क्लब सनवुल्भ्सको स्थानमा अस्ट्रेलियाकै वेस्ट फोर्सले चुनौती प्रस्तुत गर्ने भएको छ। अस्ट्रेलियाको दक्षिणी क्षेत्र हेमिस्फेरमा हुँदै आएको क्लब च्याम्पियनसिपमा पाँच राष्ट्रका १५ टोलीले प्रतिस्पर्धा गरेका थिए। यद्यपि, गत हप्ता न्युजिल्यान्ड र अस्ट्रेलियाले भ्रमणमा प्रतिबन्ध लगाउँदै १४ दिनको सेल्फ आइसोलेटमा बस्न निर्देशन दिएपछि यस सिजनको बाँकी खेल नै रद्द गरिएको थियो। तर अस्ट्रेलिया रग्बीका चार क्लब पुनः प्रतियोगिता खेल्न तयार भएपछि १८ राउन्डको घरेलु प्रतिस्पर्धा हुने भएको छ। अस्ट्रेलिया सरकारले पाँच सय जनाभन्दा मानिस एकै ठाउँमा भेला हुन प्रतिबन्ध लगाएका कारण समर्थकबिना खेल हुने सम्भावना छ।

कोरोना भाइरसको त्रासका कारण यस सिजन नै रद्द भएको सुपर रग्बी लिगका क्लबले पुनः आगामी अप्रिल ३ देखि सुरु हुने घरेलु प्रतियोगिता खेल्न तयार रहेको जनाएका हुन्।    

अस्ट्रेलिया रग्बीकी प्रमुख रैलिन कास्टलले अप्रिलदेखि अस्ट्रेलियाका टोलीहरूले राउन्ड रोबिन फरम्याटमा हुने होम एन्ड अवे खेलमा प्रतिस्पर्धा गर्ने बताइन्। ‘अझै तयारीका लागि केही काम गर्न बाँकी छ। यस सिजनलाई पूर्णता दिन तयारीमा छौं। हाम्रा समर्थक र ब्रोडकास्टरका लागि यस सिजनका बाँकी खेल सञ्चालन गर्नेछौं,’ कास्टलले भनिन्। प्रतियोगिताका लागि द क्विन्सल्यान्ड रेड्स, न्यु साउथ वेल्स वाराटाज, मेलबर्न रेबेल्स र एसिटी ब्रम्बिजले आफ्ना प्रशिक्षणसमेत सुरु गरिसकेका छन्। प्रतियोगिताका लागि भएको पत्रकार सम्मेलनमा उपस्थित भए पनि जापानिज क्लब सनवुल्भ्स घर फर्किनेछ।

उसको स्थानमा पर्थको क्लब वेस्टर्न फोर्सले खेल्नेछ। यससँगै वेस्टर्न फोर्सले पुनः यस प्रतियोगिताको ढोका खोलेको छ। सन् २०१७ मा रग्बी अस्ट्रेलियाले प्रतियोगितामा १८ टोलीबाट १५ फ्रेन्चाइज क्लबको मात्र प्रतिस्पर्धा गराउन सुरु गरेपछि वेस्टर्न फोर्स बाहिरिएको थियो। यस प्रतियोगिता आगामी जुनसम्म सञ्चालन हुन सक्नेछ। ‘पछिल्ला समय सबै खेलका लागि निकै संघर्षपूर्ण अवस्था सिर्जना भइरहेको छ। रग्बी अस्ट्रेलियाका लागि पनि सोही किसिमका अप्ठ्यारो परिस्थिति सिर्जना भयो। तर पनि सबै प्रयास लगाएर हामी यस सिजन पूरा गर्ने तयारीमा छौं,’ अस्ट्रेलिया रग्बीकी प्रमुख कास्टलले भनिन्। अस्ट्रेलियामा क्रिकेट, बास्केटबल र फुटबललगायतका खेल स्थगित या रद्द भए पनि रग्बीले भने पुनः खेल सञ्चालन गर्ने तयारी गरिरहेको छ।

प्रकाशित: ९ चैत्र २०७६ ०१:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App