१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पाकिस्तान सुपर लिग रोकियो

सिड्नी – सेमिफाइनल खेल अगाडि विदेशी खेलाडीमा कोरोना भाइरसको लक्षण देखिएपछि पाकिस्तान ट्वान्टी–२० क्रिकेट सुपर लिग मंगलबार स्थगित भएको छ।

पाकिस्तान सुपर लिग(पिएसएल)ले गत हप्ता मात्र प्लेअफ घटाउँदै यसै हप्ता सेमिफाइनल र लाहोरमा फाइनल हुने जनाए पनि कोभिड–१९ को त्रास बढ्दै गएसँगै मंगलबार खेल स्थगित गर्ने निर्णय गरेको हो। पिएसएलले यसअघि नै चार दिनको खेल घटाउँदा फाइनल बुधबारबाट आइतबार हुने तय भएको थियो। पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)का प्रमुख वसिम खानले विदेशी खेलाडीमा कोरोना संक्रमणको लक्षण देखिएपछि पिएसएल स्थगित गर्नुपरेको बताए।

‘केही विदेशी खेलाडीमा कोरोनाको लक्षण देखियो। तर उनी अहिले पाकिस्तानमा छैनन्। पछिल्ला २४ घन्टा ती खेलाडीमा कोरोनाको लक्षण देखिएको रहेछ,’खानले भने, ‘त्यसैले उनीहरूलाई रिलिज गर्ने (छाड्ने) निर्णय गरेका थियौं। साथै खेल पनि स्थगित गर्‍यौं।’ इङ्ल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड र वेस्ट इन्डिजका खेलाडीले पछिल्ला दिन पिएसएल छाड्दै आइरहेका थिए। ‘पिसिबीले पनि जुन खेलाडी पिएसएलमा आबद्ध थिए, उनीहरूको स्वास्थ परीक्षणको तयारीसमेत गरिरहेको छ,’खानले भने, ‘हामी आशा गरौं, सबै जना ठिक छन्। उनीहरू छिट्टै मैदान फर्किनेछन्।’ बंगलादेशसँगको क्रिकेट शृंखला रद्द भएको एक दिनपश्चात नै पाकिस्तानले घरेलु क्रिकेट पनि स्थगित गरेको हो। पाकिस्तानमा पछिल्लासमय १ सय ८७ जनामा कोरोना भाइरस संक्रमण भेटिए पनि कुनै मानवीय क्षति भने भएको छैन।

एक महिना लामो पिएसएल गत फेब्रुअरीदेखि सञ्चालन हुँदा क्रिकेटको उर्भर भूमि पाकिस्तानमा पुनः अन्तर्राष्ट्रिय खेल र खेलाडी देखिन थालेका थिए। सुरक्षा खतराका कारण पछिल्ला समय पिएसएल युनाइटेड अरब इमिरेट्समा हुँदै आएको थियो। सन् २००९ मा श्रीलंका क्रिकेट टोली लक्षित बम बिस्फोट गराइएपछि पाकिस्तानमा लामो समय अन्तर्राष्ट्रिय क्रिकेट हुन सकेको थिएन।   
अस्ट्रेलियाका सबै क्रिकेट स्थगित
अस्ट्रेलिया क्रिकेटले मंगलबार कोरोनाको त्रास बढ्दै गएपछि न्यु साउथ वेल्समा सञ्चालित सेफिल्ड सिल्डसँगै सबैखाले घरेलु प्रतियोगिता स्थगित गरेको छ। भ्रमणमा रोक लगाएसँगै अस्ट्रेलिया क्रिकेटले अन्तिम चरणको खेल बाँकी छँदा अन्तर राज्य प्रतियोगिता सेफिल्ड सिल्ड स्थगित गरिएको हो। अस्ट्रेलियाले न्युजिल्यान्डसँगको तीन खेलको एकदिवसीय शृंखलामा १–० ले अग्रता बनाए पनि रद्द गरेको थियो। न्युजिल्यान्ड सरकारले बोर्डर बन्द गर्ने निर्णय गरेसँगै अस्ट्रेलियाले पाहुना टोलीलाई घर पठाएको थियो। यद्यपि, अन्य घरेलु प्रतियोगिता सञ्चालन गरे पनि मंगलबारदेखि भने अस्ट्रेलियाले त्यो पनि रद्द गर्ने निर्णय गरेको हो।

क्रिकेट अस्ट्रेलियाका प्रमुख केभिन रोबर्ट्सले सबै कमिन्युटी क्रिकेट च्याम्पियनसिप रोक्न निर्देशन दिँदै कर्मचारीलाई पनि घरबाट कार्यालयको काम गर्न निर्देशन दिएका छन्। ‘अस्ट्रेलिया क्रिकेटका समर्थक, खेलाडी, कर्मचारी र आफ्नो सरोकारवालाको स्वास्थ सुरक्षाबारे सतर्क छौं। त्यसैले हामीले केही प्रतियोगिताका सिजन नै रद्द गर्दै अन्य प्रतिस्पर्धा पनि रोक्ने निर्णय गरेका छौं,’क्रिकेट अस्ट्रेलियाका प्रमुख रोबर्टसले भने, ‘यो केही कठिन निर्णय पनि हो, तर वर्तमान स्थितिमा आवश्यक पनि थियो।’ अस्ट्रेलियामा करिब ४०० जनामा कोरोना संक्रमण भेटिँदा पाँच जनाको मृत्यु भइसकेको छ।

केही विदेशी खेलाडीमा कोरोनाको लक्षण देखियो। पछिल्ला २४ घन्टामा ती खेलाडीमा कोरोनाको लक्षण देखिएको रहेछ। त्यसैले उनीहरूलाई रिलिज गर्ने (छाड्ने) निर्णय गरेका थियौं। तर उनी अहिले पाकिस्तानमा छैनन्।

प्रकाशित: ५ चैत्र २०७६ ०१:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App