१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

जावलाखेल सेमिफाइनलमा

सर्लाही - प्रभु जावलाखेल युथ क्लब बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबलमा बिहीबार सेमिफाइनलमा पुगेको छ।

भारतको युनाइटेड खर्साङ युवा क्लब दार्जिलिङमाथि २–० गोलले सहज जित निकाल्दै जावलाखेल सेमिफाइनलमा पुग्न सफल भएको हो। खेलको १३औं मिनेटमा जावलाखेलका रूपबहादुर लामाले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। दार्जिलिङका प्रशान्त राईले डिबक्स बाहिर खेलाइरहेको बल खोसेर लामाले गरेको सशक्त प्रहार गोलमा परिणत भएको थियो। पहिलो हाफमा १–० ले अगाडि रहेको जावलाखेलले दोस्रो हाफमा पनि अर्को गोल थप्यो। ६७औं मिनेटमा जावलाखेलका अफ्रिकन खेलाडी फोफोनाले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए।

सुजित बुढाथोकीको लामो क्रस बललाई नियन्त्रणमा लिँदै फोफोनाले डिबक्सभित्रबाट गोल गरेका थिए। जावलाखेलले त्यसपछि बाँकी समयमा राम्रो अवसर बनाए पनि असफल भयो। त्यसअघि खेलको ९ मिनेटमै जावलाखेलका फोफोनाले गरेको हेड प्रहार दार्जिलिङको गोल पोस्टमाथिबाट थोरैले बाहिरियो। २३औं मिनेटमा सुजित बुढाथोकीले डिबक्सभित्रबाट गरेको सशक्त प्रहार दार्जिलिङका गोलकिपर राजा बर्मनले पञ्च बिफल बनाए। ७८औं मिनेटमा अफ्रिकन खेलाडी ड्याडी जुनियरले नजिकबाटै गरेको प्रहार दार्जिलिङको क्रसबारमा लागेर बाहिरियो।

अफ्रिकन मूलका खेलाडीसहित मैदानमा उत्रिएको जावलाखेलको अगाडि दार्जिलिङ फिका देखियो। दार्जिलिङले पटकपटक गोल प्रयास गरे पनि सफल हुन सकेन। जावलाखेलका रूपबहादुर लामा म्यान अफ दी म्याच घोषित भए। लामाले ट्रफिसहित नगद १० हजार र एकजोर बुट प्राप्त गरेका छन्। अब जावलाखेलले फाइनल प्रवेशका लागि शनिबार भारतको कञ्चनजंघा फुटबल क्लब सिक्किमको सामना गर्नेछ। शुक्रबार नेपाल पुलिस क्लब र सुदूरपश्चिम–११ बीच पहिलो सेमिफाइनल हुने आयोजक समितिका संयोजक दीपक लामाले जानकारी दिए।

प्रकाशित: ३० फाल्गुन २०७६ ०१:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App