१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

युभेन्टसका रुगानीलाई कोरोना संक्रमण

मिलान – कोरोना भाइरस संक्रमीत युभेन्टस र इटालीका डिफेन्डर ड्यानियल रुगानीले आफ्ना समर्थकलाई आफू ठिक रहेको सन्देश दिएका छन्। सिरी ‘ए’ फुटबलर रुगानीलाई बुधबार कोरोना भाइरस संक्रमण देखिएको थियो। बिरामी नभए पनि स्वास्थ्य परीक्षण गर्दा २५ वर्षे रुगानीमा कोरोना संक्रमण देखिएको युभेन्टसले जनाएको थियो। ‘रुगानीमा कोरोना संक्रमण भएको सत्य हो,’इटालियन लिग च्याम्पियन युभेन्टसले भन्यो, ‘उनलाई अहिले आइसोलेसन प्रक्रियामा राखिएको छ। साथै उनीले पछिल्ला समय भेटेका व्यक्तिहरूको पनि स्वास्थ्य परीक्षण गरेर आइसोलेसनमा राखिएको छ।’

यता, रुगानीमा कोरोना संक्रमण पुष्टि भएसँगै चिन्तित आफ्ना समर्थकलाई भने उनले आफू ठिक रहेको बताएका छन्। ‘चिन्तित हुनु भएका सबैलाई म ठिक अवस्थामा रहेको जानकारी गराउन चाहँन्छु,’सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत रुगानीले भने, ‘यस्तो अफ्ठ्यारो परिस्थितिमा पनि धेरै दुःख गरिरहेका चिकित्सक र नर्सहरूलाई धन्यवाद दिन चाहँन्छु। संक्रमण हुनबाट जोगिन सबैलाई सावधानी अपनाउन आग्रह गर्दछु। भाइरस संक्रमण जसलाई पनि हुन सक्छ, त्यसैले सावधानी अपनाउनुहोला।’ पछिल्ला समय इटालीमा कोरोनाका कारण ८ सय २७ जनाको मृत्यु भइसक्दा चर्चित फुटबलरमा पनि संक्रमण देखिएको पहिलो पटक हो। चीनपश्चात् सबैभन्दा बढी प्रभावित इटालीमा १२ हजार व्यक्तिलाई कोरोना संक्रमण देखिएको छ, जसमा सिरी ‘सी’ का खेलाडीमा पनि भेटिएको छ। पछिल्ला सात वर्षदेखि युभेन्टसमा आबद्ध रुगानीले सन् २०१३–०१५ को सिजनमा लोनमा इम्पोलीबाट खेलेका थिए।

यस सिजन उनले युभेन्टसबाट तीन खेल मात्र खेलेका छन् भने जसमा गत फेब्रुअरी १६ मा ब्रेससिया र फेब्रुअरी २२ मा एसपिएएलविरुद्ध प्रतिस्पर्धा गरेका थिए। फ्रान्समा फेब्रुअरी २६ मा सम्पन्न गत च्याम्पियन्स लिगको अन्तिम १६ मा लियोनविरुद्ध पनि रुगानी बेन्चमै सीमित थिए। युभेन्टसले सिरी ‘ए’ मा गत ८ मार्चमा इन्टर मिलानविरुद्ध प्रतिस्पर्धा गर्दा पनि उनी बेन्चमा थिए। रुगानीलाई कोरोना संक्रमण देखिएपछि इन्टर मिलानले पनि अर्को सूचना जारी नभएसम्म आफ्ना सबै प्रतिस्पर्धा स्थगित गरेको जनाएको छ। ‘अहिलेको स्थितिमा रोक्नुपर्ने देखिएकाले तत्कालका लागि यो निर्णय गरेका छौं,‘मिलानले भनेको छ। युभेन्टसले च्याम्पियन्स लिगमा दोस्रो लेगको खेल खेल्न बाँकी छँदा आगामी मंगलबारसम्म टुरिनमा प्रतिस्पर्धा हुनेछैन। इटालीमा आगामी अप्रिल ३ सम्मका लागि सिरी ‘ए’ फुटबललगायत सम्पूर्ण खेल प्रतिस्पर्धा स्थगित भइसकेका छन्।

च्याम्पियन्स लिग र युरोपा लिग युइएफएको क्षेत्राधिकारभित्र रहने भएकाले निर्णय भइसकेको छैन। युइएफएले बिहीबार हुने युरोपा लिगको दुई खेलमा इटालियन क्लब र स्पेनिस क्लबबीच प्रतिस्पर्धा तय भएका छन्। जसमा मिलानले गेटाफे र रोमले सेभियाबीचको प्रतिस्पर्धा थियो। यता, च्याम्पियन्स लिगमा पनि बार्सिलोनाले आगामी बुधबार इटालियन क्लब नेपोलीलाई आतिथ्यता गर्दै छ। इटालीका प्रधानमन्त्री गियुसेपे कोन्टेले गत बुधबार औषधि र खाद्यन्नबाहेकका सबै स्टोर बन्द गर्न निर्देशन दिइसकेका छन्। युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो पनि कोरोनाको संत्रासका कारण आफ्नो घर पोर्चुगलको मादेइरामा बिताइरहेका छन्। पछिल्ला समय पोर्चुगलमै तय भएको फुटबल विकास कार्यक्रममा पनि रोनाल्डोले सहभागिता जनाएनन्।  

सिरी ‘ए’ फुटबलर ड्यानियल रुगानीलाई बुधबार कोरोना भाइरस संक्रमण देखिएको थियो। बिरामी नभए पनि स्वास्थ्य परीक्षण गर्दा २५ वर्षे रुगानीमा कोरोना संक्रमण देखिएको युभेन्टसले जनाएको छ। यद्यपि, युभेन्टस र इटालीका डिफेन्डररुगानीले आफ्ना समर्थकलाई आफू ठिक रहेको सन्देश दिएका छन्।

प्रकाशित: ३० फाल्गुन २०७६ ०१:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App