१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

नेपालको खराब नतिजा निरन्तर

काठमाडौं – नेपालले एसिसी इस्टर्न रिजन ट्वान्टी–२० क्रिकेटमा खराब नतिजालाई निरन्तरता दिँदा दोस्रो खेलमा पनि आइतबार हङकङसँग पराजय बेहोरेको छ।

खराब ब्याटिङ प्रदर्शन बिर्सन नसकेको नेपालले थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट ग्राउन्डमा हङकङसँग ४३ रनको हार बेहारेसँगै एसिया कप छनोटको खुड्किलो पनि निकै कठिन भएको छ। १ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले १८.१ ओभरमा अलआउट हुँदा १ सय ११ रन मात्र बनाउन सकेपछि सहजै हङकङलाई नतिजा सुम्पियो। यस नतिजासँगै नेपाल एसिया कप छनोटको यात्रा टाढिँदै गएको छ।

पाँच राष्ट्र सम्मिलित इस्टर्न रिजनका शीर्ष दुई टोलीले एसिया कप छनोट यात्रा तय गर्नेछन्। इस्टर्न र वेस्टर्न रिजनका शीर्ष दुई टोली युएई र कुवेतबीच एसिया कप छनोटमा प्रतिस्पर्धा हुनेछ। यद्यपि, इस्टर्न रिजनमा कमजोर मानिएको मलेसियासँगको पहिलो खेलमा अप्रत्याशित हार बेहोरेको नेपालले हङकङसँग पनि सोही नतिजा दोहोर्‍याएपछि छनोट यात्रा कठिन हुने भएको हो। अब नेपालको अघिल्लो चरणको सम्भावना झीनो बाँकी रहँदा फराकिलो अन्तरले जितका साथै विपक्षीको नतिजा पनि नाटकीय रूपमा आफू अनुकूल आउनुपर्नेछ। मलेसिया आइतबार थाइल्यान्डमाथि जित निकाल्दै दुई सफलतासहित अंकतालिकामा शीर्ष स्थानमा पुगेको छ।

समान एक खेल खेलेको हङकङ र सिंगापुर १–१ जितसहित दोस्रो र तेस्रो स्थानमा छन्। दुई खेलबाट जितविहीन नेपाल र थाइल्यान्ड चौथो र पाँचौं स्थानमा छन्। साथै रनरेटमा पनि नेपाल निकै पछाडि परेकाले अघिल्लो चरणको यात्रा तय गर्न बाँकी दुई खेलमा फराकिलो जित आवश्यक हुनेछ। पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेको नेपालले लय गुमाउन पुग्यो। ओपनरद्वय कुशल मल्ल र ज्ञानेन्द्र मल्लले ४.४ ओभरमा ४२ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए। तर, हङकङका तीव्र गतिका बलर हरुन अर्सदले कुशललाई १९ रनमा पवेलियन बाटो देखाउँदै त्यो साझेदारी तोडे। १४ बल खेलेका कुशलको इनिङमा तीन चौका समावेश थियो।

अब नेपालको अघिल्लो चरणको सम्भावना झीनो बाँकी रहँदा फराकिलो अन्तरको जितका साथै विपक्षीको नतिजा पनि नाटकीय रूपमा आफू अनुकूल आउनुपर्नेछ।

हरुनको बलिङसामु नेपाली ब्याट्सम्यान लामो समय टिक्नै सकेनन्। कुल ३.१ ओभर बलिङ गरेका हरुनले पाँच विकेट लिँदा १६ रन मात्र खर्चिए। एहसान खानले पारस खड्कालाई ४ रनमा एलबिडब्लु आउट गरे। उनले दीपेन्द्रसिंह ऐरीलाई ५ रनमा विकेटकिपर स्कर्ट स्टेपनबाट क्याच गराउँदै नेपाललाई तेस्रो झड्का दिए। अर्का बलर अफ्ताब हुसेनले पवन सर्राफलाई १ र विनोद भण्डारीलाई ५ रनमै पवेलियनको बाटो देखाउँदा नेपाल ७९–५ को खराब स्थितिमा पुगेको थियो। एक छेउबाट इनिङ समालिरहेका ज्ञानेन्द्र पनि १५औं ओभरको तेस्रो बलमा अफ्ताबको बलमा सिकार भए। ४३ बलमा तीन चौका र एक छक्का हिर्काएका ज्ञानेन्द्र ४६ रनमा आउट भएसँगै नेपाल हारको संघारमा देखिएको थियो। त्यसपछि आएका आरिफ शेख १० रन, करण केसी ७ रन, सन्दीप लामिछाने शून्यमा र अविनाश बोहोरा १२ रनमै आउट भए। हङकङका हुसेनले तीन विकेट र खानले दुई विकेटसँगै किफायती बलिङ गरेका थिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो। राम्रो सुरुआत गरेको हङकङले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेको थियो। सुशन भारीको बलमा ओपनर साहिद वासिफ २६ रनमा आउट हुँदा नेपालले पहिलो सफलता प्राप्त गर्‍यो। अर्का ओपनर निजाकत खानले आक्रामक ब्याटिङ गरे। भारीकै बलमा आउट हुनुअघि खानले २९ बलमा ४८ रन बनाउँदा ६ चौका र दुई छक्का हिर्काए। सन्दीपले ११औं ओभरको दोस्रो बलमा किञ्चित शाहलाई शून्यमा आउट गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरे पनि सफल हुन सकेनन्। एक छेउबाट हरुन अर्सदले २७ रन, इजाज खानले २९ रन र जेमी एटकिन्सनले १३ रन बनाउँदै हङकङलाई १ सय ५० रनको योगफल पार गराए। सुशन भारी र सन्दीप लामिछानेले समान दुई विकेट लिए। कुशल मल्लले ३ ओभरमा १६ रन खर्चेर एक विकेट लिए। महँगा साबित करण केसीले तीन ओभरमा ३३ रन खर्चिए।

प्रकाशित: १९ फाल्गुन २०७६ ०१:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App