१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

जावलाखेल सेमिफाइनलमा

मकवानपुर - पूर्वी मकवानपुरको बागमती गाउँपालिका ८, फापरबारीमा जारी तेस्रो बागमती गोल्डकपको दोस्रो क्वाटरफाइनलमा न्यु डाफे युवा क्लब, मकवानपुरलाई २–० ले पराजित गर्दै जावलाखेल युथ क्लब, ललितपुर सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार भएको खेलमा सुजित बुढाथोकीले गरेको २ गोलले जावलाखेललाई सेमिफाइनल पुग्न सहज बनाएको थियो। खेलको १४औं मिनेटमा सुजित बुढाथोकीले सुन्दर गोल गर्दै जावलाखेललाई अग्रता दिएका थिए। जावलाखेलका विदेशी खेलाडी फोफना फोडेको क्रस पासलाई बुढाथोकीले डी बक्सबाहिरबाट  प्रहार गर्दा न्यु डाँफेका गोलरक्षकले रोक्न सकेनन्।

जावलाखेलका बुढाथोकीले न्यु डाँफेका खेलाडीले देखाएको कमजोरीको फाइदा उठाउँदै खेलको २८औं मिनेटमा दोस्रो गोल गरे। खेलको पहिलो हाफमा जावलाखेलमाथि न्यु डाँफेले केही दबाब राखे पनि बललाई गोलमा परिणत गर्न सकेन। दुई गोल गरेका जावलाखेलका सुजित बुढाथोकीले म्यान अफ दी म्याच हुँदै पाँच हजार रुपैयाँ र ट्रफी हात पारे।

जावलाखेलले सेमिफाइनलमा संकटा क्लब, काठमाडौं र वीरगन्ज युनाइटेडको विजेताको सामना गर्नेछ। संकटा र वीरगन्ज सेमिफाइनल यात्राका लागि बिहीबार भिड्दै छन्। प्रतियोगिताअन्तर्गत बुधबार साबिक विजेता सरस्वती युथ क्लब, काठमाडौंले हिमालयन शेर्पा क्लब, काठमाडौंको सामना गर्नेछ। पहिलो क्वाटरफाइनलमा आयोजक बागमती गाउँपालिकालाई ८–० ले पराजित गर्दै च्यासल यूथ क्लब, ललितपुर सेमिफाइनल प्रवेश गरेको थियो। प्रतियोगिताको विजेताले ६ लाख नगद, उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउनेछन्।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ। शनिबार सकिने प्रतियोगितामा ६७ लाख ६५ हजार रुपैयाँ खर्च हुने आयोजकले जानकारी दियो। ५ वटा ‘ए’ डिभिजन, प्रदेश र जिल्लास्तरीयसहित १० टोलीको सहभागिता रहेको प्रतियोगिताको करिब २५ हजार  दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ।

प्रकाशित: ७ फाल्गुन २०७६ ०१:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App